बाईबाई २०७७
दिन, हप्ता, महिना गर्दै यो एक वर्ष पनि बित्यो। तर बडो अप्ठेरोले बित्यो। पूरै साल दुखान्त रह्यो। अलिकति पनि सुखानुभूति भएन कसैलाई। सूर्य उसरी नै पूर्वबाट उदाइरह्यो दिनहुँको प्रभातसँगै, तर चिसो भइरह्यो घाम; कहिल्यै न्यानो महसुस भएन। कदाचित् तातो भयो भने त्यसले न्यानो दिनुको सट्टा बरु उत्पात पोल्यो घामको रापले। हावा बह्यो उसरी नै जसरी सिरिरी चल्थ्यो, तर विडम्बना ! त्यो हावाले पटक्कै शीतलता दिएन। दियो भने उल्टो कम्पन दियो सिरेटो भएर।
आकाशमा ताराहरू नझिलमिलाएका होइनन् तर सबै मधुरो, तिनमा एकरत्ति चमक देखिएन। चन्द्रमा खुलेर मुस्काएको जस्तो लाग्नुपथ्र्यो, तर अहँ उसमा पनि कुनै आकर्षण भेटिएन। दूर देखिएको क्षितिज कति धमिलो ! यस्तोमा कहाँ हरियाली ? डाँडाकाँडा कतै केही देखिएन, हिमालयको हिउँसममेत छोपिएको देखियो। कतिसम्म भने बस्ती पूरै तुवाँलोले ढाकिरह्यो।
कति रोमाञ्चक हुन्थ्यो बिहानको मिर्मिरसँगै देखिने सेताम्मे तुषारो ! तर उज्यालो नहुँदै क्षणभरमै बिलाउँथे ती। घाम लाग्नै नपाई शीतका थोपाहरू हराए, हरेक पात-पातका डाली-डालीमा डोबसमेत देखिएनन्। साँझमा, गोधुलिमा सूर्यास्त धूमिल बनाएर बादल पूरै रमाइरह्यो। बर्सात्को बेला आक्कलभुक्कल देखिने इन्द्रेणीको कुनै रङ देखिएन। साँच्चै भन्नुपर्दा, फिक्का फिक्का उजाड भइरह्यो प्रकृति।
सधैँ धानका बालाहरू झुल्थे, लहलह। यो वर्ष पनि झुले झुल्न त, तर त्यो झुलाइमा किसानहरूको अनुहारमा खुशी होइन पीडा देखियो। मानौं, तिनै धानका बालाहरू उनीहरूका सुख खोस्न आएका हुन्। पौरखका औजारहरू सबैमा खिया लाग्यो। कोदालो-हलो सबै कुना पसे, खुकुरी-बञ्चरोहरू भुत्ते भए। कसैमा कसैको स्वचरित्र विद्यमान भएन।
सकारात्मक सोचौं !! २०७८ ले नेपाली समाजमा अघिल्ला सम्पूर्ण विकृति-विसंगति त्यागोस्। हामी सबै पीर-सन्तापबाट मुक्ति पाएर सुखको किनारा भेट्न सफल होऔं !
कर्मशील हातहरूमा कुनै उत्साह देखिएन, कुनै उमंग देखिएन। हातहरूमा कुनै हतारो थिएन, पाइलाहरू अघि बढ्ने चाहना रोकिएर सुस्त-सुस्त चले। आँखाहरूमा कुनै चाहको चमक चम्किएन। समष्टिमा, प्रत्येकका मन-मस्तिष्क शून्य-शून्य रहे, त्यहाँ कुनै नौलो चिन्तन नौलो दर्शनको प्रादुर्भाव भएन।
मठ-मन्दिरहरूमा बज्ने घण्टहरू बज्न छाडे, शंखको धुन सुनिन छाड्यो, साँझ आरतीको गुञ्जन गुञ्जिन छाड्यो। धर्मका अनुयायीहरूले नै मन्दिर जाने पाइलालाई अर्कै तर्फ मोड्न लागे। लाग्थ्यो- देवीदेवताहरू सबै रिसाएका छन् मान्छेहरूसँग, कतै तिनका ध्यान भंग गरेको आरोप लागेर धार्मिकहरूले सरापको भागीदार बन्नुपर्ने पो हो कि !
साल २०७७ अनौठोकै रह्यो। सोच्नै नसकिने वातावरण बन्यो। समाजमा एक किसिमको अराजकता बढ्यो। जिन्दावादमा उठिरहेका हातहरू मुर्दावादमा उठेका देखिए। मुर्दावाद बोल्नेहरू चुप भए। को कस्ता हुन् ? को कस्ता हुन् ? मान्छेहरू कुनै स्थिरतामा कायम रहन सकेनन्। बजारमा नदेखिएरै तर भेडाबाख्राझैँ खरिद-बिक्री भइरहे। वास्तवमै मान्छेले मान्छेको परिचयमा बाँच्नै सकेनन्। कसको कर्तव्य के हो ? कसको अधिकार के हो ? कुनै निश्चित चरित्रलाई कसैले अँगालेनन्। विश्वास के हो ? भरोसा के हो ? नैतिकता के हो ? इमानदारी के हो ? मान्छेले सबै बिर्सिए।
मान्छेको अन्तरचेतमा रहने माया-प्रेम वा दया भन्ने शब्दले त मानौं शब्दकोषको पृष्ठ नै छाडेर पलायन भए। खोई के भयो मान्छेके समाजलाई ? सोध्न मन लाग्छ, चराहरूको समाजमा यस्तो हुन्छ कि हुन्न ? के बिघ्न अविश्वास बढ्यो एक-अर्कामा ? एकआपसमै त्रस्त देखिए मान्छेहरू। डराइरहेका जस्ता आतंकित; मुटुको धड्कन बेस्कन चलिरहे जस्तो, फेरि अर्को क्षणमा सुस्त-सुस्त चलिरहेजस्तो, एकदमै ‘एब्नर्मल’। शरीरको कुनै भागमा एकदमै दुखिरहे जस्तो, अनुहारमा मलिनता व्याप्त। एक प्रकारले, अन्यौलपूर्ण वातावरण छाइरह्यो।
अचानक ! के भएको यो वर्ष ? समाज अस्तव्यस्तै भयो। कहीँ-कतै केही सहीसलामत रहेन। चित्रकारका चित्रहरूमा पोतिएका रङहरूमा कुनै सजीव आकृति देखिएन, हर चित्रहरू प्राण नभएको कुनै लासजस्तो, निर्जीव। सदैव मन-मस्तिष्कलाई झंक्रित गराइराख्ने संगीतका धुनहरू सबै खल्लो सुनिए, मातृभूमिका गीतमा अंकित शब्दहरू सबै आडम्बरी लाग्न लागे, यस्तोमा गीत गाउने आवाजको के कुरा ? ती पनि कर्कश थिए। अब मुस्कुराउने मान्छेहरूको मुस्कान मात्रै के अछुतो रहन्थ्यो ? त्यसमा केवल अभिनयको आभास हुन्थ्यो, इशारमा षड्यन्त्रजस्तो भान पथ्र्यो। अर्थात्, मान्छेका हर चरित्र नै संदिग्ध लाग्थ्यो। यहाँनिर सबैभन्दा नोटिस गर्नुपर्ने विषय भनेको चाहिँ राजनीति थियो।
राजनीति चलिरहेकै थियो। राजनीतिक विषयमा बहस-विवाद भइरहन्छ, ०७७ मा पनि भएकै हो। तर गज्जब ! ०७७ को राजनीति सर्वथा जनतालाई अवाक् पारेर हेरेको हे¥यै पार्ने खालको थियो। हुँदाखाँदोका सरकार भंग गर्न खोजियो, जोडिन नपाउँदै पार्टीहरू फुटेको देखियो। सबैभन्दा रमाइलो त, कसैले सोच्दै नसोचेको राजनीतिक मुद्दाहरूलाई अदालतको फस्र्यौट गरेको पनि देखियो। के थियो राजनीतिक स्थिति ? अब त्यो राजनीतिले कुन मोड लिन्छ ? कसैले भन्न सक्ने स्थिति बनेन। त्यसो त, त्यसको निरन्तरता अझैसम्म उही हालतमा छ। हेर्नु छ, आँगनमै आइपुगेको आगामी नयाँ सालले कुन रूप लिएर आउने हो !
सकारात्मक सोचौं !! २०७८ ले नेपाली समाजमा अघिल्ला सम्पूर्ण विकृति-विसंगति त्यागोस्। नयाँ वर्ष शुभ रहोस् ! हामी सबै पीर-सन्तापबाट मुक्ति पाएर सुखको किनारा भेट्न सफल होऔं ! मंगलमय शुभकामना !!