अनि देश मुस्कुराउनेछ
काठमाडौं : कोरोना भाइरस महामारीबीच अनेक उथलपुथलसँगै बिदा भएको छ, वर्ष २०७७। वर्ष २०७८ मा पनि कोरोनाले दुःख दिने संकेत देखिरहेको छ। तापनि, धरहरा पुनर्निर्माण, माथिल्लो तामाकोसी जलविद्युत् आयोजना, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललगायत महत्त्वपूर्ण आयोजना सम्पन्न हुने अवस्थामा पुग्नु सुखद बनेको छ।
निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सम्पन्न गर्ने लक्ष्य सरकारको छ। जनकपुर-जयनगर रेल सञ्चालनमा आउने निश्चित प्रायः बनेको छ। काठमाडौं उपत्यकावासीले वर्ष २०७७ को अन्त्यतिर बहुप्रतीक्षित मेलम्चीको पानी पाएका छन्। मेलम्चीको पानी सबैका घरघरमा भने २०७८ सालमै पुग्नेछ।
सरकारले २०७७ मै आफ्ना भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नयाँ नक्सा प्रकाशन गरेको छ। आफ्नो प्राविधिकबाट मापन गरेर यही वर्ष सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ कायम गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार तेस्रो वर्षमा चल्दै गर्दा राजनीतिक उतारचढाव चले पनि भौतिक पूर्वाधारमा प्रगति भइरहेको छ।
ठडिँदै धरहरा
२०७२ वैशाख १२ मा ढलेको धरहराको पुनर्निर्माण २०७८ मा आएर सम्पन्न हुने भएको छ। २२ तले धरहरा निर्माण अन्तिम चरणमा पुगेको छ। गजुर राख्ने काम सम्पन्न भएको छ। टिपल बेसमेन्ट र संग्रहालयको काम चलिरहेको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता गोपालप्रसाद अर्याल धरहराको टावर उद्घाटनको तयारी भइरहेको बताउँछन्। सम्भवतः वैशाख ११ गते लोकतन्त्र दिवसमा टावरको उद्घाटन हुन सक्ने प्राधिकरण स्रोत बताउँछ। प्रधानमन्त्री केपी शर्मा ओलीले केही समयअघि धरहरा अवलोकन गरेका थिए।
तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले १८८२ सालमा धरहरा निर्माण गरेका थिए। उनले महारानी त्रिपुरा सुन्दरीदेवीको सम्झनामा धरहरा निर्माण गराएको भन्ने गरिन्छ। त्यसबेला ११ तलाको धरहरा १९९० सालको भुइँचालोले भत्काएको थियो। त्यसपछि नौ तला पुनर्निर्माण गरिएको थियो। त्यसलाई २०७२ सालको भूकम्पले ध्वस्त बनाएर भग्नावशेष मात्रै बाँकी राख्यो। धरहरा पुनर्निर्माण कार्य २०७५ सालमा सुरु भएको थियो। गत असोजमा निर्माण सम्पन्न हुनुपर्नेमा कोभिड महामारीका कारण समय थपिएको हो।
माथिल्लो तामाकोसीबाट विद्युत्
माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्माण अन्तिम चरणमा पुगेको छ। ४५६ मेगावाट क्षमताको यो आयोजना नेपालको आफ्नै लगानीमा निर्माण भइरहेको हो। आयोजनाबाट वैशाख मसान्तसम्ममा विद्युत् उत्पादन सुरु गर्ने तयारी छ। यो आर्थिक वर्षभित्र ६ वटै युनिटबाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथका काम भइरहेको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता मदन तिम्सिना बताउँछन्।
प्रवक्ता तिम्सिनाका अनुसार यो आर्थिक वर्षभित्र माथिल्लो तामाकोसी मात्रै होइन, अन्य आयोजना पनि सम्पन्न हुनेछन्। जसबाट राष्ट्रिय प्रसारण लाइन (ग्रिड) मा ७ सय मेगावाट विद्युत् थपिनेछ। हाल १ हजार ३ सय मेगावाट विद्युत् उत्पादन हँुदै आएको छ। असारपछि १ हजार ९ सय मेगावाट पुग्नेछ।
तामाकोसीलगायत आयोजना निर्माण सम्पन्न भएसँगै जलविद्युत् क्षेत्रले ठूलो फड्को मार्नेछ। विद्युत्मा वर्षौंदेखिको परनिर्भरता हट्नेछ। भारतबाट विद्युत किन्नुपर्ने अवस्थाको अन्त्य हुनेछ। वर्षायाममा नेपालमै उत्पादन हुने विद्युत्ले पुग्छ।
तामाकोसीलगायत आयोजना निर्माण सकिएर सञ्चालन भएपछि हिउँदमा थोरै मात्रमा विद्युत् बाहिरबाट ल्याउनुपर्ने अवस्था आउने प्रवक्ता तिम्सिना बताउँछन्।
काठमाडौंका घरघरमा मेलम्ची
मेलम्ची खोलाको पानी पिउने काठमाडौं उपत्यकावासीको वर्षौंदेखिको सपना यही वर्ष साकार भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले चैत २० गते भृकुटीमण्डपमा ढुंगेधाराबाट मेलम्ची खानेपानी आयोजनाको पानी वितरण कार्यको उद्घाटन गरिन्। मेलम्चीको पानी वितरण भने चैत १५ देखि गर्न थालिएको थियो। अहिले परीक्षणका रूपमा साढे ८ करोड लिटर वितरण भइरहेको छ। अब चाँडै १७ करोड लिटर नै पानी वितरण गरिनेछ।
सम्पन्न हुँदै अर्को अन्तर्राष्ट्रिय विमानस्थल
राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम अन्तिम चरणमा पुगेको छ। यसको निर्माण कार्य छिट्टै सम्पन्न गर्ने गरी काम भइरहेको प्रधानमन्त्रीका विकास पूर्वाधार विज्ञ गजेन्द्र थपलिया बताउँछन्। हालसम्म ९३ प्रतिशत काम सकिएको छ। यो विमानस्थल उद्घाटन गर्ने तयारी भइरहेको छ।
एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा काम सुरु भएको थियो। चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सनले ६ अर्ब २२ करोड ५१ लाख रुपैयाँमा सम्पन्न गर्ने गरी ठेक्का लिएको थियो।
रेल चल्ने निश्चितप्रायः
भारतबाट ६ महिनाअघि ल्याएर थन्किएको रेल चाँडै सञ्चालनमा ल्याउने तयारी सरकारले गरेको छ। जनकपुर-जयनगर रेल सेवा केही प्राविधिक कारण सञ्चालनमा आउन नसकेको जनाइएको छ। दक्ष र प्रशासनिक जनशक्ति व्यवस्थापनको काम चलिरहेको छ।
असोज २ गते दुईवटा रेल ल्याइएको थियो। सो रेल क्षमता १ हजार २ सयदेखि १ हजार ३ सय यात्रु क्षमताको हो। राणाकालमा १९८४ मा भारतको रक्सौलबाट नेपालको अमलेखगन्ज तथा १९९४ जयनगरबाट जनकपुरसम्म रेलसेवा आएको थियो। लामो समय अवरुद्ध उक्त रेलसेवा सञ्चालनको प्रक्रिया अघि बढेको छ। कुर्थाबाट जयनगरसम्मको रेलमार्गको निर्माण गत वर्ष नै सकिएको थियो।
धमाधम क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण धमाधम भइरहेको छ। कोभिड-१९ कारण निर्माण प्रभावित भए पनि २०७८ सालभित्रै सम्पन्न गर्ने लक्ष्य छ। सम्झौता अवधिभन्दा ६ महिनाअघि नै सम्पन्न गरेर सरकारलाई विमानस्थल हस्तान्तरण गर्ने प्रतिबद्धता जनाए पनि कोभिडले प्रभावित भएको हो। २२ अर्ब रुपैयाँ लागतमा सन् २०२१ जुलाई १० भित्र निर्माण सम्पन्न गर्ने गरी चिनियाँ कम्पनी सीएएमसी इन्जिनियरिङले २०७४ असारमा विमानस्थलको काम सुरु गरेको थियो।
हुलाकी राजमार्ग ५० प्रतिशत निर्माण
तराई-मधेसको गौरवको आयोजना हुलाकी राजमार्ग निर्माण ५० प्रतिशतभन्दा बढी सम्पन्न भएको छ । ६ सय ५० किलोमिटर सडक कालोपत्रे भइसकेको छ। ६ सय किलोमिटर सडक निर्माणाधीन छ। २ सय ४० वटा पुल निर्माण गर्नुपर्नेमा ९५ वटा सञ्चालनमै आइसकेका छन्। ७५ वटा पुल निर्माणाधीन छन्। चालू आर्थिक वर्ष २० वटा पुल निर्माण सम्पन्न गर्ने लक्ष्य छ।
तराई-मधेसका २० वटै जिल्लामा निर्माण भइरहेको हुलाकी राजमार्गले त्यस क्षेत्रका ७५ प्रतिशत गाउँबस्तीलाई जोड्नेछ। यो आयोजनाले झन्डै मुलुककै आधा जनसंख्यालाई प्रत्यक्ष लाभ पुर्याउनेछ । विगतमा सुस्त देखिएको कामले पछिल्ला दिनमा गति लिएको छ। आर्थिक वर्ष २०७९÷०८० सम्ममा सम्पन्न गर्ने लक्ष्य राखेर काम भइरहेको हुलाकी सडक आयोजनाले जनाएको छ।
धमाधम मध्यपहाडी लोकमार्ग
तत्कालीन अर्थमन्त्री डा. बाबुराम भट्टराईले २०६४÷०६५ मा मध्य-पहाडी भूभागलाई राजमार्गले पूर्व-पश्चिम जोड्ने गरी पहिलो पटक मध्यपहाडी (पुष्पलाल) लोकमार्गको रेखांकन गरी बजेट विनियोजन गरेका थिए। १ हजार ८ सय ७९ किलोमिटर सडक निर्माण कार्य धमाधम भइरहेको छ। यो आयोजना २०७९÷०८० मा सक्ने लक्ष्य छ। मध्यपहाडी लोकमार्ग पहाडका २६ जिल्ला भएर जानेछ। करिब १ करोड जनसंख्या लाभान्वित हुने अनुमान गरिएको छ।
लोकमार्गमा १० वटा सहर बसाउन डीपीआर तयार भइसकेको छ। पाँचथरको फिदिम, तेह्रथुमको बसन्तपुर, सिन्धुलीको खुर्कोट, धादिङको बैरेनी गल्छी, तनहुँको डुम्रेभन्सार, बागलुङको बुर्तिबाङ, रुकुमको चौरजहारी, दैलेखको राकम, अछामको साँफेबगर र बैतडीको पाटनमा नयाँ सहर बन्दै छन्।
पूर्व-पश्चिम राजमार्ग चार लेन
सरकारले पूर्वपश्चिम राजमार्गलाई चार लेनमा विस्तार गर्न थालेको छ। प्रधानमन्त्री ओलीले कतिपय स्थानमा ६ देखि ८ लेनसम्म हुने बताउँदै आएका छन्। प्रधानमन्त्री ओलीले गत वर्ष नै बुटवलबाट पूर्वपश्चिम राजमार्गलाई ४ लेन वा त्योभन्दा ठूलो बनाउने भन्दै शिलान्यास गरेका थिए।
प्राथमिकतामा मदन भण्डारी लोकमार्ग
प्रधानमन्त्री ओलीले हालै मदन भण्डारी लोकमार्गका ३१ पुलको एकसाथ शिलान्यास गरेका छन्। यो लोकमार्गको काम धमाधम भइरहेको छ। आयोजनाको निर्माण २०८२ मा सम्पन्न गर्ने लक्ष्य लिइएको छ। सरकारको उच्च प्राथमिकतामा रहेको पूर्व-पश्चिम जोड्ने वैकल्पिक सडक मदन भण्डारी राजमार्गको निर्माण कार्य तीव्र गतिमा अगाडि बढेको छ।
पूर्व-पश्चिम राजमार्ग, मध्यपहाडी लोकमार्ग र हुलाकी राजमार्गपछि यो पूर्वपश्चिम जोड्ने चौथो राजमार्गका रूपमा छ। नयाँ ट्र्याक खोल्नेभन्दा सञ्चालनमा रहेका टुक्राटुक्रा सडक जोडेर राजमार्गको निर्माण भइरहेको छ। २०७३ मा धरान-चतरा-गाईघाट-कटारी-सिन्धुली-हेटौँडा सडक आयोजनाको नाममा यो आयोजना सुरु भएको होे। यो राजमार्गको लम्बाइ १ हजार २ सय ५० किलोमिटर छ।
७५३ स्थानीय तहमा भू-उपयोग नक्सा
७ सय ५३ वटै स्थानीय तहको भूउपयोग नक्सा तथा डाटा तयारीको काम २०७८ सालभित्र सम्पन्न गरिने भएको छ। १ सय २६ मालपोत कार्यालयमा अनलाइन सेवा सञ्चालन गर्ने तयारी भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले गरेको छ। मन्त्रालयका प्रवक्ता जनकराज जोशी सबै मालपोत कार्यालयमा कम्प्युटरबाट स्रेस्ता र पुर्जा जारी गर्ने व्यवस्था हुने बताउँछन्। प्रवक्ता जोशी भन्छन्, ‘अब मालपोतको सबै रेकर्ड डिजिटलाइज्ड हुनेछ।’
यस्तै नागढुंगा-नौबिसे सुरुङ निर्माण तीव्र गतिमा भइरहेको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपछिको पुनर्निर्माणको काम सम्पन्न गर्दै छ। राजमार्ग चौडा बनाउने, देशभर प्रत्येक स्थानीय तहमा १५ शैय्यासम्मका अस्पताल निर्माण कार्य पनि धमाधम चलिरहेको छ। ८ औद्योगिक क्षेत्र, प्रत्येक निर्वाचन क्षेत्रमा निर्माण हुने १ सय ६५ रणनीतिक सडक, पालिका जोड्ने सडकलगायत ठूलाठूला आयोजनाको काम थालिएका छन्।