फालेलुङमा चौरी महोत्सव (फोटोफिचर)
फिदिम : भारतको पश्चिम बंगाल र सिक्किम राज्यसँग सिमाना जोडिएको पाँचथरको तीन सिमानामा चौँथो चौरी महोत्सव सम्पन्न भएको छ । तीन हजार छ सय मिटरको उचाईमा रहेको फालेलुङ गाँउपालिका ४ मा महोत्सव आयोजना गरिएको हो । चौरी महोत्सवकै कारण चौरीजन्य उत्पादनहरुको बजारीकरणमा सहयोग पुगेको चौरीपालक किसानको भनाइ छ ।
उच्च पहाडको पहिचानको रुपमा रहेको चौरीको प्रवर्द्धन र विकास गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो। चौरी संस्कृतिको विकास गर्दै जैविक विविधताको संरक्षण र जिल्लाका उच्च पहाडि क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा चिनाउने उद्देश्यले महोत्सवको आयोजना गरिएको बताइएको छ। महोत्सवले चौरीजन्य उत्पादनमा बजारीकरण गर्न सहयोग पुगेको चौरीपालक किसान चन्द्रलाल नेपालले बताए
विगत पाँच वर्ष अघिदेखि यो क्षेत्रमा चौरी महोत्सवको आयोजना गरिँदै आएको छ । अघिल्लो वर्ष कोराना महामारीका कारण महोत्सव स्थगित भएपछि यस पटक निरन्तरता दिइएको हो ।
महोत्सवकै कारण चौरी गोठलाई गोठस्टेको रुपमा विकास गर्न थालिएको छ । दुर्गम मानिएको यो क्षेत्रमा महोत्सवकै कारण पर्यटकको आवगमन हुन थालेको यस क्षेत्रका अगुवा शिल्प साम्पाङ्ले बताए ।
चौरी संस्कृतिलाई अन्तराष्ट्रियकरण गर्न महोत्सव महत्वपूर्ण भएको नेपाली कांग्रेस पाँचथरका सभापति नरेन्द्रकुमार केरुङले बताए । चौरी संस्कृति लोभ हुँदै गएकाले त्यसलाई संरक्षणका लागि महोत्सवको आयोजना गरिएको हो ।
फालेलुङ गाउँपालिकाले प्रवर्द्धन गरेको महोत्सवमा रिकाष्ट र इसिमोडले सहयोग गर्दै आएका छन् । चौरीको महत्व र संस्कृतिलाई जोगाउन आफूहरुले महोत्सवमा लगानी गरेको रिकाष्टका कृषि जैविक विविधता विश्लेषक कमल अर्यालले बताए ।
युवा पुस्तालाई चौरीपालक व्यवसायमा आकर्षित गर्न र चौरीको बारेमा थप अनुसान्धान गर्न रिकाष्टले चौरीमा लगानी गरेर कार्यक्रम अगाडि बढाएको रिकाष्टका कार्यकारी निर्देशक रामनाथ यादवको भनाइ छ ।
नयाँ वर्षको अवसरमा आयोजित महोत्सव भौतिक पूर्वाधार ताथ यातायातमन्त्री बसन्तकुमार नेम्बाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । महोत्सवमा चौरीको दूधबाट बनाइएका परिकार, चौरी र भेडाको उनबाट बनेका वस्तुहरु र लेकाली क्षेत्रमा पाइने जडिबुटि तथा कृषिजन्य वस्तुका स्टल राखिएको थियो ।