एक सातामै संक्रमितले अस्पताल भरिभराउ, भयो बेड अभाव
दाङ : प्रदेशस्तरको बेलझुन्डी कोरोना विशेष अस्पताल एक सातामै संक्रमितले भरिभराउ भएको छ। अस्पातलमा बेड अभाव भएको व्यवस्थापक दोर्णबहादुर ओलीले बताए।
यो अस्पताल पहिलो चरणमा सय बेडमा सञ्चालन गरिएको थियो। ‘जनशक्ति अभावका कारण अहिले २५ बेडमा सञ्चालन भइरहेको छ’, व्यवस्थापक ओलीले भने, ‘अस्पताल एक सातामा भरिभराउ भयो। बेडहरू भरिँदा थप बिरामीको उपचार गर्न समस्या भएको छ। अब आउनेलाई कसरी व्यवस्थापन गर्ने र कहाँ राख्ने भन्ने सोचनीय छ।’
जनस्वास्थ्य निरीक्षक विमल केसीले वैशाख महिना सुरु हुँदै गर्दा समुदायस्तरमा अत्यधिक रूपमा संक्रमण बढेको बताए। ‘कोरोना समुदायस्तरमा पुगिसकेको छ,। अस्पताल भरिभराउ भएका छन्। होटल आइसोलेसनका रूपमा सञ्चालन भइरहेका छन्। कोरोना संक्रमण जटिल अवस्थामा पुगिसकेको छ’, जनस्वास्थ्य निरीक्षक केसीले भने ।
उनले भने, ‘कोरोना परीक्षण गरिएका ८० देखि ९० प्रतिशतमा संक्रमण छ। दैनिक भर्नाका लागि संक्रमितका फोन आइरहेका छन्।’ उनले अस्पतालमा बेड व्यवस्थापन गर्न नसकिएको बताए।
स्थानीय सरकारले भने कोरोना विशेष अस्पताल हटाइसकेकाले पुन: तयारीसमेत देखिएको छैन। तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले कोरोना नियन्त्रणको प्रयास स्थानीय सरकारले आफ्नो तर्फबाट गरिरहेको बताए। ‘अस्पताल कम भए’, पाण्डेले भने, ‘सचेतना बढाऔं। सबै सजग होऔं। स्थानीय सरकारले सचेतना बढाइरहेको छ। कडा खालको संक्रमण भएकाले स्वास्थ्य सुरक्षा अनिवार्य अपनाउन सबैमा आग्रह गर्दछु।’
विपद् व्यवस्थापन समिति तुलसीपुरले सरोकारवालासँग कोरोना संक्रमणको अवस्था र चुनौतीबारे छलफल चलाएको छ। छलफलमा सहभागीले बालबालिकामा बढी कोरोना संक्रमण देखिन थालेको भन्दै सजग हुनुपर्ने, केही समय बालबालिकालाई घरमै सुरक्षित राख्नुपर्ने सुझाव दिएका थिए। नेसनल प्याब्सनका कार्यवाहक अध्यक्ष भोजराज न्यौपानेले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर तत्काल परीक्षा गरी विद्यालय बन्द गर्नुपर्ने बताए।
जिल्ला कोरोना संकट व्यवस्थापन समितिले दाङमा आईसीयू र अक्सिजनसहितका बेड संख्या थप गर्ने निर्णय गरेको छ। २५ बेडको अस्पताललाई स्तर वृद्धि गरी सय बेडको बनाउने निर्णय समितिले गरेको छ।
देउखुरी क्षेत्रका चार पालिकाले अक्सिजनसहितको २५ बेडको अस्पताल तत्काल बनाउने र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको १७ बेडलाई २५ बेड पुर्याएर बिरामीको उपचार गर्ने निर्णय भएको जनाइएको छ।
बेलझुन्डी कोरोना अस्पतालमा अध्ययन गरिरहेका आयुर्वेदका विद्यार्थीका लागि ५० लाखको भवन तत्काल बनाउने निर्णय भएको छ। त्यसका लागि घोराही र तुलसीपुर उपमहानगरले ११÷११ लाख र अन्य पालिकाले ७ लाख रुपैयाँका दरले रकम उठाएर भवन बनाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए।