एपीएफ जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा
सिमरा : सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लब ११ औँ जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। सिमरा रंगशालामा सोमबार भएको खेलमा बागमती युवा क्लबलाई २-१ ले पन्छाउदै एपीएफले अन्तिम चारको यात्रा तय गरेको हो।
एपीएफको जितमा प्रदीप लामा एक्लैले दुई गोल गरे।बागमतीका लागि निरज थापा मगरले एक गोल गरे। बिराट गोल्डकपको उपाधि जितेर बारा आएको एपीएफलेबागमतीविरुद्ध जित निकाल्न निकै संघर्ष गर्नुपर्यो।
बाग्मतीविरुद्ध बनाएको अग्रता जोगाउन नसक्दा एपीएफले नतिजाका लागि अतिरिक्त समयसम्म पर्खनुपर्यो। खेलको ३२औँ मिनेटमा डिबक्सभित्र पाएको बललाई सदुपयोग गर्दै प्रदीप लामाले टिमलाई अग्रता दिलाएका थिए।बागमतीको रक्षापंक्ति अल्मलिएको अवस्थाको फाइदा उठाउँदै अनमार्क रहेका लामाले बललाई जाली चुमाए।
पहिलो हाफमा गोल गर्ने केही अवसर चुकाएकोबागमतीले खेलको ५२औं मिनेटमा पेनाल्टी प्राप्त गर्यो। एपीएफका मनबहादुर रानाले प्रितम स्याङबोलाई लडाएपछि पाएको पेनाल्टीको मद्धतबाटबागमतीले खेल बराबरीमा पुर्यायो। पेनाल्टीमा निरज थापाले गरेको प्रहार एपीएफका गोलरक्षक अमितकुमार चौधरीले नियन्त्रणमा लिन सकेनन्।
खेलको ६४औँ मिनेटमाबागमतीले अर्को अवसर खेर फाल्यो। एपीएफका नवराज खड्काले सुनिल यादवलाई फल गरेपछि निग्मा घिसिङले प्रहार गरेको फ्रिकिक क्रस बार नजिकैबाट बाहिरियो। त्यसको पाँच मिनेट बित्न नपाउदै निरज थापाको फ्रिकिक प्रहारलाई एपीएफका गोलरक्षकले उत्कृष्ट बचाउ गरे।
दोस्रो हाफको अन्तिम समयमा निकै आक्रामक देखिएकोबागमतीको फिनिसिङ पक्ष भने कमजोर देखियो। एपीएफविरुद्ध गोल गर्ने थुप्रै अवसर गुमाउन पुगेपछि निर्धारित समय १-१ को बराबरीमा सकियो। निर्धारित समय सकिएपछि थप गरिएको अतिरिक्त समयको सुरुवातमै एपीएफले गोल गर्न सफल भयो। अतिरिक्त समयको १४औँ मिनेटमा एपीएफका प्रदीप लामाले टिमका लागि विजयी गोल गरे।बागमतीका गोलरक्षक अरुण ब्लोन अगाडि बढेको मौकामा प्रदीपले सहज गोल गरेका हुन्।
खेलमा अग्रता लिएपछि रक्षात्मक खेलेको एपीएफविरुद्धबागमती अन्तिम समयमा आक्रामक बन्यो। अन्तिम केही समयमा लगातार अवसर बनाएपनि सदुपयोग गर्न नसक्दाबागमती हार ब्यहोर्दै घर फर्कन बाध्य भयो।
एपीएफका लागि दुई गोल गरेका प्रदीप खेलको म्यान अफ दि म्याच घोषित भए। उनले नगद पाच हजार हात पारे। प्रतियोगिता अन्तर्गत मंगलबार आहा रारा गोल्डकप विजेता संकटा क्लब र विजय युथ क्लबबीच खेल हुनेछ।