कसरी गर्ने विपद्को सामना

कसरी गर्ने विपद्को सामना

भारतबाट नेपाल प्रवेश गरेका मानिसबाट कोरोना संक्रमण बढेकाले सीमामा हदैसम्मको कडाइ गरिनुपर्छ


नेपालमा कोभिडका रोगीको संख्यामा नाटकीय रूपमा वृद्धि भइरहेको छ। दोस्रो लहरले प्रवेश गरेको भन्दै विभिन्न चर्चापरिचर्चा भइरहेका छन्। अब के गर्ने भन्ने सम्बन्धमा सरकार पनि अलमलमा परेजस्तो देखिन्छ। कोभिडको नयाँ संस्करणले बालबालिकालाई बढी प्रभाव पारेको खबर आइरहेका छन्। योभन्दा पहिलेको कोरोना विषाणुले केटाकेटीलाई कम प्रभाव पार्ने तथ्य आएका थिए। यसले ज्येष्ठ नागरिकलाई बढी आक्रमण गर्दथ्यो। तर अहिले ठीक उल्टो परिस्थिति सिर्जना भएको छ। जम्मा रुग्ण संख्याको १० प्रतिशतसम्म २० वर्षमुनिका व्यक्ति भेटिएका छन्।

कोरोनाको विषाणु बहुरूपी भएको र यसले विभिन्न स्वरूप ग्रहण गरेको छ। यसको पहिलो संस्करणलाई बेलायती संस्करणको नाम दिइएको थियो। यो सामान्य जीवाणुभन्दा ७० प्रतिशत चाँडो फैलिन सक्ने अनुमान गरिएको थियो। त्यसैगरी दोस्रो संस्करणको रूपमा दक्षिण अफ्रिकेली देखिएको थियो। क्यानाडाका विभिन्न सहरमा यो विषाणु पाइएको थियो। त्यसपछि देखिएको नयाँ संस्करण ब्राजिली हो। यो बढी घातक मानिएको छ। थोरै मात्रामा डेनमार्केली संस्करण पनि देखिएको थियो जसले मानिसको प्रतिरोधी क्षमतामा ह्रास ल्याउने रपछि दिएको खोप प्रभावकारी नहुने बताइएको थियो।

छिमेकी देश भारतमा बेलायती संस्करणले प्रवेश गरिएको मानिएको छ। दिनको दुई लाखभन्दा बढी रोगी देखिएका छन्। महाराष्ट्रमा यसको गति तीव्र भएकाले त्यहाँ रात्रि निषेधाज्ञा जस्ता कदम लिइएको छ। फलतः महाराष्ट्रमा काम गर्ने नेपाली घर फर्किएका छन्। उनीहरू कोभिडको प्रथम लहरपछि पनि यसरी नै नेपाल फर्किएका थिए। परन्तु नेपालमा काम नपाएर कोभिड केही मत्थर भएपछि पुनः भारत गएका थिए।

यस्तो परिस्थिति नेपालमा मात्र सिर्जना भएको होइन। पश्चिमा देशमा दोस्रो, तेस्रो र संयुक्त राज्य अमेरिकामा त चौथो लहरलेसम्म प्रवेश गरेको भनिएको छ। इटालीजस्ता केही देशले बन्दाबन्दीसम्म गरेका छन् भने अमेरिका जस्ता अन्य देशले सामान्य सावधानीका उपायको मात्र अनुसरण गरेका छन्।

सरकार र राजनीतिक दलले एक अर्कासित हानथाप गर्नुभन्दा सर्वदलीय सरकार बनाएर अगाडि बढेमा कोभिडलगायत सबै समस्या समाधानमा सफलता हासिल गर्न सकिनेछ।

अहिले नेपालमा बढेको कोरोना मुख्यतः भारतबाट नेपाल प्रवेश गरेका मानिसबाट आएको संक्रमणले गर्दा हो। त्यसकारण सीमामा कडाइ गरिनुपर्छ। भियतनामले राजनीतिक कार्यकर्ता परिचालन गरेर अकल्पनीय सफलता हासिल गरेको छ। यसका अतिरिक्त नेपालमा विद्यमान हेलचेक्राइँले गर्दा पनि यस्तो स्थिति सिर्जना भएको हो। हुन त पोहोर नेपालले निकै कडाइ प्रदर्शन गरेको थियो । यस सन्दर्भमा क्याक्ब्रिज विश्वविद्यालयले विभिन्न देशको कडाइ सूचकांक निकालेको छ। यसले विद्यालय, कार्यालय बन्दीजस्ता २० वटा मापकका आधारमा यो सूचकांक निकालेको हो। अपनाइएको कडाइलाई ० देखि १०० बीचको मान दिइएको छ। गत वर्ष मे महिनामा नेपालको कडाइ सूचकांक ९२.५७ छ थियो। भारतको ८१.९४ तथा चीनको ५६.९४ थियो। यसैगरी थाइल्याण्डको यो सूचक ७५ थियो भने मलेसियाको ५७.४ र फिलिपिन्सको ९६.३ थियो।

नेपालमा अहिले भएको भयावह परिस्थितिलाई मध्यनजर गर्दै आवश्यक कदम चाँडै नै लिनुपर्छ। पहिलो त परीक्षण नै हो। यो कार्यको निरन्तर रूपमा सुनिश्चित गरिनुपर्छ। दोस्रो पहिचान हो। कहाँ–कहाँ यस्तो प्रकोप बढी फैलिएको छ यसको जानकारी लिएर त्यस स्थललाई एक्ल्याउनुपर्छ। यसले गर्दा संक्रमण एकै स्थानमा रहेर अन्य स्थानमा बढ्न पाउँदैन। तेस्रो हो उपचार। विभिन्न अस्पताललाई कोभिडका लागि छुट्याइएको थियो। विगत केही महिनामा कोरोनाको मात्रा कम भएको भन्दै पहिलेको जस्तै यिनलाई सामान्य अस्पतालमा परिणत गरिएको थियो। अब यी अस्पताललाई फेरि पहिलेकै स्वरूपमा फर्काउनुपर्छ।

चौथो हो कडा सार्वजनिक सावधानी। यसअन्तर्गत भीड हुने खालका क्रियाकलापलाई निरुत्साहित गर्नुपर्छ। बिहे, वर्तमान आदि कार्यक्रममा मानिस पहिलेकै जस्तो भेला हुन थालेका छन्। यस्ता कार्यक्रममा न्यूनतम सम्भव संख्याको मात्र सहभागिताको व्यवस्था गरिनुपर्छ। यसका अतिरिक्त सीमित क्षेत्रमा सप्ताह अन्तमा रात्रिकालीन निषेधाज्ञा, सानातिना बन्दाबन्दी, केही समयका लागि विद्यालय बन्दी आदि कदम लिनुपर्छ। त्यसैगरी मुखौटो लगाउने, बेलाबेलामा हातमा विषाणु निर्मूलकर्ताको प्रयोग गर्ने, एक अर्काको पर–पर रहने जस्ता कोरोना प्रतिकूल क्रियाकलाप अवलम्बन गर्नुपर्छ।

पाँचौ हो खोपको तीव्र कार्यान्वयन। हुन त अहिले विश्वमा खोपको कमी भइरहेको छ। यसका दुइवटा कारण छन्। केही देशले कुनैकुनै  खोपलाई निषेध गरेका छन् किनभने यसको प्रयोग पछि केही मानिसको रगत जमेर निधन भएको छ। भारतको पुनास्थित खोप उत्पादन केन्द्रमा आगलागी भएर यसको उत्पादन गतिमा कमी आयो। फलतः खोपको निर्यातकर्ता भारत अहिले आयतकर्तामा रूपान्तरित भएको छ। यसले बाहिरबाट खोप ल्याउन आरम्भ गरेको छ। यी पाँचवटा कदमको अनुसरण गरेमा कोरोनाको गतिलाई सुस्त बनाउन सकिन्छ।

जुनसुकै पनि संक्रमणले सुअवसर पनि प्रदान गरेको हुन्छ। भनिन्छ विपद्ले विकासलाई निम्त्याउँछ। विशेष गरेर भूकम्पपछि साँघुरा सडक फराकिला भएको देखिएको छ। ९० सालको भूकम्पपछि न्युरोड क्षेत्रले नयाँ स्वरूप प्राप्त गरेको थियो। अहिले कोभिडले उत्पन्न गरेको प्रतिकूल परिस्थितिलाई अनुकुलतातर्फ रूपान्तर गर्न सोच्नुपर्छ। यस्तो अवसर कोभिडको पहिलो लहरले पनि प्रदान गरेको थियो। तर त्यसको उपयोग गर्नबाट राष्ट्र चुक्यो।

कोरोना जस्ता महामारी हरेक वर्ष हुने होइनन्। उदाहरणका लागि सन् १९१८ मा स्प्यानिस फ्लु नामक महामारीले पाँच करोड मानिसको ज्यान लियो। यो एक वर्षपछि शिथिल भएको थियो। अहिले फेरि कोरोना महामारीलाई हामीले सामना गरिरहेका छौं। तर हरेक वर्ष हामीले विभिन्न विपद्सित संघर्ष गरिरहेका छौं। ती हुन पहिरो, बाढी, आगलागी आदि। विशेष गरेर पहिरो र बाढीबाट धेरै धनजनको नोक्सानी हुनेगर्छ।

अहिले भारतमा काम गर्न गएका नेपाली धेरै संख्यामा नेपाल फर्किएका छन्। उनीहरूलाई रोजगारीको पनि आवश्यकता छ। त्यसकारण उनीहरूलाई पहिरो तथा बाढी रोकथामको काममा लगाउन सकियो भने पशुपतिनाथको जात्रा शिद्राको व्यापार भनेजस्तो दुइटा काम एकैपटक गर्न सकिन्थ्यो। पहिरो आएर धेरै बस्ती सखाप हुने गर्छन्। बस्तीमा मास्तिरबाट आउने पानीको भल र बस्तीमा भएका चिराबाट छिर्ने पानीलाई रोक्न सक्यो भने पहिरो रोकथाम गर्न सकिन्छ। बस्तीमा आउने भललाई हाम्रो रैथाने स्थानीय भल काट्ने प्रविधिबाट सम्बोधन गर्न सकिन्छ। यसका लागि बस्ती सुरु हुनुभन्दा माथिको भागमा कुलो दुईतिरको खोल्सामा मिसिने गरी बनाउनुपर्छ। चिराबाट छिर्ने पानीलाई निराकरण गर्न चिरालाई खनेर मिहिन माटोले भरेपछि त्यसको माथि दुबोको चपरी राखिदिनुपर्छ। यो कार्यमा विदेशबाट आएका युवालाई लगाउन सकेमा विपद्बाट पनि जोगिने र रोजगारी पनि पाउने स्थितिको सिर्जना हुन सक्छ।

त्यसैगरी बाढी नियन्त्रण गर्न पोखरी निर्माण गर्न सकिन्छ। नेपालमा पहिले पानी पहाडमा पर्ने, त्यसपछि खोल्सामा, अनि खोलमा र अन्ततः कोशी नदीमा जम्मा भएर बाढी आउँछ। पोखरी खनेको खण्डमा पानी पोखरीमा नै रहने र यो वर्ष भरी उपयोग पनि गर्न सकिने भएकाले लाभदायक हुन्छ। आगलागी भएको अवस्थामा पनि यसलाई निभाउन पोखरीको पानी प्रयोगमा ल्याउन सकिन्छ। यसले वनमा हुने डढेलोलाई पनि हुन दिँदैन। पोखरीमा मत्स्यपालन गरेमा बढी आयआर्जन गर्न सकिन्छ। धान प्रतिकिलो २० र माछा  ४०० मा बिक्ने र धान एक हेक्टरमा २.५ टन हुने तर माछा ५ टन हुने भएकाले धान रोप्नुमा भन्दा माछा पालनमा ४० गुना बढी आय हुन्छ।  यसले जग्गा धनी तथा स्थानीय सरकार दुवैलाई फाइदाजनक हुन्छ। कूल क्षेत्रफलको ०.५ प्रतिशत क्षेत्रमा पोखरी खनेमा बाढी नियन्त्रण हुने एक अध्ययनले देखाएको छ। परापूर्वकालमा पोखरी निर्माण गर्ने परम्परा थियो। काठमाडौं उपत्यकाका सहरहरूमा पोखरी अझै पनि देख्न सकिन्छ।

सरकारले अहिले नै गाम्भीर्यतका साथ कदम चालेमा कोरोना तथा भविष्यमा हुने प्राकृतिक विपद्लाई सफलताका साथ सामना गर्न सक्छ। परन्तु यसका लागि राजनीतिक इच्छाशक्ति हुनुपर्छ। अहिलेको परिस्थितिमा पार्र्टीहरूले एक अर्कासित हानथाप गर्नुभन्दा सर्वदलीय सरकार बनाएर अगाडि बढेमा यस्ता समस्यालाई सफलताका साथ समाधान गर्न सकिन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.