नारायणीमा ‘कान्छी हे कान्छी'

नारायणीमा ‘कान्छी हे कान्छी'

चितवन : साँझपखको सांस्कृतिक कार्यक्रम हेर्न कला मन्दिरमा दर्शक खचाखच थिए। एकैछिनमा झण्डै ४० वर्षअघि रेकर्ड भएको चलचित्र कान्छीको शीर्ष गीत ‘कान्छी हे कान्छी' गुञ्जियो। चलचित्रको पर्दामा कलाकारले लगाएको पहिरनजस्तै गेटअपमा आएका कलाकारले दौरासुरुवाल र गुन्यौचोली लगाएका थिए। उही गीत अनि उस्तै मौलिक शैलीमा देखिएका कलाकारको प्रस्तुतिले चलचित्रका निर्माता प्रसाद श्रेष्ठ मक्ख थिए। गोपाल योञ्जनको संगीतमा प्रकाश श्रेष्ठ र विमला राईले गाएको गीत हो यो। चलचित्रमा जस्तै स्टेजमा कलाकार नाचेको हेर्दा श्रेष्ठले पुराना दिन सम्झिए। उनी पाँचजना निर्मातामध्येका एक हुन्।

भारतको कोलकातामा गीत रेकर्ड गर्दा उनी त्यहाँ एक महिना बसेका थिए। उनले गोपाल योञ्जन, नारायण गोपाल, अरुणा लामा सुक्मित गुरुङसँगको संगत सम्झिए। 'फिल्ममा जस्तै प्रस्तुत गरिएको नाच हेर्दा त्यसबेला फिल्म बनाउँदा र गीत रेकर्ड गर्दा पाएको दुःख सम्झिएँ', श्रेष्ठले भने, 'हामीपछिका पुस्तामा पनि लोकप्रिय भएको देख्दा सबै दुःख सुखमा परिणत भएको महशुस भयो।' कला मन्दिरमा पुगेका दर्शक पनि उत्तिकै दंग थिए। मौलिक रूपमा गरिएको प्रस्तुतिले दर्शकको मन जित्यो। नारायणी कला मन्दिरले इन्द्रणी साँझ आयोजना गरेको हो।

करिब दुई घण्टा चलेको साँस्कृतिक कार्यक्रमको सुरुवातमा धिमाल जातिको नाच देखाइएको थियो। त्यसपछि सुदूरपश्चिमको देउडा गीतमा नाच प्रस्तुत गरियो। गर्ग, झुमरी, मारुनी, तामाङ सेलो र भोजपुरी सँस्कृतिमा कलाकारले आफ्नो प्रस्तुति दिएका थिए। कार्यक्रममा गायक भुवन प्यासीले गीत गाएर फरक स्वाद पस्किए । उनले हलका हलका, यो देशको माटोमा लगायतका गीत गाए।

यसपटक लोक संस्कृतिमा आधारित रहेर कार्यक्रम गरिएको कार्यक्रम संयोजक रोहितकुमार श्रेष्ठले बताए। कोभिड संक्रमणको तनाबबाट मुक्त हुन नारायणी कला मन्दिरमा मनोरञ्जनको मेसो मिलाइएको उनले बताए। कला मन्दिरका अध्यक्ष उद्धव जोशीले वार्षिक तालिकाअनुसार हरेक वर्ष इन्द्रेणी कार्यक्रम गर्दै आएको बताए। २०१९ सालमा स्थापना भएको नारायणी कला मन्दिर कला सँस्कृतिको क्षेत्रमा क्रियाशील छ। कला मन्दिरका पूर्वअध्यक्ष विज्ञानलाल श्रेष्ठले कला मन्दिर लोक संस्कृतिको जगेर्नाका लागि केन्द्रित रहँदै आएको बताए। हरेक वर्ष आयोजना गर्दै आएको इन्द्रेणी साँझमा कलाकारले विभिन्न नृत्य देखाएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.