कार्यालय ठप्प पारेर गाउँपालिकाको जम्बो टोली भ्रमणमा
बेनी : म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी कार्यालयको काम ठप्प पारेर घुमघाममा निस्किएका छन् । गत चैत २८ गतेको कार्यपालिका बैठकले गरेको दश लाख बिनियोजन भएको स्थानीय तहको असल अभ्यासको अनुभव आदानप्रदान गर्न छिमेकी जिल्ला मुस्ताङका स्थानीय तहसँग अन्तरक्रिया गर्ने निर्णय कार्यान्वयनको बाहनामा मुक्तिनाथ तिर्थयात्रा र कोरला नाकाको भ्रमणमा निस्किएका हुन् ।
बुधबार साँझ मुक्तिनाथ पुगेका उनीहरु उपल्लो मुस्ताङस्थित कोरला नाकासम्म पुगेर वैशाख ११ गते फर्कने कार्यक्रम बनाएका छन् । महिनौअघि काम सकेका उपभोक्ता समिति र निर्माण व्यवसायीलाई भुक्तानी गर्न नसकेको गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरु मुस्ताङ यात्रा गएको विषयमा सर्बत्र विरोध भइरहेको
छ।
गत फागुनमा तत्कालिन प्रमुख प्रशासकीय अधिकृत नबिन सुबेदी सरुवा भएर गएपछि डेढ महिनासम्म प्रशासनिक नेतृत्वविहीन बनेको थियो । गत चैत २० गते मुख्यमन्त्रीको कार्यालय पोखराबाट सुरुण शर्मा पौडेल अन्नपूर्णमा प्रशासकीय अधिकृतको रुपमा हाजिर हुन आएका थिए ।
उपाध्यक्ष केशमाया मगर, ६ वटा वडाका अध्यक्षसहित कार्यपालिकाका १२ जना सदस्य सहभागि भ्रमण टोलीमा प्रशासकीय अधिकृत पौडेलसँगै करिब दुई हप्ता अघि मात्रै मुस्ताङ घुमेर फर्कनुभएका लेखा अधिकृत जय सुबेदी, शिक्षा शाखाका भरत पुन र अन्य दुईजना कर्मचारी पनि सहभागी छन् ।
गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन, वडा नम्बर ३ दानाका अध्यक्ष नरसिंह पुर्जा र वडा नम्बर ४ का अध्यक्ष चन्द्रप्रकाश फगामी भने भ्रमणमा सहभागी भएका छैनन् । चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा पुँजीगत (विकास बजेट) तर्फ १५ करोड ५६ लाख ३४ हजार रुपैयाँ बजेट बिनियोजन गरेको अन्नपूर्णले जम्मा दुई करोड
३५ लाख १६ हजार ४०० रुपैयाँ अर्थात १५ प्रतिशत बजेट खर्च गरेको छ ।
त्यसैगरी चालु तर्फ २९ करोड ५६ लाख ७५ हजार ६३० रुपैयाँ बजेट बिनियोजन गरेकोमा नौ करोड ५० लाख २६ हजार ५६ अर्थात ३२ प्रतिशत खर्च गरेको छ । अन्य स्थानीय तहहरुले पुँजिगत तर्फ सरदर तीस प्रतिशत बजेट खर्च गर्दा सबैभन्दा कम बिकास बजेट परिचालन गर्नेमा अन्नपूर्ण गाउँपालिका पहिलो नम्बरमा आउँछ ।
'वार्षिक कार्यक्रम र स्विकृत बजेट अनुसार कार्यापालिकाको बैठकले निर्णय गरेर मुस्ताङका सबै स्थानीय तहमा अन्तरक्रिया गर्न आएका हौं, प्रमुख प्रशासकीय शर्माले भने,'म आएपछि पनि आएका उपभोक्ता समिति, निर्माण व्यवसायी र आपुर्तिकर्तालाई भुक्तानी गरेका छौं । आज पनि दुईवटा चेकमा हस्ताक्षर गरेर आएको हो । लेखाको सर पनि आएको हुनाले अब दुई दिन आर्थिक र प्रशासनिक काम हुँदैन । सम्पर्क गरेकालाई ११ गतेपछि आउन भनेका छौं ।'
नारच्याङका श्याम पुर्जाले दुई महिनाअघिनै काम सकेपनि कहिले प्रशासकीय अधिकृत नहुने र आएपछि पनि बैठक, गोष्ठि, तालिमको बहानामा कार्यालयमा नबसेकाले भुक्तानी नपाउँदा निर्माण सामग्री बिक्रेता र मजदुरलाई ज्याला दिन नसकेको गुनासो गरे ।
गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले प्रशासकीय र लेखा अधिकृतलाई कामको चाप भएको बेला भ्रमणमा नजान भनेको नमानेपछि मैले के गर्ने त ? भनेर प्रतिक्रिया दिए । भ्रमणमा सहभागी वडा न. २ का वडा अध्यक्ष ओमप्रकाश फगामीले कार्यवाहकलाई जिम्मा दिएर आएकाले वडाको नियमित काममा असर नपर्ने
प्रतिक्रिया दिँदै उपभोक्ता समितिलाई सम्बन्धित वडाका अध्यक्षहरुले व्यवस्थापन गरेको दावी गरे ।
गाउँसभाका सदस्य बुद्धि पुनले जनताको सेवा र काम गर्न छाडेर गरिएको भ्रमणले बजेट सकिएपनि उपलब्धि र प्रतिफल नदेखिने टिप्पणी गरेका छन् ।