भाषा र चञ्चल्ता बिर्सेर आइन् चेली
झापा : नेपाल भारत सीमा काँकडभिट्टा क्षेत्रमा आइतबार भारतबाट नेपालतर्फ आउनेको लर्को देखिन्थ्यो। त्यही भिडमा एउटी किशोरी कालो चस्मा, मुखमा मास्क र अनुहार ढपक्कै कुर्ताको सलले छोपेर छिटो छिटो पाइला चाल्दै भिडको बीचबाट नेपाल प्रवेश गर्दै थिइन्।
करिब ४ बर्षअघि नुवाकोट जिल्लाको एक विकट स्थानबाट गाउँकै तर अपरिचित एक महिलाले बच्चा हेर्ने काम लगाइदिन्छु भन्दै किशोरीलाई भारत पुर्याएको बुझिएको छ। त्यतिबेला उनको उमेर १२ वर्षको मात्र थियो।
कलिलो उमेरमा भारत पुर्याइएकी किशोरीले अहिले नेपाली भाषा पनि बिर्सिएको विश्व सेवा विस्तारकै इन्द्र बस्नेतले जानकारी दिए। उनले भने, ‘बेङ्गोली र हिन्दी भाषा मात्र उनलाई बोल्न आउँछ। नेपाली अरुले बोलेको अलि अलि मात्र बुझ्ने गर्छिन्।’
४ वर्ष अघि गाउँकै शिवालय स्कुलमा कक्षा ५ मा पढ्दै गर्दा उनलाई बाबु आमाले पनि बच्चा हेर्ने काम भए ठिकै छ भन्दै गाउँमा आएकी महिलालाई सुम्पिएका थिए। बेला बेला छोरी हेर्न र भेट्न पाइएला भन्ने आशले छोरी पठाएको बाबु आमाको भनाइ उद्धृत गर्दै किशोरीलाई उद्धार गर्ने सहयोगी संस्था विश्व सेवा बिस्तारकी संयोजक सरस्वती मानन्धरले जानकारी दिइन्। उनले भनिन्, ‘बालिकाको पारिवारिक अवस्था अति नै दयनीय छ। आमा दीर्घ रोगले थलिएकी छन्। १ जना छोरीको १८ वर्षको उमेरमा भर्खरै बिहे भइसकेको छ। अब साथमा एउटी कान्छी छोरी छन्।’
करिब १ वर्षअघि कलकत्ताको बर्तौला पुलिस स्टेशनले बालिकालाई कलकत्ता नजिकैको रेड लाइट एरियामा आत्तिएर हिंडेको देखेको थियो। त्यति नै बेला पुलिसले सोधपुछ गर्दा बालिकाले आफ्नो ठेगाना नेपाल बताएपछि खोजीका लागि पहल सुरु गरिएको कलकत्ता स्थित महावाणिज्य दूतका निजी सचिव सतिस थापाले जानकारी दिए। उनका अनुसार त्यतिबेलै मानव बेचबिखनमा परेकालाई उद्धार गर्दै आएको संस्था विश्व सेवा विस्तारलाई सम्पर्क गरेर खोजी सुरु गरिएको थियो। थापाले भने, ‘१ वर्षसम्म बालिकालाई आफ्नो गाउँको ठेगाना नै राम्रोसँग थाहा नभएकोले उद्धारको लागि समय लागेको हो।’
महावाणीज्य दुतका प्रतिनिधि थापाका अनुसार किशोरीलाई कलकत्तासम्म पुर्याएपछि सुरुवाती दिनमा करिब एक वर्ष बच्चा हेर्ने काममै लगाइएको किशोरीले बताएकी थिइन्। तर विगत ३ वर्ष यतादेखि रेड लाइट एरियामै उनलाई काम गर्न बाध्य पारिएको थियो। सतिसका अनुसार, ‘किशोरीले रेड लाइट एरियाको पीडा सहन नसकेर पटक पटक नेपाल पठाइदेउ नत्र म मर्छुसम्म भन्ने गरेकी रहिछन्।’
आइतबार नेपालको काँकडभिट्टा आइपुगेपछि कलकत्ता कसले पुर्याएको थियो भन्ने प्रश्नमा भने किशोरीले ‘नहि बोलुङ्गी’ भनेर कसैको पनि नाम लिन चाहिनन्।‘यता किशोरीकी आमाले छोरी देखेर मर्न पाउँ भनेर गरेको अनुरोधले पनि हामीलाई उद्धार गर्न तदारुक्ता देखाएको हो', संयोजक मानन्धरले भनिन्, ‘अब आगामी बाँकी प्रक्रिया किशोरीलाई पहिला परिवारसँग भेट गराएपछि मात्र सुरु हुनेछन्।’
उद्धारपश्चात् अबका कानुनी प्रक्रिया र किशोरीको सहज जीवन पुर्नस्थापन गर्नमा विश्व सेवा विस्तारले सहयोग गर्ने संयोजक मानन्धरले बताइन्। किशोरीसँगै आइतबार अरु ३ जना किशोरहरुको पनि भारतका विभिन्न शहरमा रोजगारका लागि भौतारिएर सडक बास भएका किशोरहरुको पनि उक्त संस्थाले उद्धार गरेको छ।