दाङमा परीक्षण गरेका ७५ प्रतिशतलाई कोरोना
दाङ: दाङमा कोरोना परीक्षणका लागि स्वब दिने ७५ प्रतिशतमा कोरोना संक्रमण देखिएको छ । केही दिनको तथ्यांकले कोरोना परीक्षण गराउने ७५ प्रतिशतमा संक्रमण देखिएको हो ।
सोमबार पनि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा कोरोना परीक्षणका लागि सङ्कलन गरिएका नमुनामध्ये ७५ प्रतिशतभन्दा धेरैमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यससँगै सोमबार दाङमा एकै दिन १ सय ५२ जनामा संक्रमण पुष्टि भएको छ । आइतबार ८१ जनामा संक्रमण पुष्टि भएको थियो । आइतबार एक सय अमुना परीक्षण गर्दा ८१ जनाका संक्रमण पुष्टि भएको थियो ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा सोमबार पीसीआर परीक्षण गरिएका दुई सय दुई नमुनामध्ये एक सय ५२ जनामा कोरोना सङ्क्रमण देखिएको हो । यसैबीच दाङमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको संख्या पाँच सय ३० पुगेको छ ।
स्वास्थ्य कार्यालय दाङका अनुसार सबैभन्दा धेरै तुलसीपुरमा दुई सय ५५ जना सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै घोराहीमा एक सय ८५, लमहीमा २४, बबईमा २३, राप्तीमा १४, शान्तिनगरमा १२, दगीशरणमा ९ जना र गढवामा ८ जना सक्रिय सङ्क्रमित रहेका छन् । बंगलाचुली र राजपुरमा भने सक्रिय सङ्क्रमितको संख्या शून्य छ ।
अहिलेसम्म दाङमा कोरोना सङ्क्रमित हुनेको संख्या चार हजार दुई सय सय १४ रहेको छ । यसैगरी तीन हजार ६ सय ८३ जना कोरोनामुक्त भएका छन् । यस्तै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६१ पुगेको छ । जिल्लामा भने कोरोना संक्रमितका लागि शैय्याको अभाव भएको छ । कोरोना अस्पतालमा उपचारका लागि बेडहरु समेत खाली नहुनुका साथै अक्सिजन समेत अभाव भएको छ । दैनिक मृत्युदर पनि बढिरहेको कोरोना अस्पतालका व्यवस्थापक दोर्ण बहादुर ओलीले बताए ।