संक्रमण रोक्न कडाइ, हटस्पटमा धमाधम निषेधाज्ञा जारी

संक्रमण रोक्न कडाइ, हटस्पटमा धमाधम निषेधाज्ञा जारी

प्रदेश ब्युरोहरू

काठमाडौं : कोरोना भाइरस संक्रमणको दोस्रो लहरबाट अति प्रभावित जिल्लाहरूमा स्थानीय प्रशासनले धमाधम निषेधाज्ञा जारी गर्न थालेका छन्। बाँके, सुर्खेत, कास्की, पर्सा, दाङ, कैलाली, कञ्चनपुरलगायत जिल्लामा निषेधाज्ञा घोषणा गरिएको हो। यस्तै, काठमाडौं, ललितपुर र भक्तपुरमा वैशाख १६ गतेदेखि लागू हुने गरी निषेधाज्ञाको निर्णय भएको छ।   

पर्सामा बिहीबारदेखि एक साता निषेधाज्ञा लगाइने भएको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको मंगलबार अपराह्न बसेको बैठकको सिफारिसबमोजिम जिल्ला प्रशासन कार्यालय पर्साले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो। वैशाख १६ गते बिहीबार बिहान ४ बजेदेखि २२ गते मध्यरात १२ बजेसम्म लागू हुने गरी जिल्लामा निषेधाज्ञा लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले बताए। 

लुम्बिनी प्रदेशका उच्च संक्रमण देखिएका तीन जिल्लामा निषेधाज्ञा लगाइने भएको छ। बाँकेमा कोरोना संक्रमण बढेपछि मंगलबार बिहानदेखि निषेधाज्ञा जारी गरिएको छ। नेपालगन्जमा भने ९ वैशाखदेखि नै निषेधाज्ञा जारी थियो। 

जिल्लाभरि नै निषेधाज्ञा गरेपछि मंगलबार नेपालगन्जमा संयुक्त सुरक्षाफौजले कडा जाँच गरेको छ। धम्बोझी चोकमा बिहानैदेखि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र ट्राफिक प्रहरीले कडा जाँच गरेका थिए।

त्यसैगरी त्रिभुवन चोकमा पनि सशस्त्र प्रहरीको नेतृत्वमा सुरक्षाकर्र्मीले कडा चेकजाँच गरेका थिए। नगरका सबै चोकमा सुरक्षाकर्मी तैनाथ गरिएका थिए। दाङमा वैशाख १७ देखि २५ गतेसम्म लकडाउन घोषणा गरिएको छ। यो अवधिमा अत्यावश्यकबाहेक अन्य क्षेत्र बन्द हुने प्रशासनले जनाएको छ। यद्यपि, सीमा क्षेत्रबाट आउने क्रम भने रोकिएको छैन। भारतबाट आएकाहरू सिधै सार्वजनिक सवारीसाधन चढेर घर पुग्ने गरेका छन्।

रूपन्देही प्रशासनले वैशाख १६ देखि २९ गतेसम्म निषेधाज्ञा लगाउने तयारी गरेको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले १५ दिन निषेधाज्ञा लगाउन स्थानीय प्रशासनलाई सिफारिस गरेको हो।  गण्डकी प्रदेशको कास्कीमा संक्रमण बढेपछि बुधबारदेखि लागू हुने गरी २१ वैशाखसम्म निषेधाज्ञा घोषणा भएको छ। जोर गतेमा जोर र बिजोरमा बिजोर नम्बरका सार्वजनिक सवारी चलाउने, अत्यावश्यक सेवाका पसल र साधन चल्न दिने कास्की प्रशासनको सूचनामा छ।

संक्रामक तथा सरुवा रोग उपचार अस्पताल पोखरामा ४७ बेड कोरोनाका संक्रमितले भरिएको छ। अरू थप बिरामी भर्ना लिने अवस्था छैन। प्रदेशको सबैभन्दा ठूलो पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कोरोनाका बिरामीका लागि आइसोलेसन तयार छैन। 

संक्रमितको उपचार गर्ने अस्पतालका सबै बेड भरिँदा मंगलबार मात्रै कास्कीमा अरू ९७ संक्रमित थपिएका छन्। यससँगै कास्कीमा सक्रिय संक्रमित ७ सय २७ जना पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। अस्पताल भर्ना बाहेकका सबै संक्रमित घरमै छन्।  गण्डकी प्रदेशमा १ हजार ९ जना कोरोनाका सक्रिय पुगेका छन्। त्यसमध्ये सबैभन्दा धेरै कास्कीमा हुन्। 

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पनि संक्रमण नियन्त्रण बाहिर जाने जोखिम बढेपछि स्थानीय प्रशासनले मंगलबार रातिदेखि एक साता जिल्लाभर निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले कोभिड–१९ को ‘चेन ब्रेक’ गर्न र संक्रमणको जोखिम रोकथाम र उपचारका लागि निषेधाज्ञा घोषणा गरिएको बताए।

यो प्रदेशका अन्य जिल्लाको तुलनामा सुर्खेतमा संक्रमण बढ्दो छ। मंगलबारसम्म प्रदेशभर सक्रिय संक्रमितको संख्या ७ सय ७ पुगेको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले जनाएको छ। निर्देशनालयका अनुसार सुर्खेतमा सबैभन्दा बढी ४ सय ८६ जना संक्रमित छन्। त्यसमध्ये वीरेन्द्रनगरमा मात्र ४ सय ५५ जना छन्। ३१ जनाको प्रदेश अस्पतालमा उपचार भइरहेको छ। बाँकी होम आइसोलेसनमा छन्। यस्तै सल्यानमा ९६, दैलेखमा ५४, जाजरकोटमा ४१, कालिकोटमा २० र रुकुमपश्चिमा एक जना सक्रिय संक्रमित छन्। हालसम्म कर्णालीमा संक्रमणका कारण मृत्यु हुनेको संख्या ३५ पुगेको निर्देशनालयले जनाएको छ। 

सुदूरपश्चिम प्रदेशका तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा निषेधाज्ञा जारी भएको छ। बिहीबारदेखि लागू हुने गरी दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीले मंगलबार निषेधाज्ञाको निर्णय गरेका हुन्।  जिल्ला कोभिड व्यवस्थापन समितिको सिफासिरमा जिल्ला प्रशासन कार्यालय कैलालीले वैशाख १६ गतेदेखि कैलालीमा लकडाउन गर्ने निर्णय गरेको छ। मंगलबार बसेको सर्वदलीय बैठकले पनि कोरोनाका बिरामीको संख्या एकदमै बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयलाई लकडाउन गर्न सहमति दिएको थियो।

यसअघि सोमबार कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीको धनगढीमै बसेको संयुक्त बैठकले दुवै जिल्लामा रात्रीकालीन लकडाउन मात्रै गर्ने निर्णय गरेको थियो। त्यो निर्णयको सामाजिक सञ्जालमा चर्को विरोध भएको थियो।  भारतबाट फर्किने नेपालीमा अनुपातमा दैनिक १ सयभन्दा बढीमा कोरोना देखिन थालेपछि अवस्था खतरापूर्ण भएकाले निषेधाज्ञा जारी गरिएको कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए।

‘भारतबाट आउनेहरूलाई घर आउन रोक्न सकिँदैन। तर, सामान्य रूपमा भारत जानमा रोक लगाउने निर्णय गरिएको छ। अहिलेको कोरोनाको चेन ब्रेक गर्न पनि निषेधाज्ञा लगाउनु परेको हो। १६ गतेदेखि एक साताका लागि जिल्लाभरि निषेधाज्ञा जारी गर्ने निर्णय गरेका छौं,’ प्रमुख जिल्ला अधिकारी रिजालले भने। कैलालीमा सक्रिय संक्रमितको संख्या १ हजार नाघेको छ। पीसीआर गरेका ४ सय ६१ र ६ सयभन्दा पनि बढी ऐन्टिजेन परीक्षण गरेका गरी हजारभन्दा बढी पोजेटिभ रहेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र सिंह कार्कीले बताए ।

मंगलबार मात्रै कैलालीमा १ सय ७५ जना संक्रमित (पीसीआर) थपिएका छन्। भारतबाट फर्केका ७० जनामा पनि कोरोना पोजेटिभ देखिएको छ। मंगलबार धनगढी प्रयोगशालाको पीसीआर र भारतबाट फर्केकाहरूको गौरीफन्टामा गरिएको एन्टिजेन परीक्षणमा २ सय ४५ जनामा कोरोना पुष्टि भएको छ।  कैलाली र कञ्चनपुरका अस्पतालहरूमा गम्भीर प्रकृतिका बिरामी बढेपछि, आईसीयू भेन्टिलेटरको अभाव भएको छ। मानिसहरू उपचार नपाएर छटपटिन थालेका छन्। दोस्रो चरणको कोरोनाको संक्रमण फैलिएपछि कैलाली र कञ्चनपुरका अस्पतलमा मात्रै ८ जनाको मृत्यु भइसकेको छ। 

कञ्चनपुरका पनि वैशाख १६ गते बिहान ६ बजेदेखि २२ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लागू गरिएको छ। उक्त अवधिमा अत्यावश्यक सेवा बाहेकका सबै बन्द रहने छन्। निषेधाज्ञाको समयमा अत्यावश्यक बाहेक सबै सवारी साधन बन्द रहने प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले बताए। 

पर्सामा केन्द्रको बैठकले जिल्लामा कोरोना परीक्षणको दायरा बढाउने र संक्रमितको कन्ट्याक्ट ट्रेसिङको जिम्मा सम्बन्धित पालिकाहरूलाई दिने निर्णय गरेको छ। यस्तै बैठकले विगतमा नेसनल मेडिकल कलेजले सञ्चालन गरेको कोभिड अस्थायी विशेष अस्पताल पुनः सञ्चालनमा ल्याउन कलेजलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ। 

बैठकले भारतबाट वीरगन्ज नाका हुँदै भित्रिनेलाई ठाकुरराम बहुमुखी क्याम्पसमा नेपाली सेनाको नेतृत्व र व्यवस्थापनमा होल्डिङ सेन्टर निर्माण गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय पर्साका कोभिड सम्पर्क व्यक्ति विनय श्रीवास्तवले बताए। भारत तथा अन्य मुलुकबाट आएकाहरूलाई सम्बन्धित पालिकाले सामुदायिक आइसोलेसन सेन्टर वा होम आइसोलेसनमा कम्तीमा १० दिन राख्नुपर्ने निर्णय पनि बैठकले गरेको छ। 

वीरगन्जमा कम्तीमा २ सय बेड क्षमताको कोभिड स्थायी अस्पताल निर्माणका लागि प्रदेश २ सरकारलाइ अनुरोध गर्ने निर्णय भएको श्रीवास्तवले बताए। पर्सामा यसअघि दुईपटक निषेधाज्ञा लगाइएको थियो। कोरोनाको दोस्रो लहर सुरु भएयता मंगलबारसम्म वीरगन्जमा कोरोना संक्रमणका कारण १७ जनाको मृत्यु भइसकेको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार वीरगन्जमा चैत २७ गतेयता ९ सय ९८ जना संक्रमित थपिएका छन्। पर्सामा मंगलबार अपराह्नसम्म सक्रिय संक्रमित ८ सय ४६ जना छन्। अस्पतालमा बेड नपाएका कारण ७ सय ९८ जना संक्रमित भने आआफनो घरकै आइसोलेसनमा बस्न बाध्य छन्।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.