मान्छेभित्रका मान्छे
साहित्यमा यौनको कुरा आउनासाथमन कुत्कुत्याउने यौनकथा, कविता वा उपन्यासलाई सम्झन्छौं। यौनकथा, यौनउपन्यास आदिमा यस्तै मनलाई कुत्कुत्याउने र शरीरका अंगहरू सल्बलाउने कथा हुन्छन्। पुष्कर लोहनी यस्ता लेखक हुन् जसले यौनलाई नै मुख्य केन्द्रविन्दु बनाएर साहित्य सिर्जना गरिरहेका छन्। मूलधारभन्दा फरक र सामाजिक दृष्टिकोणमा अलिकति चुनौतीपूर्णसमेत भएको हुँदा यौनका बारेमा लेख्न चाहने लेखकको संख्या तुलनात्मक रूपमा कम छ।
निरन्तर यौनसाहित्य लेखिरहेका उनको कलमबाट लेखिएको पहिलो यौनउपन्यास हो ‘अदृश्य मान्छे’।शिखा बुक्सले प्रकाशनमा ल्याएको उपन्यास मध्यम आकारको छ। उपन्यासयौनको वरपर अन्य सामाजिक व्यवहार र दायित्वहरू छन्। अनि खुसी, सुख, दुःख, पीडा, व्यथा र आँसुहरू पनि छन्। समष्टिमा उपन्यासको कथानक यौनकै सेरोफेरोमा फनफनी घुमेको छ। यता, उता, दायाँ, बाँया, माथि अनि तलबाट। जताबाट हेरे पनि केन्द्रविन्दुमा यौन नै देखिन्छ। यौनरसले रसिलो र भरिलो बनेको छ उपन्यास। जसले यौनलाई बुझेको छ र यसलाई सकारात्मक आँखाले हेर्ने गरेको छ, उसका लागि यो उपन्यास रसिलो लाग्नेछ र सामान्य लाग्नेछ। जसले यौनलाई अत्यन्त गोप्य शारीरिक क्रियाको रूपमा मात्रै बुझेको छ र यसबारेमा खुलारूपमा बोल्नुलाई अश्लीलताको चश्माले हेर्ने गरेको छ, उसका लागि भने यो उपन्यास अश्लील, छाडा र असभ्य लाग्न सक्छ।
पाश्र्व संगीतको मीठो धुनझैं शालीन र पाच्य भएर आउनुपर्ने यौन पुष्कर लोहनीको लेखनीमा आँधीबेरी भएर आउँछन्, आएका छन्। यौनलाई जतिसक्दो छोप्नुपर्छ र लुकाउनुपर्छ भन्ने मान्यता राख्ने संकीर्ण समाजसामु यौनका बारेमा यति धेरै खुलेर लेख्ने आँट गर्नु उनको दुस्साहस नै हो।उनको यौनलेखन चलनचल्तीको यौनलेखनको फ्रेमभन्दा अलि भिन्न छ। चलनचल्तीको यौनलेखन नग्नता वा अश्लीलताको आरोपबाट बच्न केही हदसम्म उपमा र बिम्बको आवरणले ढाकिएको हुन्छ। तर यो यौनलेखनमा त्यस्तो आवरणको अभाव हो कि भन्ने लाग्छ। यसमा कलात्मक मर्यादाको लक्ष्मणरेखा पार गरेर नग्न प्रस्तुति रहेको पाइन्छ। उनी निर्भिक भएर अलि बढी खुलेर लेख्छन् र खोलेरै लेख्छन्। घरभित्र वा बाहिर लुकेर गरिने यौनका कुरालाई उनी उदांगै प्रस्तुत गर्छन्। त्यसैले कसैकसैले उनलाई छाडा लेखकको आरोप पनि लगाउने गर्छन्।
उपन्यासमा फस्ने र फसाउने कुरा, अँठ्याउने कुरा, दनक दिने कुरा, भित्ता पुग्नेगरी दिने कुरा, स्वास्नी बनाउने कुरा, सुत्ने र सुताउने कुरा, पेट बोक्ने र बोकाउने कुरा, छोरा पाउने कुरा खुलेरै आएका छन्। पुरुष अथवा महिलाको यौनांगलाई ‘माल’ भनिएको छ, जब कि यसले अश्लीलता झल्काउँछ।‘साँच्चिकै नपुंसक नै रहेछौ तिमीहरू। थला पर्ने गरेर तिमीहरू पनि दिन सक्दैनौ र ? ...स्वास्नीमान्छेलाई मिजास पनि कडा माल पनि चाहिने रहेछ।’ (पृष्ठ ८०) यतिसम्मको खुलेर लेख्ने साहस अरू यौनलेखकहरूले गरेका छैनन्।
‘अदृश्य मान्छे’ मा दुइटा परिवारको कथा छ– शंकर र साहुबूढाको। यता शंकरको परिवारसँग शंकर, उसकी श्रीमती, आमा र माइली जोडिएकी छन् भने साहुबूढाको परिवारमा साहुबूढा र साउनीबूढी छन्। यी दुई परिवारसँग अरू धेरै पात्रहरू जोडिएर आउँछन्, जान्छन् सिनेमामा जस्तै। उपन्यासलाई सहज गति दिन र सिलसिला टुट्न नदिन ती अनेक पात्रहरूले सघाएका छन् र उपन्यासलाई सजाएका छन्।श्रीमती अमेरिका भासिएर अरूसँगै रमाउँदै गरेको पीडा र यौनकुण्ठाले शंकरविक्षिप्तजस्तै छ भनेसाउनीबूढीले छोरो नपाउँदा छोरो पाउने ध्याउन्नमा साउबूढा पनि अझै अर्की स्वास्नी ल्याउने ताकमा छ।
शंकरको जीवनमा बिहे गरेकी श्रीमतीभन्दा बढी प्रारब्ध र परिबन्दले जोडिन आइपुगेकी माइली धेरै नजिक भएकी छे। अन्ततः उसकै पेट बोकेर माइली उसकै स्वास्नी बनेकी छे। उतासाउनीबूढीले सन्तान नजन्माएपछि साहुबूढाले धेरैलाई स्वास्नी बनाउँछ। तैपनि सन्तान हुँदैनन्। सन्तानको आशमा साउनीबूढी पनि अर्काको लोग्नेसमेत नभनी कति जनालाई आफ्नै ओछ्यानमा सँगै सुताउँछिन्। तैपनि छोरो पाउन सक्दिनन्। माइलीको पाखुरा तान्दै साउनीबूढी भन्छिन्, ‘बूढालाई एउटा छोरो जसरी भए पनि देऊन।’ (पृष्ठ ६३)। दमित इच्छा होइन, खुला यौनको खुला उत्तेजना छ। यौन अतृप्ति र असन्तुष्टिले छटपटाएको मनस्थिति, त्यही मनस्थितिले सिर्जना गरेको असहज आचरण, असभ्य र विकृत आचरणबाटै उपन्यासको कथानक अघि बढेको छ। जिउमा तेल लगाउने बहानामा यौन सन्तुष्टि लिने काम, ख्याक र भूत बनेर यौन सन्तुष्टि लिने र दिने काम, पुरुषले महिलालाई, महिलाले पुरुषलाई अँठ्याएर आनन्द लिने कामले जीवनमा यौन कति महत्वको रहेछभन्ने दर्शाउँछ।
देखिने जीवनबाट भित्र प्रवेश गरेर नदेखिने जीवनको लुकेको वा लुकाइएको यथार्थलाई उतार्नु यो उपन्यासको उद्देश्य हो भन्ने लाग्छ। बाहिर एक खालको देखिने मान्छेको भित्री स्वभाव र आचरण अर्कै हुनसक्छ वा उस्तै पनि हुनसक्छ। यही यथार्थलाई पर्गेल्ने प्रयास यो उपन्यासमा भएको छ।
स्वेच्छामा बाँचेका स्वतन्त्र पात्रहरूको कथा हो, ‘अदृश्य मान्छे’।शंकर, शंकरकी श्रीमती, माइली, साउबूढा, साउनीबूढी, छ्याकेजस्तै अरू धेरै पात्रहरू यस्तै स्वेच्छामा स्वतन्त्र जीवन बाँचेका पात्र हुन्। यी पात्र र यिनले बोल्ने संवाद अनि उपन्यासको सिंगै कथाले परम्परागत उपन्यास लेखनको क्रमभंग गरेको छ। कताकता परम्परागत पाठकको अपेक्षाविपरीतका कथा, पात्र र संवाद छन् उपन्यासमा। त्यसैले निश्चित संरचनामा लेखिएका परम्परागत उपन्यासमा बानी परेका पाठकले ‘अदृश्य मान्छे’ लाई उपन्यास हो कि यौनशास्त्र भन्ने प्रश्न गर्न सक्छन्। विसंगत लाग्ने पात्रहरूको विसंगतिपूर्ण स्वभाव र सोहीअनुरूपको व्यवहारले पाठकको मथिङ्गल खलबलिन सक्छ। तर यो अतिशयोक्ति होइन, समाजमा लुकेको र लुकाइँदै आएको यथार्थ हो।
उपन्यासका पात्रहरू एकातिरबाट हेर्दा शिक्षित, सभ्य र सम्पन्न परिवारका उस्तै सभ्य, सुसंस्कृत र संयमित लाग्छन् भने अर्कोतिरबाट हेर्दा असभ्य, उच्छृंखल, कुण्ठित, असामान्य, अनियन्त्रित र विक्षिप्त पनि लाग्छन्। कुनै न कुनै नाता–सम्बन्धले जोडिएका यी पात्रहरूमा आपसमा विश्वास छ पनि र छैन पनि। एकका लागि अर्कोका अपरिहार्यता छ पनि र छैन पनि। स्वाभाविक लाग्ने सम्बन्धहरू अस्वाभाविक लाग्छन्। अनि अस्वाभाविक लाग्ने सम्बन्धहरू स्वाभाविक। उपन्यासका पात्रहरूले देखिने र नदेखिनेगरी एकै समयमा एकैचोटि अनेक जीवन बाँचिरहेझैं लाग्छ।
देखिने जीवनबाट भित्र प्रवेश गरेर नदेखिने जीवनको लुकेको वा लुकाइएको यथार्थलाई उतार्नु यो उपन्यासको उद्देश्य हो भन्ने लाग्छ। बाहिर एक खालको देखिने मान्छेको भित्री स्वभाव र आचरण अर्कै हुनसक्छ वा उस्तै पनि हुनसक्छ। यही यथार्थलाई पर्गेल्ने प्रयास यो उपन्यासमा भएको छ। त्यसैले उपन्यासको शीर्षक ‘अदृश्य मान्छे’ एकदमै सार्थक लाग्छ। अन्त्यमा, यसै पुस्तकको प्रकाशकीयबाट, ‘यो उपन्यास हामीमध्ये धेरैको लेख्न नमिल्ने आत्मकथाको प्रारूप हो। यो एउटा सन्दिग्धताको इमान्दार टिपोट हो।’