के छ कालो चश्मामा ?
प्रायःजसो मान्छेका आँखामा कालो चश्मा देख्छु म। त्यसो त, अधिकांश मान्छेहरू चश्मा लगाएरै हिँड्ने गरेका देखिन्छन्। तिनलाई हेर्दा प्रष्टै बुझिन्छ कि आँखा कमजोर भएका कारण आँखा जँचाएरै डाक्टरले पावरको चश्मा दिएका हुन्। बूढापाकाको त कुरै छोडौँ, के युवा के बालक, आँखा कमजोर हुनेहरूका उमेरमा कुनै सीमारेखा छैन। जुन उमेरकाले पनि लगाएका हुन्छन्। यतिसम्म त बुझियो। जहाँसम्म कालो चश्माको कुरो छ, त्योचाहिँ मान्छेले किन लगाएका होलान् भनेर बुझ्नचाहिँ अझै कठिन नै छ। कोही–कोहीले भन्ने गरेका छन्, घामले आँखा पोल्छ भनेर वा धूलोबाट–प्रदूषणबाट आँखा बचाउन लगाइएको हो। माथि उल्लेख गरिएझैँ, केही प्रतिशतमा मान्न सकिन्छ, आँखालाई बचाउन कालो चश्मा लगाइएको हुन सक्छ। यो सत्य हो भने फेरि त्यही कालो चश्मा आँखामा लगाउनुको सट्टा निधारमाथि ट्याक्क अड्याएर हिँड्नुको अर्थचाहिँ के होला ? यो पटक्कै बुझ्न सकिएन। यति त भयो–भयो, तर रातको समयमै पनि कतिपयले कालो चश्मा लगाएर हिँडेका देखिन्छन्। यसको अर्थ के होला ? शंका लाग्छ, सिनेमा हलभित्र बसेर सिनेमा हेर्दा पनि कालो चश्मा लाएरै हेर्छन् कि ! हिजोआज कालो चश्मासँगको मोह हेर्दा यस्तो लाग्छ, मान्छेहरू सुत्दा पनि कालो चश्मा लाएरै सुत्न त सुत्दैनन् ?
कालो चश्मा लगाएपछि आँखाको भाषा बुझ्न सकिन्न। आँखाहरूले के भनिरहेछन्, के खोजिरहेछन् ? दोस्रोले बुझ्न सक्दैन। कालो चश्माभित्रका आँखामा डर–त्रास छ कि लोभ–लालच छ ?
कालो चश्माको प्रसंग आउनासाथ मलाई सहासा विजय मल्लले यही ‘कालो चश्मा’ शीर्षकमा लेखेको कथाको याद आउँछ। सामाजिक विसंगतिमाथि लेखिएको यो कथामा लेखकले आफ्नी श्रीमतीलाई छिमेकी परपुरुषसँग सल्किएको पाउँछ, लसपस नै भएको देख्छ। तर ती दुईको खुशीमा लेखक कुनै व्यवधान खडा गर्दैनन्। अर्को दिन, आफ्नै उपस्थितिमा कतै उनले थाहा पाए कि भनेर श्रीमती र छिमेकी विचलित हुन्छन्, अलमलमा पर्छन्, अप्ठेरो मान्छन्। यस्तोमा लेखक सोच्छन्, बिचराहरू आफैँप्रति सशंकित छन्। उनलाई लाग्छ, उनका आँखाको निरपेक्ष भावलाई तिनीहरूले बुझ्न सकेनन्। लेखक मुसुक्क हाँस्छन्। उनीहरूका आँखामा आसक्ति छ, यौनको भोक छ, वासना छ। त्यो लेखकले प्रष्टै बुझेका छन्। त्यो बुझिएको कुरोलाई उनीहरूले भने नबुझेको देख्छन् उनी। त्यसैले आफूले थाहा पाएको भाव आँखामा नदेखियोस् भनेर तिनलाई महसुस गराउन उनलाई एउटा उपाय सुझ्छ। त्यो उपाय थियो– गगल्स, अर्थात् कालो चश्मा। लेखक संकल्प गर्छन्, तत्कालै गगल्स किनेर लगाउने ताकि आँखामा कालो चश्मा चढाएपछि आफ्नो निकटतामा पनि उनीहरूमा डरको अभास नहोस्।
कथाले दिएको सन्देश हो– समाजमा नैतिक मनुष्यको रूपबाट प्रत्यक्षतः नै पृथक् बन्ने खास हतियार हो कालो चश्मा। अब प्रश्न उठ्छ, के साँच्चै नै आजको समाज यति अनैतिक छ ? यति पथभ्रष्ट छ ? समाजका सबै घरमा के यही कथाको जस्तो चरित्र होला ? थोरै प्रतिशतमा यस्तो हुन पनि सक्छ, तर धेरै प्रतिशतमा हेर्दा यो कुरा सही हो जस्तो लाग्दैन। र, यदि यसो होइन भने अधिकांशले कालो चश्माको यतिसाह्रो प्रयोग किन गर्छन् ? खोजको विषय भएको छ।
कालो चश्मा लगाएपछि आँखाको भाषा बुझ्न सकिन्न। आँखाहरूले के भनिरहेछन्, के खोजिरहेछन् ? दोस्रोले बुझ्न सक्दैन। कालो चश्माभित्रका आँखामा डर–त्रास छ कि लोभ–लालच छ ? प्रेम छ कि घृणा छ ? माया छ कि वासना छ ? अथवा आँखा आकर्षक छन् कि क्रूर छन् ? कालो चश्माभित्र आँखै नदेखिएपछि आँखाको भाव बुझ्नु कसरी ? बुझ्न अझै सकिएको छैन, मान्यता ‘के’लाई दिइएको हो, आँखालाई कि कालो चश्मालाई ? महत्व आँखाको हो कि कालो चश्माको ? यदि आँखा महत्वपूर्णका हुन् भने आँखाले स्वतन्त्रता पाएका छन् हेर्नलाई, तिनमा चश्माको छेकबार किन ? कदाचित् आँखाभन्दा बढी महत्व चश्मा र त्यसमा पनि कालो चश्मालाई दिइएको हो भने एउटा खडाखडी प्रश्न उठाउनै पर्ने हुन्छ– कालो भनेको नराम्रो भनेर बुझिएको आजको समाजमा मान्छेको पूरै आँखा ढाक्ने गरेको त्यो कालो चश्मालाई किन त्यत्रो भाउ दिइएको हो ? त्यसै पनि त, नराम्रो दिन भन्नुपर्यो भने ‘कालो दिन’ भन्ने गरिन्छ। नराम्रो रात भन्नुपर्यो भने ‘कालो रात’ वा ‘कालरात्रि’ भनिन्छ। अनि त्यस्तो कालो चश्माले चाहिँ आँखाका लागि कसरी राम्रो भूमिका खेलेको मान्न सकिन्छ ?
कालो चश्मा लगाएको अनुहार हेर्दै मान्छेहरू भन्ने गर्छन्– ‘आहा, कस्तो सुहाएको कालो चश्मा !’ अर्कोलाई त्यस्तो सुहाएको देखेरै होला, आफ्नो फोटो खिच्नुपर्यो भने कालो चश्मा नलगाई त हुँदै हुँदैन। अर्काले लगाइराखेको भए पनि उसबाट लिएर आफ्ना आँखामा कालो चश्मा चढाएरै फोटो खिच्नुपर्छ। मानौँ, कालो चश्मा नलगाएको फोटो त साथीसँगी मात्रै होइन यो पूरै समाजको लागि बहिष्कृत भइसकेको छ। साँच्चै, कालो चश्मा नलगाएको मान्छेको फोटो हेर्न त अब पुरानो अल्बम पल्टाउनुपर्ने भइसकेको छ। नयाँ फोटोहरू खास गरेर फेसबुकमा पोष्टिएका फोटोहरू यो तथ्यलाई पुष्टि गर्न सक्षम छ।
मान्छेका आँखामा कालो चश्माको यस्तो आवश्यकता देखेर लाग्न थालेको छ– अनुहारको अंग नै भइसकेको छ त्यो। शायद सोचाइ नै यही भइसकेको छ– समाजमा पहिचान दिलाउने हतियार नै कालो चश्मा हो। थाहा छैन, कहाँ पुर्याउने हो मान्छेलाई कालो चश्माप्रतिको आकर्षणले ? कतै एक दिन कालो चश्माबिना ऐनामा आफूलाई हेर्दा आफैँलाई नचिन्ने हो कि मान्छेले ?