आफ्नै छोरीलाई बन्धक बनाउँदै करणी प्रकरण: अस्पतालको गलत रिपोर्टविरुद्ध पीडित युवतीको आपत्ती
विराटनगर: आफ्नै आमाले अपहरण गराइ दुई जना युवकबाट जबर्जस्ती करणी गराउन खोजेको भन्दै न्याय माग्न अदालत पुगेकी पीडित युवतीले आरोपितले अदालतमा गलत प्रमाण पेश गराएको भन्दै गुनासो गरेकी छन् ।
काठमाडौँस्थित बिएण्डबी अस्पतालबाट 'फेक मिति'को दर्ता बनाएर आरोपितले अदालतमा प्रमाण बुझाएको भन्दै उनले दुखेसो पोखेकी छन् । विराटनगर १० की मन्जु पौडेलले पूर्वपतिको तर्फबाट जन्मिएकी २२ वर्षीया छोरीलाई बन्धक बनाइ दुई युवक लगाएर जबरजस्ती करणी गराउन खोजेको भन्दै छोरीले मुद्दा दायर गरेकी थिइन् ।
मन्जुले अदालतमा दिएको वयानको अधारमा जिल्ला अदालत मोरङले मिति २०७७ मंसिर ११ गते बिएण्डबी अस्पताल ग्वार्को ललितपुरलाई प्रतिवादी अजय साहु समेत भएको शरीर बन्धक बनाइ जवरजस्ती करणी उद्योग मुद्दामा प्रतिवादीले वयानका साथ पेश गरेको कागजात अस्पतालबाट जारी भएको हो वा होइन भन्ने सम्बन्धमा खुलाइ जवाफ मागेको थियो ।
तर अस्पतालका प्रशासक प्रकाश कुमार भट्टराईले २०७७ सालमा भर्ना भइ चैत्र २१ गतेसम्म उपचार भएको कागजात बनाएर दिएपछि पीडित छोरीले आपत्ती जनाएकी हुन् ।
मुद्दा २०७६ सालमा मोरङ प्रहरीमा जाहेरी दिएपछि जिल्ला अदालतमा पुगेको थियो । तर प्रतिवादीले अस्पतालबाट कागजात बनाएको मिति र घटनाको मिति नै भिन्न समय भएकाले झुटो प्रमाण दिने अस्पताललाई समेत कारवाही हुनुपर्ने ती पीडित युवतीको माग छ ।
प्रतिवादी पौडेलले २०७७ जेठ २० गते न्यायधीश समक्ष समेत वयानमा २०७६ साल फागुन ६ गते भन्दा पहिलेदेखि २४ र २५ गतेसम्म सो अस्पतालमा उपचार गराएको र पूर्जा समेत पेश गरेकी छन् । तर अलादलले सो अस्पतालाई प्रतिवादी द्वारा पेश गरेको कागजात जारी भएको हो वा होइन भनेर जवाफ माग्दा पत्र सख्या ०७७/७८ चलानी नम्बर ००६४ मिति २०७७ साल ११ महिना १० गतेको पत्रमा २०७७ साल फागुन ६ गते देखि २१ सम्म भर्ना भएको ब्यहोरा पठाएपछि पीडितले झुटो प्रमाण दिने अस्पताललाई कारवाही गर्नुपर्ने माग गरेकी हुन् ।
पूर्वपतिबाट जन्मेकी छोरी विराटनगरमा भेट्न आएको बेला पौडेलले आफ्ना केटा साथीसँग कोठामा थुनेर जबरजस्ती यौन सम्बन्ध गराउन लगाएको भन्दै मन्जु पौडेलमाथि मुद्दा परेको थियो । पौडेलका एक छोराले कोठाको ढोका खोलेर उनलाई उद्धार गरेपछि जिल्ला प्रहरी मोरङमा पीडित युवतीले उजुरी दिएकी थिइन् ।
पीडित युवतीले आमा पौडेल, सुनसरीको इनरुवा ९ बवियाका अजय साहु र विराटनगर १० शान्ती टोलका सुरज रायविरुद्ध प्रहरीमा उजुरी दर्ता गराएकी हुन् । जिल्ला प्रहरी मोरङले छानबिनपछि तीनै जनाविरुद्ध जिल्ला अदालत मोरङमा शारीर बन्धक तथा जबरजस्ती मुद्दा दर्ता गराएको थियो ।
तर उक्त मुद्दामा अदालतले कोरोनाको कारण देखाउँदै पौडेल र अजयलाई १/१ लाख र सुरजलाई ५० हजार धरौटीमा छाडेपछि घटनाले अर्कै मोड लिनसक्ने भन्दै पीडित युवतीले पत्रकार सम्मेलन गर्दै आफूले न्याय पाउनुपर्ने भन्दै आह्वान गरेकी हुन्।