नाकामा न होल्डिङ, न क्वारेन्टाइन
झापा : पूर्वी नाका काँकडभिट्टामा होल्डिङ सेन्टर र क्वारेन्टाइन नहुँदा भारतबाट आएका व्यक्तिहरू सिधै घरतिर गइरहेका छन्।
भारतमा दैनिक कोरोना संक्रमित ४ लाख नाघेको छ। दैनिक २ हजारभन्दा बढी व्यक्तिको कोरोनाकै कारण ज्यान गइरहेको छ। तर, त्यहाँबाट फर्किने नेपालीलाई होम आइसोलेसनमा बस्ने सर्तमा नाकाबाट पठाउने गरिएको छ। यहाँको नाकामा नेपाली सेनाले निर्माण गरेको होल्डिङ सेन्टरको क्षमता न्यून भएकाले यसलाई एन्टिजेन परीक्षण कक्ष मात्रै बनाइएको छ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टाको तथ्यांकअनुसार भारतबाट दैनिक ६०० हाराहारी व्यक्ति नेपाल प्रवेश गरिरहेका छन्।
भारतबाट आएर काँकडभिट्टा नाकामा एन्टिजेन पोजेटिभ आएकाहरूलाई पनि सार्वजनिक यातायातमार्फत घर पठाउने गरिएको काँकडभिट्टा प्रहरी प्रमुख सुनील दाहालले बताए। ‘हामीलाई जे आदेश आउँछ त्यही गर्ने हो।
भारतबाट आएकालाई सार्वजनिक अथवा निजी सवारीमा प्रतिसिट बराबर १ जना राखेर पठाउने गरिएको छ’, दाहालले भने।
मेचीनगर नगरपालिकाले कोरोनाको पहिलो लहरमा सबै वडामा व्यवस्थित क्वारेन्टाइन सञ्चालन गरेको थियो। दोस्रो लहर तीब्र रुपमा फैलिरहँदा एउटा पनि क्वारेन्टाइन स्थापना गरेको छैन। क्वारेन्टाइन नभएका कारण नाकामा सामान्य स्वास्थ्य परीक्षणकै भरमा भारतबाट आएका व्यक्तिहरू देशका विभिन्न भागमा पुगिरहेका छन्।
‘अहिलेसम्म क्वारेन्टाइन स्थापना भएको छैन,’ मेचीनगरका स्वास्थ्य शाखा प्रमुख रामनारायण यादबले भने, ‘भारतबाट आउनेलाई केही दिन होम क्वारेन्टाइनमा बस्नुहोला भनेर पठाउँछौं।’ यादवका अनुसार एन्टिजेन पोजेटिभ देखिएकालाई समेत सुरक्षित भएर जानु भन्दै सार्वजनिक यातायातमा सम्बन्धित जिल्लामा पठाउने गरिएको छ।
कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रले पूर्वी नाका काँडभिट्टामा कम्तीमा १ हजार जना क्षमताको होल्डिङ सेन्टर निर्माण गर्ने निर्णय गरे पनि आइतबार मध्यान्ह्सम्म कार्यान्वयन भएको छ। त्यस्तै जिल्लास्तरिय कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र झापाको वैशाख १३ गतेको निर्णयले जिल्लाका सबै पालिकाले कम्तीमा १ सय जना क्षमताको क्वारेन्टाइन र कम्तीमा ५० बेडको अक्सिजन सहितको आइसोलेसन वार्ड निर्माण गर्नुपर्ने निर्णय गरेको थियो।
झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाका अनुसार जिल्लाका सबै स्थानीय तहहरू तीब्र रुपमा लागिपरेका छन्। ‘अबको १ हप्ता भित्रमा अक्सिजन सहितको आइसोलेशन वार्ड हरेक स्थानीय तहमा सुचारु हुनेछन्’, तिमिल्सिनाले भने।