झापामा आजदेखि निषेधाज्ञा
झापा : झापामा आइतबार राति १२ बजेदेखि निषेधाज्ञा लागू भएको छ । निषेधाज्ञा वैशाख २६ गते राति १२ बजेसम्म जारी रहने जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाका अनुसार सोमबार बिहानदेखि अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन पाइने छैन ।
आशिंक निषेधाज्ञा भनिएको झापामा आजदेखि सार्वजनिक तथा निजी यातायातहरू भने जोर बिजोर गरेर सञ्चालन भएका छन् । अत्यावश्यक सामाग्री स्वास्थ्य, खाद्यान्न, पानीलगायतका सवारीसाधनमा भने जोर बिजोर प्रणाली लागू हुने छैन ।
त्यस्तै हाट बजार, सभा सम्मेलन, पर्व उत्सव, जात्रा लगायत भीडभाड हुने कार्य पूर्णरुपमा रोक लगाइएको छ । अत्यावश्यक सेवाका सवारी साधन र सञ्चारकर्मीहरुका लागि भने आफ्नो परिचय पत्र बोकेर सवारी साधन चलाउन सकिने प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले जानकारी दिए । जिल्लामा कोरोनाको संक्रमण तीव्ररुपमा फैलिन थालेपछि वैशाख १७ गते जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको आदेश जारी गरेको थियो ।
प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाका अनुसार निषेधाज्ञा उल्लंघन र आदेशको अवहेलना गर्ने वा काममा बाधा पुर्याउने व्यक्तिलाई संक्रमण रोग नियन्त्रण ऐन २०२० तथा प्रचलित कानुनबमोजिम सजाय हुने छ।