आठ वर्षदेखि खोरमा बालक

आठ वर्षदेखि खोरमा बालक

फिदिम : एकान्त गाउँमा एउटा घर । घरको छेउपट्टी सानो मतान । मतानको मुनिबाट बाँसको भाटाले बारेको खोर । भत्कन लागेको खोरभित्र एउटा बालक चारपाउ गरिरहेको दृश्य निकै दर्दनाक देखिन्छ । ती बालक चार पाउ गरेर चुपचाप खोरभित्र वरपर गरिरहन्छन् । उनको बोली आउँदैन । यी बालकले खोरभित्र पशुतुल्य जीवन विताएको आठ वर्ष भइसकेछ।

हिलिहाङ गाउँपालिका ६ किवाका भीमप्रसाद थोक्लिहाङका १२ वर्षीय नाति सुसन विगत आठ वर्षदेखि खोरमा थुनिएका हुन् । भीमप्रसादकी जेठी छोरी जुनिशाको कोखबाट सुसनको जन्म भएको थियो । १२ वर्षीय सुसनले अहिलेसम्म आफ्नो बुवा पाउन सकेका छैनन् । उनले बुवा चिन्न र देख्न नपाएका हुन् । 

अविवाहित हुँदै जुनिशाले सुसनलाई जन्माएकी थिइन् । सुसनकी हजुरआमा ललिताकुमारी थोक्लिहाङका अनुसार सुभाङ निवासी छवि योङहाङसँगको शारीरिक सम्पर्कबाट जुनिशाले सुसनलाई जन्माएकी हुन् । 

‘नाती जन्मिएपछि छबि योङहाङलाई छोरी जिम्मा दिन खोज्यौं,’ ललिता कुमारीले भनिन्, ‘छबिको घरमा जेठी श्रीमती भएकाले उनले छोरी र नातीलाई स्वीकार गर्न मानेनन् । त्यसपछि उनी हाम्रो सम्पर्कमा छैनन् ।’ 

बच्चा र आमा जिम्मा दिन खोजेपछि छबि सम्पर्कविहीन भएको उनीहरुको आरोप छ । सुसनकी आमा जुनीसाले पोखराका एक पुरुषसँग विवाह गरिसकेकी छिन् । सुसनले  मामली घरमा खोरमा थुनिएर दिन कटाइरहेका छन् । 

सुसनको स्वास्थ्यमा समस्या आएपछि उनी खोरमा थुनिन बाध्य भएका हुन् । सुसनका मामा जुरेर थोक्लिहाङका अनुसार सानोमा सुसन निकै तेजिला थिए । उनी बाल विकास केन्द्रमा पढ्ने गर्थे । ‘भाञ्जो एक दिन अचानक बिरामी भए,’ जुरेनले भने, ‘बिरामी भएर ओछ्यान परेपछि भाञ्जो कहिल्यै उठेनन् ।’ बिरामी परेपछि सुसनको बोली हराएको र मानसिक सन्तुलन गुमेको परिवारको भनाइ छ । सुसन चार वर्षको हुँदादेखि बिरामी परेका थिए । 

‘भाञ्जोको उपचारका लागि हामीले धेरै प्रयत्न गर्यौं,’ जुरेनले भने, ‘उपचार नलागेपछि भाञ्जोलाई खोरमा राख्न बाध्य हुनुपरेको हो ।’  सुसन अहिले कुजिन थालेका छन् । उनी राम्रोसँग हिँड्न पनि नसक्ने अवस्थामा छन् । 

सुसन खोरभित्रै खान्छन् र खोरभित्रै फोहोरमैला गर्छन् । बाहिर निकाल्दा जथाभावी हिँड्ने र लडेर चोटपटक लाग्ने भएकाले सुसनलाई खोरमा थुन्नु परेको उनीहरु बताउँछन् । 

हजुरआमा ललिताकुमारीले सुसनलाई कहिलेकाँही खुवाउने गर्छिन् । ‘उसको बाबुले पनि जिम्मा लिएन,’ ललिता कुमारीले भनिन्, ‘नातीको स्वास्थ्य बिग्रिएपछि मेरो हुर्मत भएको छ ।' राम्रो उपचार पाए नातीले नयाँ जीवन पाउन सक्ने ललिता कुमारीको आशा छ । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.