बूढानीलकण्ठमा कांग्रेसको पदाधिकारी बैठक, पेरिसडाँडामा माओवादीको स्थायी समिति

बूढानीलकण्ठमा कांग्रेसको पदाधिकारी बैठक, पेरिसडाँडामा माओवादीको स्थायी समिति

काठमाडौं : प्रधानमन्‍त्री केपी ओलीको पछिल्लो कदमबारे रणनीति बनाउन  प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र माओवादी केन्द्र आन्तरिक छलफलमा जुटेका छन्। 

कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार अपरान्ह पदाधिकारी बैठक बोलाएका छन् । देउवानिवास बूढानीलकण्ठमा बस्‍ने बैठकमा आकस्मिक रुपमा बोलाइएको संसद् अधिवेशन  र प्रधानमन्त्रीले विश्वासको मत लिने कदमका विषयमा छलफल हुनेछ। 

त्यसैगरी नेकपा माओवादी केन्द्रले स्थायी समिति बैठक बोलाएको छ । पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार दिउँसो स्थायी समिति बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। बैठकमा विश्‍वासको मत लिने ओलीको कदमबारे छलफल हुनेछ। 

गत सोमबार आकस्मिक रुपमा मन्‍त्रिपरिषद् बैठक बोलाएर ओलीले विश्‍वासको मत लिने जानकारी गराएका थिए। ओलीको सिफारिसअनुसार वैशाख २७ गते संसद् अधिवेशन पनि आव्‍हान भइसकेको छ।

ओलीले विश्‍वासको मत लिने निर्णय गरेपछि सोमबार कांग्रेस सभापति देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच टेलिफोनमा छलफल भएको थियो। कांग्रेस र माओवादीले जसपा र एमालेभित्रको विद्रोही समूहको समेत लिएर अविश्‍वास प्रस्ताव ल्याउने तयारीमा जुटिरहेका बेला ओलीले चालेको यो कदमपछि उनीहरू नयाँ रणनीतिमा लागेका छन्। सर्वोच्चले संसद् पुनर्स्थापना गरेको दुई महिनासम्म विपक्षीले कुनै कदम नचालेपछि ओली आफै अग्रसर भएर विश्‍वासको मत लिन लागेका हुन्।

माओवादीले समर्थन फिर्ता नलिइकन विश्‍वास मत लिन ओली हतार गर्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ। नेकपाको एकता भंग गर्ने सर्वोच्च अदालतको फागुन २३ को फैसलापछि संविधानको धारा ७६ (१) अनुसारको प्रतिनिधिसभामा बहुमत प्राप्त दलको प्रधानमन्त्रीको  त्यो हैसियत समाप्त भएको थियो। ओली अहिले संविधानको धारा ७६ (२) को प्रधानमन्त्रीका रुपमा छन्।

यो सरकारलाई माओवादी केन्द्रको पनि समर्थन छ। समर्थन फिर्ता लिएपछि ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ। विश्वासको मत पाउन नसके आफ्नै नेतृत्वमा ठूलो दलको हैसियतले अल्पमतको सरकार बन्‍ने र त्यसपछिको राजनीतिक भ्याकुमलाई उपयोग गर्दै प्रतिनिधिसभा विघटन गर्ने रणनीतिमा ओली देखिन्छन्।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.