पूर्वाधारको काम धमाधम

पूर्वाधारको काम धमाधम

जोमसोम : कोरोना कहरले सिंगो मुलुक प्रताडित भइरहेको अवस्थामा हिमाली जिल्ला मुस्ताङमा भने पूर्वाधार विकासको काम धमाधम अघि बढेको छ। कोरोनाको दोस्रो लहरले जिल्लावासीमा आंशिक त्रास फैलिए पनि विकास निर्माणको काममा भने खासै बाधा  नपुर्‍याएको सम्बन्धित कार्यालयले जनाएका छन्।

विगत एक वर्ष लामो कोरोना कहरपछि विस्तारै लयमा फर्किंदा विकास निर्माणको कामले गति लिएको थियो। कोरोना महामारी कम भइरहेको र मुस्ताङमा गर्मीयाम सुरु भइसकेकाले जिल्ला बाहिरका कामदार मुस्ताङमा भित्रिसकेका थिए। कोरोनाको दोस्रो लहर फैलिए पनि कामदार मुस्ताङमा रहँदा विकासको काममा अप्ठ्यारो नपरेको ती कार्यालयहरूले जनाएका छन्। 

पाँच स्थानीय तह रहेको हिमाली जिल्ला मुस्ताङमा संघ, प्रदेश र स्थानीय तहका करिब तीन सयभन्दा बढी विकास योजना छन्। यस्तै, प्रदेश सरकार भौतिक पूर्वाधार विकास कार्यालय मुस्ताङको १४ योजना र खानेपानी, जलस्रोत तथा सिँचाइ सबडिभिजन कार्यालयको साना/ ठूला तीन सय योजना छन्। 

भौगोलिक रूपले विकट मानिएको उपल्लो मुस्ताङको लोमान्थाङ गापामा संघीय आयोजनाअन्तर्गत लोमान्थाङ—५ को ५ शय्याको आधारभूत अस्पताल र लोमान्थाङ—४ को किम्लिङ  युनिफाइट स्कुलको टेन्डर भई ठेक्का सम्झौतामा छ। संघीय निर्वाचन क्षेत्र विकास कोषको स्थानीय भौतिक पूर्वाधार साझेदारीको ४ करोड बजेटमध्ये लोमान्थाङमा ६८ लाखको काम भइरहेको जनाइएको छ। त्यहाँ प्रदेश निर्वाचन क्षेत्र विकास पूर्वाधार विकास कार्यक्रमअन्तर्गत हुने विकास कामसमेत भइरहेको छ। 

त्यस्तै, प्रदेशको ससर्त र समपूरक अनुदानका कार्यक्रम पनि सञ्चालनमा रहेको निमित्त प्रशासकीय अधिकृत इन्जिनियर सुरेश घिमिरेले जानकारी दिए। लोमान्थाङमा संघ, प्रदेश र स्थानीय तहको कुल ५१ योजनामध्ये करिब ३ दर्जन योजनाका काम जारी रहेको छ। जसमध्ये स्थानीय उपभोक्ताले जिम्मा लिएको काम बढी छन्। उनले मुस्ताङका ५ वटै तहमा संघ, प्रदेश र स्थानीय तहको ५० /६० वटा विकास योजनाको काम रहेको जनाए।

संघीय सरकारअन्तर्गत राष्ट्रिय योजना आयोगबाट विनियोजन भएको योजनामा घरपझोङमा २ वटा र लोघेकर दामोदरकुण्ड गापामा चार वटा योजना छन्। जसमध्ये जोमसोम बजार संरक्षणका लागि बृहत् कालीगण्डकी नदी तटबन्ध निर्माणको काम कोरोना महामारीमा पनि धमाधम भइरहेको छ।

तर, आयोगबाटै निर्माण सुरु गरिएको घरपझोङ भ्यु टावर सिंढी बाटोको काम भने रोकिएको छ। आयोगको बजेटमा लोघेकर दामोदरकुण्डमा घिलिङ स्कुलको छात्रबास, घमी स्कुलको कक्षाकोठा निर्माण, ढाक्मर नदी तटबन्ध र यारा/घारा र ढिमा खेत पर्खाल निर्माणको काम भइरहेको छ। आर्थिक वर्ष २०७७/०७८ मा विनियोजित बजेटको दोस्रो चौमासिक कटेपछि बजेट फ्रिज सम्भावना रहेकाले समेत स्थानीय तह र विकास योजनाका कार्यालयले निर्माणको कामलाई तीव्रता दिइएको हो। 

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकामा पनि संघ, प्रदेश र स्थानीय तहको विकासको काम भइरहेको जनाइएको छ। पूर्वाधार विकास कार्यालय मुस्ताङको कुल १४ विकास योजनामध्ये ८ योजनाको काम कोरोना महामारीको बीचमा समेत धमाधम सञ्चालन भइरहेको जनाइएको छ। पूर्वाधार विकास कार्यालयको बहुवर्षीय योजनाअन्तर्गतका २ वटा सडक पुल र ६ थान सडक योजनाको काम अहिले भइरहेको कार्यालय प्रमुख विष्णु पौडेलले जानकारी दिए। 

उनका अनुसार थासाङ गाउँपालिकाको धम्पु/कोखेठाँटी सडक पुल र वारागुङ मुक्तिक्षेत्रको डोल्पा जोड्ने एक्लेभट्टी/पाक्लिङ सडक पुलको कामले गति लिएको हो। सडक स्तरोन्नतितर्फ घरपझोङ, ठिनी, ढुम्बा र छैरो/चिमाङ जोड्ने रिङरोड र उपल्लो मुस्ताङको लोमान्थाङ, सम्जुङ/नेचुङ जोड्ने रिङरोड सडकको कामसमेत कोरोना महामारीमा समेत काम नरोकिएको कार्यालय प्रमुख पौडेलले बताए।

यस्तै, पूर्वाधार कार्यालयअन्तर्गत थासाङको लेते/छयो/कुञ्जो/टिटी ताल सडक र वारागुङ मुक्तिक्षेत्र गापाको कागबेनी/झोङ, छेङ्गुर/मुक्तिनाथ जोड्ने सडक स्तरोन्नतिको काम समेत जारी छ। कार्यालय प्रमुख पौडेलले सडक पुल, झोलुंगे पुल र सडक स्तरोन्नतिका बाँकी ६ वटा योजनाको काम भने जनशक्ति अभाव हुँदा रोकिएको बताए।  प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गतका कुल ३१ योजनामध्ये आंशिक योजनाको काम मात्र भएको छ। यी योजनाहरू ५ लाखदेखि २५ लाखसम्म बजेटका छन्।

पूर्वाधार विकास कार्यालय प्रमुख पौडेलले कार्यालयको पूर्वाधार विकास योजनाको काम सुरु भइरहेकोमा कोरोनाको कारण योजनाहरू शिथिल हुने सम्भावना रहेको आकलन गरे। उनले मौसमी अनुकूलतासँगै सुरु भइरहेका योजनाहरू जनशक्ति घट्दै जान सक्ने भएकाले विकासको काममा असर पुग्न सक्ने उल्लेख गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.