जनप्रतिनिधिका गाडी एम्बुलेन्स

जनप्रतिनिधिका गाडी एम्बुलेन्स

बुटवल : कोरोना संक्रमित बोक्ने एम्बुलेन्स अभाव भएपछि रूपन्देहीका तीन स्थानीय तहका जनप्रतिनिधिले आफू चढ्ने गाडी उपलब्ध गराएका छन्। तिलोत्तमा नगरपालिका, सिद्धार्थनगर नगरपालिका र सियारी गाउँपालिकाका सवारी साधनलाई एम्बुलेन्सका रूपमा प्रयोग गर्न थालिएको हो। 

सियारी गाउँपालिका अध्यक्ष अयोध्या थारू र उपाध्यक्ष अमृता गुरुङले दुई स्कार्पियोलाई बिरामी बोक्ने बनाएका छन्। ‘अहिलेको प्राथमिकता भनेको बिरामीको सेवा गर्नु हो’, उपाध्यक्ष गुरुङले भनिन्, ‘बिरामीले एम्बुलेन्स नपाएर मर्नुपर्ने अवस्था हुनुहुँदैन भनेर गाडी बिरामी बोक्ने निर्णय गरिएको छ।’

तिलोत्तमा नगरपालिकाका नगर प्रमुख वासुदेव घिमिरे र उपप्रमुख जागेश्वरी चौधरीले चढ्दै आएका गाडी कोरोना संक्रमित बोक्न प्रयोगमा ल्याएका छन्। तिलोत्तमामा दुई एम्बुलेन्ससमेत सञ्चालनमा छन्। नगर प्रमुख र उपप्रमुखले चढ्ने दुई गाडीसमेत चारवटा सवारी साधनले कोरोना संक्रमित बोक्नेछन्। छिटोछरितो रूपमा सेवा दिन आफू चढेको गाडी कोरोना संक्रमितका लागि प्रयोगमा ल्याइएको नगर प्रमुख घिमिरेले बताए।

महामारी नहट्दासम्म वैकल्पिक व्यवस्था गरी आफू जनताको सेवामा जुट्ने उपप्रमुख चौधरीले बताइन्। संक्रमितलाई अन्य साना सवारीसाधनले सजिलै अस्पताल वा आइसोलेसनमा नपुर्‍याउँदा समस्या बढ्दै गएको पाइएकाले यो निर्णय गरिएको नगर प्रमुख र उपप्रमुखको भनाइ छ। 

नगर प्रमुख चढ्ने लु.१ झ ३६० र उपप्रमुख चढ्ने लु.१झ ३२६ नम्बरको स्कार्पियो कोरोना संक्रमितलाई बोक्न प्रयोगमा ल्याइएको छ। यस्तै नगर प्रहरीले प्रयोग गर्ने लु.१झ ४७२ पनि कोरोना व्यवस्थापनमै प्रयोग हुनेछ। यी सवारी साधनलाई समेत २४ सैं घण्टा सेवा प्रवाहमा प्रयोग गरिने स्वास्थ्य शाखाले जनाएको छ। 

तिलोत्तमाका एम्बुलेन्स र थप दुई सवारी साधन स्वास्थ्य शाखामार्फत परिचालन गरिने भएको छ। ‘हामीले जनताकै काम गर्न जनताकै करले किनेका गाडी चढेका हौं। अहिले परिस्थिति असामान्य छ। कोरोनाका बिरामीलाई जोकोहीले बोक्न मान्दैनन्। यसैले जनताकै सम्पत्ति जनताकै सेवामा लगाउने निष्कर्षमा पुगेका हौं’, नगर प्रमुख घिमिरेले भने, ‘केही दिन हामी साइकलै चढेर हिँडे पनि फरक पर्दैन। सवारी साधन अभावमा समयमै अस्पताल वा आइसोलेसनमा पुर्‍याउन नपाउँदा कुनै नगरवासीको ज्यान जोखिममा नपरोस् भन्ने हाम्रो उद्देश्य हो।’ 
तिलोत्तमाले शंकरनगरमा ४० बेड क्षमताको नेपाल सरकारले तोकेको एक तहको कोरोना अस्पतालको सेवा दिने गरी आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको छ। यस्तै वडा नं. ९ मा रहेको सभाहलमा थप ६० बेडको आइसोलेसन गराउने गरी काम अघि बढाएको छ। 

सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारीले आफू चढ्ने गाडीलाई एम्बुलेन्सका रूपमा प्रयोग गरेका छन्। बिरामीको सहजताका लागि आफ्नो गाडीलाई बिरामी बोक्न प्रयोग गरेको अधिकारीले बताए।

रुपन्देहीमा व्यक्तिगत गाडीलाई पनि निःशुल्क बिरामी सेवामा प्रयोग गरिएको छ। सिद्धार्थनगर उद्योग वाणिज्य संघका उपाध्यक्ष नेत्र आचार्य र कार्यसमिति सदस्य मंगल भण्डारीले निजी गाडीलाई एम्बुलेन्सका रूपमा प्रयोग गरेका छन्। ‘समस्यामा परेकालाई सहयोग गर्ने गरी निःशुल्क सेवा सुुरु गरेका छौं’, व्यवसायी आचार्यले भने। दुई व्यवसायीले बुटवल भैरहवा क्षेत्रका बिरामीहरूलाई सहयोग गरिरहेका छन्।

नवलपरासी पूर्वमा केही दिनअघि एम्बुलेन्स नपाउँदा ट्र्याक्टरमा बिरामी बोकिएको थियो। ती बिरामीको ट्र्याक्टरमै मृत्यु भएपछि स्थानीयले देवचुली नगरपालिकाका जनप्रतिनिधिप्रति आक्रोश व्यक्त गरेका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.