‘कोरोना हटस्पट’ बन्यो तोक्मेडाँडा

ताप्लेजुङ : ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारको प्रवेशद्धार हो, तोक्मेडाँडा। प्रसिद्ध तिर्थस्थ पाथीभरा, कञ्चनजंघा हिमालसहितका पर्यटकिय स्थल जाने पर्यटक यहिँबाट जिल्ला प्रवेश गर्छन् भने जिल्लाका प्रत्येक गाउँ जाने सवारी यहँबाट छुट्छन्। फुङलिङ नगरपालिका–४ मा पर्ने यहि तोक्मेडाँडा क्षेत्र कोरोना भाइरसको ‘हटस्पट’ बनेको छ।
टोलका ५८ जनाको पीसीआर परीक्षण गर्दा ४८ जना (८२.७५ प्रतिशत) को रिपोर्ट पोजेटिभ आएको छ। ‘तोक्मेडाँडाका हरेक जसो घरमा कोरोनाका बिरामी छन्,’ स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत प्रतिमा खरेलले भनिन्, ‘यसले हामी सबैलाई झस्काएको छ।’
‘यहि रफ्तारमा बढ्ने हो भने स्थिती नियन्त्रण बाहिर जान सक्छ। त्यसैले सर्वसाधारण आफै सचेत हुन र मनोबल उच्च राख्न आवश्यक छ,’ स्थानीय सन्दिप सुवेदीले भने। नौ स्थानीय तह रहेको जिल्लाका फुङलिङ नगरपालिकामा मात्रै कोरोना संक्रमित छन्। यहाँ सक्रिय संक्रमितको संख्या बिहीबारसम्म १ सय ६ छ। अन्यमा हालसम्म संक्रमण पुष्टि भएको छैन। मिक्वाखोला गाउँपालिकाका २० जनाको पीसीआर परीक्षण गरिएकोमा बुधबार सबैको रिपोर्ट नेगेटिभ आएको थियो।
नगरका वडा नं.९, वडा नं. १०, वडा नं. ११ र वडा नं. १ बाहेक बाँकी ७ वटै वडामा कोरोना संक्रमणका बिरामी पाइएको छ। सबैभन्दा बढी वडा नं ४ मा ६० जनाभन्दा माथी रहेका छन्। उमेरका हिसाबले ८ वर्षका बालकदेखि ८५ वर्षिया वृद्धासम्ममा संक्रमण देखिएको छ। संक्रमित सबै आफूहरुको नियमित सम्पर्कमा रहेको फुङलिङका मेयर छत्रपति प्याकुरेलले बताए।
‘बिहीबार पुष्टि भएका तोक्मेडाँडाका ४८ सहित सबै संक्रमितहरुलाई मैले आफैं फोन गरेर जानकारी लिइरहेको छु। हाम्रो स्वास्थ्य शाखा र स्वास्थ्य कार्यालयले पनि सम्पर्क गरिरहेको छ,’ प्याकुरेलले भने, ‘केहि अगाडि सामान्य लक्षण देखिएको भएपछि अहिले सबै जना होम आइसोलेसनमा सकुसल बस्नुभएको छ।’
समयमै सबैको ध्यान नपुग्दा संक्रमण फैलन बल पुगेको उनको भनाई छ। ‘उहाँहरुले पनि सुरुमा बिरामी छौं, भन्नुभएन। हामीले पनि एक्कसी यसरी फैलिएला भन्ने सोचेनौं,’ उनले भने। प्रत्येक वडाममा वडाध्यक्षको संयोजकत्वमा निगरानी समूह बनाइएको र कसैलाई लक्षण देखिए सचेत गराउनुकासाथै उपचारको दयरामा ल्याउन भनेको उनले बताए।
कोही संक्रमितलाई आइसोलेसनमा राख्नुपर्ने भए नगरपालिकाले १५ शैयाको आइसोलेसन कक्ष बनाएको मेयर प्याकुरेलले बताए। छिमेकी पहाडी जिल्लाहरु इलाम, पाँचथर, तेह्रथुमको तुलनामा ताप्लेजुङको फुङलिङमा उच्च संख्यामा संक्रमण बढिरहेको छ। बैसाख नौ गतेयता चार जनाको मृत्यु नै भइसकेको छ।
सर्वसाधारणको लापरवाही र सरोकारवालाको तयारी नपुगेर नै संक्रमण व्यापक बनेको जिल्ला अस्पतालका प्रमुख सोनिङ लामा बताउँछन्। कोरोनाको दोस्रो लहर आउँदैछ भन्ने पूर्वानुमान हुँदाहुँदै पनि सावधानी नअपनाउँदा भूसको आगोझैं संक्रमण फैलिएको उनले बताए। संक्रमण उच्च हुनुमा स्थानीयकै लापरवाही प्रमुख रहेको पाथीभरा क्याम्पसका सहप्राध्यापक सजन पौडेल बताउँछन्। कोरोनाको लक्षण देखिएपछि पनि हिडहुल गर्ने, मास्क नलगाउने, परीक्षण नगराउने, जस्ता कार्यले संक्रमण फैलनमा बल पुगेको उनको भनाई छ।
५० प्रतिशतलाई लक्षणसहितको संक्रमण देखिएको खरेलको भनाई छ। ‘अधिकांशलाई ज्वरो, टाउको दुख्ने, रुघाखोकीको लक्षण छ। स्वास्थ्यका मापदण्ड अपनाएर सुरक्षित बस्न सुझाव दिएका छौं,’ उनले भनिन्। मृत्यु भएका ४ जनामध्ये सबै दिर्घरोगी रहेको अस्पतालका प्रमुख डा. लामा बताउँछन्। भन्छन्, ‘उहाँहरुमा मधुमेह, उच्च रक्तचाप, मुटुरोगको समस्या थियो।’
एकै टोलमा तीन जना संक्रमितको मुत्यु हुँदासमेत निषेधाज्ञा नगरिनु, विद्यालयको परीक्षा नरोक्नु संक्रमण फैलनुका कारण रहेको स्थानीय संजय पतङ्वा बताउँछन्। परीक्षणको दायरा अझै बढाउन उनको माग छ। ‘अझैँ ढिला भएको छैन। बैशाख २७ गतेसम्म जारी निषेधाज्ञालाई लम्ब्याएर परीक्षण व्यापक बनाउनुपर्छ,’ उनले भने। निषेधाज्ञालाई अझै कडाई गर्ने र कसैले उल्लङ्घन गरे कारवाही गर्ने प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए।
प्रतिक्रिया दिनुहोस !
