आफू चढ्ने गाडी एम्बुलेन्स बनाउने प्रजिअ जोशीको घोषणा
दार्चुला : दार्चुलाका प्रमुख जिल्ला अधिकारी शिद्धराज जोशीले आफूले चढ्ने गाडीलाई महामारीमा बिरामी बोक्ने एम्बुलेन्सको रुपमा प्रयोग गर्ने घोषणा गरेका छन्। कोरोना महामारीमा बिरामीलाई एम्बुलेन्सको अभाव हुन नदिन प्रजिअ जोशीले यस्तो घोषणा गरेका हुन्।
प्रमुख जिल्ला अधिकारी जोशीले जिल्ला प्रशासन कार्यालय दार्चुलाको बा २ झ ६७ नम्बरको गाडी कोरोना भाइरस संक्रमित बाहेकका बिरामीलाई बोक्ने गरी एम्बुलेन्सको रुपमा प्रयोग गरिने बताए।
शुक्रबार जिल्ला प्रशासन कार्यालय दार्चुलामा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र दार्चुलाको बैठकमा प्रजिअ जोशीले आफूले चढ्दै आएको गाडीलाई बिरामी बोक्ने एम्बुलेन्सको रुपमा प्रयोग गर्ने घोषणा गरेका हुन्।
देशैभर कोरोनाको महामारी फैलिरहेको अवस्थामा अस्पताल तथा स्थानीय तहसँग हुने एम्बुलेन्स अभाव हुन नदिन कोरोना संक्रमित बाहेकका बिरामीलाई बोक्न उक्त गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गरिने प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले घोषणा गरेको नगर प्रमुख हंस राज भट्टले बताए ।