गोकुलेश्वरमा थप एक कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ७ पुग्यो
दार्चुला : दार्चुलामा शनिबार राती थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।
जिल्लाको नौगाड गाउँपालिका वडा नम्बर ५ घर भएका ७२ वर्षीय पुरुषको अस्पताल पुर्याउनेबित्तिकै मृत्यु भएको गोकुलेश्वर अस्पतालका डाक्टर नियाज अन्सारीले बताए । 'शनिबार राति साढे ९ बजे नौगाडका एक ७२ वर्षीय पुरुषलाई आफन्तहरुले अस्पताल पुर्याएका थिए', उन्ले भने, 'उहाँको गोकुलेश्वर अस्पताल पुर्याएको ५ मिनेटमै मृत्यु भयो।'
मृतक पुरुषमा एन्टिजेन परीक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ आएको थियो। गाउँमा पसल सञ्चालन गर्दै आएका संक्रमित पुरुषको भारतबाट फर्किएकाहरुसँग भेटघाट हुने गरेको आफन्तहरुले बताएका छन् । कोरोनाको लक्षण पनि देखिएकोले शरीरमा अक्सिजनको मात्रा कम भएकोले मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।
शवको व्यवस्थापनका विषयमा प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायसँग छलफल भइरहेको डाक्टर अन्सारीले जानकारी दिए।
यो सँगै जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ।
हालसम्म दार्चुलाका तीन जनाको जिल्लाभित्र तथा चार जना संक्रमितको उपचारको क्रममा जिल्ला बाहिर मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ।