कोरोना संक्रमितको घरमै गएर उपचार तथा परामर्श
इलाम : इलामको मेची अञ्चल आयुर्वेद औषधालयले कोरोना संक्रमण भएर आइसोलेसन बसेकालाई उनीहरु बसेकै स्थानमा पुगेर औषधि र परामर्श सेवा प्रदान गर्न सुरु गरेको छ । कोभिड महामारी नियन्त्रणका लागि घरघरमा मेची आयुर्वेद नामको कार्यक्रममार्फत संक्रमितको घरघरमा पुगेर सेवा दिन सुरु गरेको कार्यक्रम व्यवस्थापक तथा सूचना अधिकारी तिर्थराज आचार्यले जानकारी दिए ।
अभियानमा आयुर्वेद डाक्टरसहितको टोली सहभागी छ । उनीहरुले संक्रमणका समयमा गरिने योगाहरुको बारेमा प्रशिक्षण समेत दिने गरेका छन् । साथमा उनीहरुले रोग प्रतिरोधात्मक क्षमता भएका औषधि समेत वितरण गर्ने गरेको आचार्यले बताए ।
अभियानमा नेपाल सरकारद्वारा जारी आयुर्वेद प्रोटोकल अनुसारको उपचार र परामर्श प्रदान गर्ने अस्पतालका आयुर्वेद चिकित्सक डा. विजय श्रेष्ठले जानकारी दिए । इलाममा सोमबारसम्म १९२ जनामा संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।
अहिलेसम्म इलाममा कोरोनाबाट ५ जनाको मृत्यु भएको छ । औषधालयले सबै स्थानीय तहका लागि स्वास्थ्यकर्मीको टोली परिचालन गरिसकको आचार्यले जानकारी दिए ।