लमजुङमा संक्रमित बढे, मंगलबार रातिदेखि निषेधाज्ञा
बेंसीसहर : लमजुङमा कोरोना संक्रमितको संख्या १ सय ५३ पुगेको छ। सोमबार एकैदिन थप ३७ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको थियो। कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले लमजुङमा बैशाख २८ गते राति १२ बजेदेखि निषेधाज्ञा जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलका अनुसार दैनिक कोभिड संक्रमितहरुको संख्या थपिँदै गएपछि संक्रमण थप फैलिन नदिन बैशाख २८ गते मंगलबार रातको १२ बजेबाट जेठ ३ गते गते राति १२ बजेसम्म निषेधाज्ञा गर्ने निर्णय गरिएको छ। यो अवधिभर औषधी उपचार, खाद्य वस्तु खरिद, आफ्नै खेतबारीमा कृषिजन्य कार्य गर्ने जस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्कन नपाउने प्रशासनले जनाएको छ ।
एम्बुलेन्स, विरामी बोकेका गाडी, निर्माण सामग्री ढुवानीका साधन, पशुपंक्षीका दाना बोकेका गाडी, सञ्चारकर्मी, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने साधन र अनुमति प्राप्त साधन बाहेक कुनै प्रकारका सार्वजनिक वा निजी यात्रु तथा मालवाहक सावरी साधनसमेत सञ्चालन गर्न नपाइने लुइँटेलले बताए।
अत्यावश्यक उपभोग्य वस्तु बिक्री गर्ने खाद्यान्न तथा तरकारी पसल, पेट्रोल पम्म, ग्यास डिपो, औषधी पसल बाहेक सम्पूर्ण पसल, उद्योग, व्यवसाय सञ्चालन गर्न समेत रोक लगाइएको छ। खाद्यान्न तथा तरकारी पसल विहान ६ बजेदेखि ९ बजेसम्म मात्र खोल्न पाउने प्रशासनले जनाएको छ। धार्मिक, साँस्कृतिक, सामाजिक क्रियाकलाप विवाह व्रतबन्ध लगायत कुनै प्रकारको जमघट तथा भेला हुने सबै प्रकारका क्रियाकलाप सञ्चालन गर्न नपाइने प्रमुख जिल्ला अधिकारी लुइँटेलले जानकारी दिए।
जिल्लाको अवस्था हेरेर निषेधाज्ञाको समय थपघट गर्नुपर्ने भएमा जिल्ला सुरक्षा समितिले आवश्यक निर्णय गर्ने प्रशासनले जनाएको छ। निषेधाज्ञाको उल्लंघन गरेमा प्रचलित काननु बमोजिम कारबाही गरिने प्रशासनले जनाएको छ।