सधैं तयारी अवस्थामा

सधैं तयारी अवस्थामा

चितवन : कोरोना संक्रमितको मृत्यु भएपछि शव व्यवस्थापन गर्न भरतपुरस्थित नेपाली सेनाको कालीबहादुर गणमा खबर आउँछ। जसअनुसार गणबाट तत्काल टोली खटिन्छ। टोलीका सदस्यमध्ये एक हुन्, गिरिजङ गुरुङ। गुरुङ एक महिनादेखि संक्रमितको शव व्यवस्थापनमा खटिँदै आएका छन्।

पहिलो पटक संक्रमितको शव देखेर उनलाई डर लाग्यो। परिवार सम्झिएर भावुक बने। तर, आफ्नै परिवारमा भएको घटना सम्झिएर उनले साहस बटुले। ‘पहिलो पटक डर लाग्नु स्वाभाविक पनि हो’, उनले भने, ‘आफ्नो परिवार छ। घरमा भएको भए यस्तै त हो भनेर काम गर्छु। नेपाली सेनामा लागेर पाएको जिम्मेवारीले खुसी छु।’

उनी शव बोक्ने सवारी चलाउँछन्। उनले ४५ वटा शव व्यवस्थापन गरेका छन्। लमजुङ घर भएका २६ वर्षीय गुरुङ आफूलाई परेजस्तै ठानेर अघि बढ्छन्। गणमा ‘डेड बडी म्यानेजमेन्ट टिम’ छ। तालिम प्राप्तमध्ये एकपटकमा एक जना कमान्डर र चालकसहित पाँचदेखि सात जना खटिन्छन्। लमजुङका ३१ वर्षीय भक्तबहादुर गुरुङ सेनामा काम गरेको ११ वर्ष भयो। रेस्क्यू टिममा खटिन पाएकोमा गर्वको महसुस गरिरहेको उनको भनाइ छ। ‘परिवार सम्झन्छु तर यो विपत्मा सबै बिर्सिएर ड्युटीमा खटिएको छु’, उनले भने, ‘पहिला के होला कसो होला भन्ने लागेको थियो अहिले अभ्यस्त भएको छु।’ 

काठमाडौंका जमदार खोबिन्द्रबहादुर गुरुङले शव व्यवस्थापन गर्न जाने टोलीको कमान्ड गर्छन्। अस्पताल पुगेर शवको अवस्था बुझेपछि जमदार गुरुङको कमान्डको टोली व्यवस्थापनमा खटिन्छ। गुरुङले गत वर्षदेखि शव व्यवस्थापनको जिम्मेवारी सम्हालेका हुन्। नेपाली सेनाको १९ वर्षे सेवाका दौरान उनका लागि यो नौलो काम हो। दिनहुँजसो शव व्यवस्थापनमा खटिन्छन्। 

‘हामी देशको खम्बा भएर बसेका छौं। खम्बा नै पछि हट्यो भने के काम लाग्यो र ?’, उनले भने, ‘सेवा गर्न पाउनु संस्था र व्यक्तिका लागि गर्वको कुरा हो।’
शव व्यवस्थापनका लागि पहिल्यै तालिम दिइन्छ। अभ्यस्त भएपछि मात्रै खटाउने गरिन्छ। कोभिड शव व्यवस्थापन कार्यविधि २०७७ अनुसार सेनाले शव व्यवस्थापन गर्दै आएको छ। उनीहरू पीपीईसहित स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर शव व्यवस्थापन गर्छन्। 

कालीबहादुरका गणपति विज्ञान खनालले सेनाले राष्ट्रको आवश्यकताअनुसार जुनसुकै परिस्थितिमा जिम्मेवारी वहन गर्ने गरेको बताए। ‘जस्तोसुकै परिस्थितिमा पनि सेना साथमा छ। समयले मागेअनुसार राष्ट्रले मागेअनुसार काम गरेका छौं। देशको सेवा गर्छौं भनेर होमिएका हुन्छौं’, खनालले भने, ‘देशलाई चाहिएको बेला केही गर्न पाउँदा छाती चौडा हुन्छ।’ 
शव व्यवस्थापन गर्न गएको टोली १४ दिन क्वारेन्टाइनमा बस्छ। त्यसको सात दिनमा पीसीआर गरेपछि मात्रै नियमित ड्युटीमा खटिन्छन्। टोलीमा ६१ जना छन्। उनीहरूलाई पालोअनुसार खटाइन्छ। 

देवघाटधाम क्षेत्रअन्तर्गत पर्ने भरतपुर महानगरपालिका–१ को बागेश्वरी क्षेत्रस्थित जलदेवी सामुदायिक वनमा अन्त्येष्टि गरिँदै आएको छ। २०७६ चैत १६ गतेदेखि यो वर्ष वैशाख २७ गतेसम्म २ सय २१ शव व्यवस्थापन गरिएको छ। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.