महामारीमा जाजरकोट अस्पताल : जनशक्ति अभावमा भेन्टिलेटर थन्किए

महामारीमा जाजरकोट अस्पताल : जनशक्ति अभावमा भेन्टिलेटर थन्किए

जाजरकोट : समयमा उपचार नपाउँदा कोराना संक्रमण भएकी भेरी नगरपालिका–४ की ४५ वर्षीया महिलाको गत वैशाख २२ गते मृत्यु भयो। जाजरकोट अस्पतालमा उपचार हुन नसकेकी संक्रमित महिलालाई उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा बाटोमै ज्यान गएको हो।

हप्ता दिनअघि कोरोना संक्रमण पुष्टि भएकी उनी होम आइसोलेसनमा थिइन्। घरमै उपचार गराइरहेकी उनको स्वास्थ्यमा जटिलता देखिएपछि परिवारले वैशाख १९ गते जाजरकोट अस्पताल पुर्‍याएका थिए।

स्वासप्रश्वासलगायत जटिल समस्या भएकी उनलाई भेन्टिलेटरमा राखेर उपचार गुर्नपर्ने अवस्था थियो तर भेन्टिलेटर नभएपछि अस्पतालले नेपालगन्ज रेफर गरेको थियो। ‘अक्सिजन त दियौं तर समयमै भेन्टिलेटर सेवा पाएको भए बचाउन सकिने थियो, 'अस्पतालका मेडिकल अधिकृत डा. अमिन शाहले भने, 'अस्पतालमा भेन्टिलेटर सेवा नभएपछि बाध्य भएर रिर्फर गरेका हौं।'

 
जनशक्ति अभावमा जाजरकोट अस्पतालको भेन्टिलेटर प्रयोगविहीन बनेको छ। गत वर्ष खरिद गरिएको भेन्टिलेटर सञ्चालन नभइ अस्पतालको एक कोठामा थन्किएको छ। अस्पतालमा भेन्टिलेटरसहितको उपचार नभएपछि संक्रमितलाई जिल्ला बाहिर लैजानु पर्ने बाध्यता छ । 

भेन्टिलेटर सञ्चालन गर्न तालिमप्राप्त विशेषज्ञ चाहिने तर नहुँदा सेवा संचालनमा ल्याउन नसकिएको डा. शाहले बताए। बेहोस बनाउन एन्थेसियालगायतका विशेषज्ञ चिकित्सक नहुँदा भेन्टिलेटर संचालन गर्न नसकिएको उनको भनाइ छ । 

साधनस्रोतको अभावमा कोरानाबाट जटिल अवस्थामा पुगेका बिरामीको रेफरको विकल्प नभएको स्वास्थ्य कार्यालयका प्रमुख टीकाराम जैसीले बताए। 'अक्सिजनको समेत अभाव छ,' उनले भने, 'ठेकेदारको ढिलासुस्ती र लापरवाहीले अक्सिजन प्लान्ट जडान नहुँदा अक्सिजनका सिलिन्डर भर्न नेपालगञ्ज पठाउनु पर्ने बाध्यता छ।'

उनका अनुसार ३६ वटा अक्सिजन सिलिन्डर छन् ति खाली हुने वित्तिकै नेपालगञ्ज पठाउनुपर्छ। त्यस्तै जिल्लामै पीसीआर मेसिन नहुँदा कोरोना परीक्षणका लागि सुर्खेत पठाउनुपर्ने बाध्यता छ । जाजरकोटबाट स्वाव संकलन गरी पठाइएका नमुनाको एक साता वितिसक्दा पनि पालो आएको छैन । यी विविध समस्याले गर्दा कोरोना महामारी नियन्त्रमा निकै समस्या देखिएको छ ।

जाजरकोटमा मंगलबारसम्म तीन सय ८० जना सक्रिय संक्रमित छन्। विभिन्न ठाउँमा भएको पीसीआर र एन्टिजेन परीक्षणबाट संक्रमितको संख्या थपिँदै गएको जिल्ला स्वास्थ्य कार्यालयका महामारी फोकल व्यक्ति कृष्ण खत्रीले बताए। उनका अनुसार जटिल अवस्थाका ८ जनालाई उपचारका लागि नेपालगन्ज र सुर्खेत रेफर गरिएको छ। ५७ जना संक्रमितले कोरोना जितेका छन् । १४ जना अस्पतालको आइसोलेसनमा उपचाररत छन् । एक जना संक्रमितको मृत्यु भएको छ । अन्य सबै संक्रमित होमआइसोलेसनमा छन् ।

संक्रमित गाउँ पस्न थालेपछि समुदायस्तरमा संक्रमण फैलिएको भेरी नगरपालिका–४ का रत्नराज हमालले बताए। ‘बाहिरबाट आएकालाई चेकजाँच नगरी गाउँमा पठाउँदा समस्या भयो,’ उनले भने, ‘तर पनि स्थानीय सरकार मौन छन्।’ 

स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपनि पूजापाठ, विवाह, भोजभतेरलगायत धार्मिक कार्य धमाधम हुँदा संक्रमण भयावह बन्ने देखिएको उनको भनाइ छ।
जिल्ला भर तीन सय ८० जना सक्रिय संक्रमित रहेको स्वास्थ्य सेवा कार्यालय जाजरकोटले जनाएको छ । खत्रीका अनुसार ५७ जनाले कोरोना जितेका छन् । १४ जना जिल्ला अस्पतालको आइसोलेसनमा छन् । ८ जनालाई जिल्ला बाहिर रिर्फर गरिएको छ । एकजनाको मृत्यु भएको छ । संक्रमण जिल्लाभर फैलिएको भएपनि परीक्षणको दायरा नबढाइएको स्थानीयको गुनासो छ । 

स्थानीय प्रशासनले लकडाउन गरेपनि गाउँघरमा मानिसको आवागमन रोकिएको छैन । खासमा लकडाउनको बेला सक्रिय संक्रमित पहिचान गर्ने, संक्रमितलाई अलग गराउने, कन्ट्रयाक ट्रेसिङ्ग गर्ने र परीक्षणको दायरा बढाउनुपर्ने हो तर झारा टार्ने बाहेक गम्भीर रुपमा परीक्षणलाई तीव्रता दिन नसकेको पत्रकार महासंघका जिल्ला अध्यक्ष बालकुमार शर्माले बताए । 'कोरोना नियन्त्रण र रोकथाममा सम्बन्धित निकाय गम्भीर देखिएनन् । यस्तो तालले जति लकडाउन गरेपनि संक्रमण फैलने दर रोकिदैन,’ उनले भने ।

जाजरकोटको छेडागाड नगरपालिकामा २२ जनामा कोरोनाको पीसीआर परीक्षण गर्दा २० जनामा संक्रमण देखिएको छ । भेरी नगरपालिका ४ सिर्जना टोलमा एक सय २० जनामा गरिएको कोरोना पीसीआर परीक्षणबाट ८० जनामा संक्रमण पुष्टि भएको छ । सिर्जना टोल एक साताअघि कोरोनाका कारण एक महिलाको मृत्यु भएको टोलमा ८० जना संक्रमित भेटिनुले संक्रमण भित्रभित्रै भुसको आगो झै सल्किरहेको स्वास्थ्यकर्मीको भनाइ छ ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.