छिनछिनमै आउँछन् बिरामी

छिनछिनमै आउँछन् बिरामी

चितवन : चितवन मेडिकल कलेजको आकस्मिक कक्षका सबै बेड भरिएका छन्। आकस्मिक कक्षमै भेन्टिलेटर राखेर उपचार सुरु गरिएको छ। कतिपय बिरामी अक्सिजन लिएर बेडको पालो पर्खिंरहेका छन्। बिरामी बोकेका एम्बुलेन्स छिनछिनमा आइरहन्छन्। बिरामीका आफन्त अस्पतालको बेड पाउने आशामा बसिरहेका छन्। अस्पताल वरिपरि बेड पाउने आशामा आफन्त भौतारिहेका हुन्छन्। 

आकस्मिक कक्षमा ६० बेड छन्। यसमा ११ वटा भेन्टिलेटर सुविधा छ। यी बेड कुनै बेला पनि खाली हुँदैनन्। कोभिड संक्रमण भएका र त्यसको लक्षण मिल्ने बिरामी दैनिक ५० जना आउने गरेका छन्। अक्सिजन कमी भएका बिरामी पनि आउँछन्। कतिपय आकस्मिक कक्षमा पालो पर्खेर बसिरहेका छन्। कोही बेड र अक्सिजन, भेन्टिलेटरको पर्खाइमा छन्। 
बिरामीलाई बेड पुर्‍याउन अस्पताललाई मुस्किल भएको छ। अस्पताललाई बिरामीको चाप थेग्न गाह्रो भएको छ। जनशक्ति, प्रविधि र उपलब्ध स्रोतसाधनले सेवा दिन मुस्किल हुँदै गएको छ। ‘अहिलेसम्म अन्य वार्डलाई पनि खाली वार्ड खाली गरेर म्यानेज गरेका छौं’, मेडिकल कलेजका अध्यक्ष हरिश्चन्द्र न्यौपानेले भने, ‘सबैतिर बिरामीको चाप थपिएपछि स्रोतसाधनले कसरी पुर्‍याउने भन्ने विषय गम्भीर छ।’

चितवनका अस्पतालमा कोभिडका बिरामीको चाप छ। अस्पतालमा बेड नपाएर बिरामीका आफन्त भौतारिन्छन्। अक्सिजनको मात्रा कम भएपछि भेन्टिलेटर खोज्दै अस्पताल चहार्छन्। बेड पाउनै मुस्किल हुन्छ। बेड पाउन अनेक बिन्ती गर्छन्। अक्सिजन र भेन्टिलेटरको पर्खाइमा बस्ने पनि उत्तिकै छन्। तीन ठूला अस्पतालका बेड भरिएका छन्। अवस्था सिकिस्त भएपछि अस्पताल आउने कारणले सबैलाई अक्सिन र भेन्टिलेटर पाउने समस्या भएको हो। 

जिल्लाको सरकारी भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेसमा कोभिड बिरामीको उपचार हुँदै आएको छ। कलेज अफ मेडिकल साइन्सेस पुरानो मेडिकल कलेजमा २ सय बेड कोभिड उपचारका लागि तयार छन्। तर, यसले पुर्‍याउन मुस्किल भएको छ। ९० बेड आईसीयू, एचडीयू ३०, भेन्टिलेटर १५ बेड छन्। पछिल्लो एक हप्तामा यो पर्याप्त छैन। बुधबारसम्म मात्रै ७६ जना आईसीयूमा छन्। 

अस्पतालमा बेड पर्याप्त नहुँदा बिरामीलाई राख्न समस्या भएको मेडिकल कलेजका कोभिड फोकल पर्सन डा. सुदीप केसीले बताए। ‘इमरजेन्सीमा रोकेर राख्नुपर्ने अवस्था छ’, डा. केसीले भन,े ‘एम्बुलेन्स आउँछन्, छैन भनेर फर्काउनु पर्ने अवस्था छ।’ 

चितवन मेडिकल कलेजमा कोभिडका लागि छुट्टयाइएको २ सय ७६ बेडमध्ये २ सय बेड भरिएका छन्। यीमध्ये १ सय ५० जनाले अक्सिजन लिएका छन्। मेडिकल कलेजले अन्य विभागको आईसीयूलाई पनि चाप बढेपछि कोभिड आईसीयू बनाएको छ। जिल्लामा सबैभन्दा बढी भेन्टिलेटर भएको अस्पताल चितवन मेडिकल कलेज नै हो। यहाँ मात्रै दैनिक ५० जना कोभिडका बिरामी थपिन्छन्। मेडिकल कलेजमा २ सय ५३ बेड खाली गरेर कोभिडका लागि छुट्टयाइएको छ। तैपनि व्यवस्थापन गाह्रो भएको छ।

अस्पतालमा बेड नपाएपछि सुदूरपश्चिमबाट पनि बिरामी आउने गरेका छन्। ‘बिरामी थपिँदै छन्। यो अवस्थासम्म त धानेका छौं। हाम्रो स्रोतसाधनले कतिसम्म भ्याउँछ भन्ने हो’, मेडिकल कलेजका अप्रेसन म्यानेजर पारस अधिकारीले भने, ‘यही अवस्था हो भने थेग्न गाह्रो छ।’  चितवनमा आसपासका जिल्लासहित सुदूरपश्चिमबाट बिरामी अस्पतालको बेड खोज्दै आउँछन्। चितवन आउने बेलासम्म बाटोमा पर्ने सबै अस्पताल चहार्दै चितवन आइपुग्छन्। अन्य बेला चितवनबाट राजधानी लैजाने परिपाटी भएको चितवनमा कोरोनाको कहरमा राजधानीबाट विरामी ओइरिन्छन्। 

काठमाडौं वनस्थलीबाट उपचारका लागि दीपक बाबु अर्याल राजधानीको सबै अस्पताल चहारेपछि चितवन आएका थिए। उनकी ४८ वर्षीया श्रीमतीको शरीरमा अक्सिजनको मात्रा कम हुँदै गएपछि उनले अस्पतालको बेड पाएनन्। राति साढे ११ बजे काठमाडौंबाट बुटवल फर्किन लागेको एम्बुलेन्स फेला पारेपछि उनले भरतपुरको चितवन मेडिकल कलेज ल्याएको बताए। ‘हामी अलि चिनेजानेकाले अनेक गर्दा त बेड पाएनांै अरू सामान्य परिवारका बिरामीको हालत के होला’, उनले भने, ‘अरू काठमाडौं जान्छन् हामी यहाँ आयौं।’ धेरै बिरामी बेड नपाएर घरै फर्कने गरेको उनले दुखेसो पोखे। ‘कोरोना लागेर भन्दा पनि समयमा नै उपचार नपाएर धेरैले ज्यान गुमाउनु परिरहेको छ’, अर्यालले भने। 

यस्ता बिरामी भरतपुरमा छिनछिनमा आउँछन्। बिरामी अस्पतालमा बेड कुरेर बस्छन्। केन्द्रीय स्तरको भरतपुर अस्पतालमा बिरामीको चाप बढेको छ। अस्पतालमा भएको १ सय ८० बेड तयार गरेको छ। तर, यो अस्पतालको कोभिड आईसीयूमा १० वटा मात्रै भेन्टिलेटर छ। बिरामीको चाप बढेपछि थेग्न गारो भएको छ। भरतपुर अस्पतालले दुई सयभन्दा बढी राख्न नसक्ने अवस्थामा पुगेको अस्पताल प्रशासनले जनाएको छ। 

अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. जगन्नाथ तिवारीले अस्पतालले थेग्न नसक्ने अवस्था भएको बताए। ‘दैनिक २० जना बेड खोज्दै आउँछन् तर एक पटक भर्ना भएका बिरामी लामो समय बस्न पर्ने भएकाले मृत्यु भए मात्रै पाउने हो’, उनले भने, ‘बेड खाली छ फोन आउँछ। छैन भन्ने अवस्था आउँदा खिन्न हुन्छ।’ 

राजधानी काठमाडौंसहित देशका मुख्य ठूला सहरका बिरामी चितवन आउँछन्। सिकिस्त भएपछि अक्सिजन र भेन्टिलेटरको खोजीमा हेलिकोप्टरबाट समेत बिरामी चितवन आउने गरेका छन्। चितवनमा जिल्लाभन्दा बाहिरबाट बढी बिरामी आउँछन्। झण्डै ५५ प्रतिशत बिरामी जिल्ला बाहिरबाट आएका छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.