दार्चुला अस्पतालमा कोरोनाबाट एक पुरुषको ज्यान गयो
दार्चुला: जिल्ला अस्पताल दार्चुलामा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
बिहीबार राति १० बजे उपचारको क्रममा महाकाली नगरपालिका वडा नम्बर ५ गल्फैका एक पुरुषको मृत्यु भएको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ ।
मृतक पुरुषमा केही दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो । यससँगै दार्चुलामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ ।
व्यास गाउँपालिकाका, नौगाड गाउँपालिका, महाकाली नगरपालिका र मार्मा गाउँपालिकाका एक एक जना पुरुष र शैल्यशिखरका एक महिला संक्रमितको ज्यान गएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।
दार्चुलामा बिहीबार थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल दार्चुला, पुलघाट सिमानाका र महाकाली नगरपालिकामा गरिएको एन्टीजेन परीक्षणमा महाकाली नगरपालिकाका सात जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाका सिआसिटी सहजकर्ता सुरज सुजन बोहराले बताए ।