अक्सिजन सिलिण्डर संकलन गरेर अस्पतालमा बुझाउँदै दार्चुला प्रहरी
दार्चुला: कोरोनाको बढ्दो संक्रमणसँगै अक्सिजन सिलिण्डरको अभाव हुन थालेपछि जिल्ला प्रहरी कार्यालय दार्चुलाले विभिन्न ठाउँबाट अक्सिजन सिलिण्डर संकलन गर्न थालेको छ ।
जिल्ला अस्पतालमा अक्सिजनको कमी हुने अवस्था आएपछि प्रहरीले विभिन्न क्षेत्रबाट अक्सिजन सिलिण्डर संकलन गर्दै अस्पताललाई बुझाएको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाले तीन थान अक्सिजन सिलिण्डर संकलन गरी शुक्रवार जिल्ला अस्पताल दार्चुलालाई हस्तान्तरण गरेको जिल्ला प्रहरी प्रमुख मनोहर प्रसाद भट्टले जानकारी दिए । अस्पताललाई दुई थान भरिएको तथा एक थान खाली सिलिण्डर बुझाइएको छ ।
जिल्लास्थित विभिन्न उद्योग, सप्लायर्स, ग्यारेज, ग्यास वेल्डिङ तथा अन्य संघसंस्थासँग रहेका खाली तथा भरिएका अक्सिजन सिलिण्डर पछि फिर्ता गर्ने गरी संकलन गर्दै अस्पताललाई बुझाइएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस !
४