भोजपुरका कोरोना संक्रमित पुरुषको काठमाडौंमा मृत्यु
भोजपुर : भोजपुरका एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । भोजपुर नगरपालिका- ९, पानीट्याङ्की ४२ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।
संक्रमितको अवस्था गम्भीर बन्दै गएपछि उनलाई शुक्रबार हेलिकप्टरबाट काठमाडौँ लगिएको थियो । काठमाडौँको टिचिङ हस्पिटलमा राखेर उपचार गराउँदा गराउँदै गएराती उनको मृत्यू भएको पारिवारिक श्रोतले जनाएको छ ।
उच्च रक्तचाप, मधुमेहबाट पनि ग्रसित उनलाई स्वासप्रश्वासमा समस्या देखिएपछि जिल्ला अस्पताल ल्याइएको थियो । उनलाई कोरोना पुष्टि भएको थियो । अवस्थालाई हेरेर परिवारजनले काठमाडौँ लैजाने भनेपछि रेफर गरिएको स्वास्थ्य कार्यालय भोजपुर प्रमुख फणिन्द्र थापाले जानकारी दिए ।
जिल्लामा अहिलेसम्म कोरोना संक्रमितको संख्या ७२ जना पुगेको छ । जसमा एकजनाको मृत्यु र एकजना निको भएका छन् । कोभिड १९ को उच्च जोखिम रहेको भोजपुरमा सबै सिमानाका र जारी निषेधाज्ञा कडा पारिएको जिल्ला प्रशासनले जनाएको छ । त्यस्तै प्रशासनले अत्यावश्यक कामबाहेक बाहिर हिँडडुल नगर्न सर्वसाधरणलाई अपिल गरेको छ ।