एम्बुलेन्सको भाडा अचाक्ली

एम्बुलेन्सको भाडा अचाक्ली

दाङ —

घटना १
सेवाग्राही  : हेल्लो, नमस्कार। एम्बुलेन्स हो ?

चालक  : हेल्लो, हो हो। किन के गर्नुपर्‍यो ?
सेवाग्राही  : एक जना बिरामीलाई घरबाट अस्पतालसम्म लैजानु थियो ?
चालक  : हुन्छ, कहाँदेखि हो ?
सेवाग्राही  : मोतीपुरदेखि तुलसीपुरसम्म, केस पोजिटिभ हो है !
चालक  : हुन्छ। त्यसमा त केही फरक पर्दैन।
सेवाग्राही  : भाडा कति हो ?
चालक  : अरूलाई त ५ हजार हो। तपाईंलाई २ हजारसम्मले बोक्न सकिन्छ।
सेवाग्राही  : तीन किलोमिटर दूरीमै २ हजार भाडा ?
चालक  : अहिले यस्तै हो। कोरोनाले पीपीई लगाउनुपर्छ। बेलझुन्डीसम्मको ५ हजारभन्दा एक रुपैयाँ कम हुँदैन। त्यति भन्न भएन। त्यही भएर २ हजारको कुरा गरेको हो।
सेवाग्राही  : सधैं काम लाग्ने मान्छे हो, मिलाउनु न।
चालक  : हुँदैन। जानु हुन्छ भने त्यही हो।

---

घटना २
सेवाग्राही  : एम्बुलेन्स चाहिएको थियो।
चालक  : किन कसका लागि हो ?
सेवाग्राही  : एक बिरामीलाई कोरोना अस्पताल लैजानु थियो।
चालक  : घोराहीदेखिको भाडा ५ हजार हो। फेरिपछि यताउता होला।
सेवाग्राही  : ५ हजार ...?
चालक  : कोरोना हो यस्तै हुन्छ। के गर्नु हुन्छ, जानु हुन्छ ?
सेवाग्राही  : तपाईंहरूकै दिन छन्। हामी के गर्न सक्छौं र ? आउनुहोस्। बिरामीको उपचार गराउनु नै पर्‍यो नि !

दाङमा एम्बुलेन्सले अहिले कोरोना महाविपत्तिलाई देखाएर मनमौजी ढंगले सेवाग्राहीसँग रकम असुलिरहेका छन्। तोकिएभन्दा चार गुणासम्म बढी भाडा लिइरहेको पाइएको छ। सामान्य अवस्थामा १ हजार भाडा लिने ठाउँमा अहिले ५ हजार रुपैयाँ लिइरहेका छन्। बजार क्षेत्रमा एम्बुलेन्स प्रयोग भए भाडा ५–७ सय हो। तर, बजारमै पनि २ हजार–२५ सय रुपैयाँसम्म लिइन्छ।

तुलसीपुरका व्यवसायी ऋषिराज भण्डारीले १÷१ हजार भाडा तोकिएको ठाउँमा ५ हजार तिर्नुपरेकामा फेसबुकमा असन्तुष्टि जनाए। ‘सरकार घोराहीदेखि बेल्झुन्डीसम्मको एम्बुलेन्स भाडा कति हो ? हामीसँग त ५ हजार पो लिइयो त। ५ हजार एम्बुलेन्स भाडाले त नेपालगन्ज पुगिन्छ।’ उनले आफूले एक जना आफन्तलाई घोराहीबाट बेलझुण्डी कोरोना अस्पतालसम्म पठाउन एम्बुलेन्सलाई ५ हजार रुपैयाँ तिरेको बताए। ‘बिरामीलाई जसरी पनि अस्पताल पुर्‍याउनु छ, जति भन्यो त्यति दिनै पर्‍यो’, उनले भने, ‘बाध्य भएर ५ हजार तिरियो।’

घोराहीका किशोराचन्द्र गौतमले दाङबाट काठमाडौंको भाडा ४० हजार तिरेको बताए। ‘यो कस्तो भाडादर हो ?’, उनले भने, ‘नियमन कसले गर्ने हो ? यो मनपर्दी कहिलेसम्म ?’

दाङका प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले कसैले बढी भाडा लिएको छ भनेर उजुरी गरे तत्काल कारबाही हुने बताए। ‘तोकेभन्दा बढी भाडा कुनै पनि अवस्थामा लिन पाउँदैन’, पौडेलले भने, ‘अब कडा निगरानीसहित अनुगमन गर्दैछौं।’ उनले दाङ–काठमाडौंको भाडा बढीमा १८ हजार रहेको बताए।

तुलसीपुर उपमहानगरपालिका कोभिड व्यवस्थापन एम्बुलेन्स सञ्चालन समितिका सदस्य मोहन पौडेलले केही एम्बुलेन्सले भाडादर कार्यान्वयन गर्न अटेर गरेको बताए। मनमौजी भाडासमेत असुली रहेको बताए। यस्ता एम्बुलेन्सलाई तत्काल कारबाही हुनुपर्ने पौडेलको माग छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.