६० प्रतिशतले घट्यो दुग्ध पदार्थको खपत : दैनिक १० करोड नोक्सान
काठमाडौं : दोस्रो लहरको कोभिड–१९ सङ्क्रमणलाई ध्यानमा राख्दै देशका विभिन्न स्थानमा लागु गरिएको निषेधाज्ञाका कारण दुग्ध पदार्थको खपतमा कमी आएको छ । अन्य समयको तुलनामा निषेधाज्ञासँगै दुग्ध पदार्थको ६० प्रतिशतले कमी आएको व्यवसायी बताउँछन् ।
नेपाल डेरी एसोसिएसनका अनुसार पछिल्लो समय दुग्ध पदार्थको खपतमा कमी आउँदा दैनिक रु दश करोड बराबरको नोक्सानी भएको छ ।
गत वर्षको बन्दाबन्दीमा रहेको मौज्दात दुग्ध पदार्थको धुलो र बटर हालसम्म बिक्री नभएको र थप निषेधाज्ञाका कारण ठूलो मात्रामा मौज्दात भएको एसोसिएसनका महासचिव प्रल्हाद दाहालले जानकारी दिए। उनका अनुसार हाल निजी डेरी र दुग्ध विकास संस्थानमा गरेर करिब रु तीन अर्ब बराबरको पाउडर दूध र बटर भण्डारमा थन्किएर बसेको छ ।
चालु पुँजीको रुपमा रहेको रकम ठूलो मात्रामा सामग्री भण्डारणमा मौज्दात बस्दा धेरै डेरी उद्योगहरू बन्द हुने अवस्थामा पुगेको जनाइएको छ ।
उनका अनुसार सरकारले हाल उत्पादन क्षेत्रमा आकर्षण बढाउनु पर्नेमा किसान तथा व्यवसायीलाई निरुत्साहन गरेपछि भविष्यमा यसको ठूलो असर पर्ने देखिएको छ ।
महासचिव दाहाल नेपाल राष्ट्र बैंकले तोके अनुसारको ५ प्रतिशत छुटमा पाँच करोडसम्म कर्जा पाउँदा धेरै राहत भएको बताउँछन् ।
डेरी एशोसिएसनको तथ्याङ्कअनुसार नेपालमा दैनिक ६२ लाख लिटर दूध उत्पादन हुने गरेकामा औपचारिक क्षेत्रमा १७ प्रतिशत र अनौपचारिक क्षेत्रमा ३३ प्रतिशत खपत हुँदै आएको छ भने कृषक स्वयंले ५० प्रतिशत उपभोग गर्ने गरेका छन् । रासस