कोरोना संक्रमणका कारण प्रा. राजेन्द्र सुवेदीको निधन
काठमाडौं : कोरोना संक्रमणका कारण प्रा. राजेन्द्र सुवेदीको निधन भएको छ। शहीद गंगालाल हृदयरोग केन्द्र बाँसबारीमा उपचाररत उनको सोमबार बिहान निधन भएको नेपाल प्रज्ञा–प्रतिस्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्यायले जनाएका छन्।
‘गुरु प्राध्यापक राजेन्द्र सुवेदीको आज मिति २०७८ जेठ ३ गते सोमबार बिहान ५ बजे कोरोना सङ्क्रमणबाट ७६ वर्षको उमेरमा निधन भएको समाचारले स्तब्ध र मर्माहत छु', उनले सामाजिक सञ्जाल फेसबुकमा लेखका छन्, 'हामीजस्ता धेरै शुभेच्छुक र चिकित्सकहरूको अथक प्रयत्न रहॅदा रहॅदै पनि उहाँलाई जोगाउन सकिएन।'
कवि तथा समीक्षक रमेश शुभेच्छुका अनुसार सुवेदीलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। उनले पशुपति आर्यघाटमा दाहसंस्कारको तयारी भइरहेको जानकारी दिए।
समालोचक, निबन्धकार तथा कवि सुवेदी त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभागका पूर्वप्रमुख रहेका थिए। त्यस्तै उनी गोरखापत्र संस्थानका पूर्वअध्यक्ष एवम् महाप्रबन्धसमेत रहेका थिए।
वि. सं. २००२ मा पाँचथरमा जन्मिएका प्रा. सुवेदीका कविता, समालोचना, निबन्धलगायतका दुई दर्जन बढी पुस्तक प्रकाशित छन्।