निषेधाज्ञामा मजदुरको वेदना: श्रम बिक्दैन, राहत छैन, खै कहाँ छ सरकार ?
बर्दिबास : चालिस वर्षदेखि जंगलबाट दाउरो ओसारेर जीवन चल्दै थियो । अहिले महोत्तरीको बर्दिबास–३ की ६० वर्षीया बासना देवी दर्नालको दाउरा बिक्री हुन छोडेको छ। । कोरोना महामारीले बजार ठप्प छ । दाउरा बिक्री गरेर उनले दिनहुँ चामल,दाल, तरकारीको जोहो गर्थिन् । तर, अहिले उनको दाउराले बजार पाउँदैन । स्थानीय प्रशासनले महोत्तरीमा २ सातादेखि लगातार निषेधाज्ञा लगाउँदै आएको छ । ‘अब हामी भोकले चेपेरै मर्ने भयो । घरमा सरकारले राहत पठाउँदैन । बजारमा श्रम पनि बिक्दैन,’बासना देवीले दुःख सुनाइन्,‘के खाएर बाँच्ने भएको चामल पनि सिद्धयो ।’
कोरोना कहरभन्दा पनि बासना देवीलाई भोको पेटले सताउन थालेको छ । प्रशासनले भीडभाड नियन्त्रण गर्न बजार त बन्द गरायो तर गरिब तथा मजदुरका लागि सरकारले राहतको कुनै प्रबन्ध मिलाउन सकेको छैन । बासना देवीका श्रीमान् ईखबहादुर दर्नाल उमेरले ६५ वर्षका भए । दर्नाल दम्पतीको पिठयुँमा दाउरा बोक्दा बोक्दा हड्डी मासुको डल्लो परेर गाँठो परेको छ । कुपरी परेर उनीहरु दाउरा बिक्री गरेर बाँच्न खोज्दै छन् । तर, त्यो पनि नबिक्दा उनीलाई दैनिकी गुजरा चलाउन मुस्किल भएको छ।
दसैंमा दर्नाल दम्पती जंगलबाट रातो, सेतो माटो ल्याएर गाउँमा बिक्री गर्छन् । अरु बेला जंगलबाट दाउरा ल्याएर बजारका होटलहोटलमामा पुर्याउने गर्छन्। ‘मानिसहरु कोरोना रोगले मर्दैछन्, हामी त भोकले नै मर्ने भयौं,’इखबहादुर भन्छन्,‘बजारमा दाउरा बिक्री हुन छोडिसक्यो, घरमा खाने चामल सिद्धिसक्यो, भोको पेट मान्दैन । कसरी बाँच्ने, खोइ कहाँ छ गरिबलाई हेर्ने सरकार ?’
यी दम्पतीका तीन छोरा दिपक, प्रकाश र प्रदिप छन् । बजार बन्द भएपछि उनीहरुको पनि रोजीरोटी गुमेको छ ।बुढेसकालमा दर्नाल दम्पत्तीले न बसेर खान पाएका छन् न त आराम गर्न नै ।गरिबीको जंगिरमा बाँधिएको उनीहरुको जीवन कोरोना महामारीले झन संकटमा परेको छ ।
जंगलबाट ल्याएको दाउरोले बजार नपाएको दुःखेसो पोख्दैं ईख बहादुर र बासना देवी दर्नाल । तस्बिर : राजकरण महतो
महामारीको चपेटा परेको बासना देवी र इखबहादुर मात्रै होइन् उनी जस्ता थुप्रै गरिब छन् । दिन कमाउने, साँझ खाने मजदुरलाई कोरोना रोगभन्दा भोकले हैरान बनाउन थालेको छ । ‘देशमा गरिबको सरकार खोइ कहाँ छ ? कोही रोग र भोकले मर्न दिँदैनौं भनेर प्रधानमन्त्रीले भन्नु हुन्छ ,'इख बहादुर भन्छन्,‘ गरिब भोकले मर्न थाले,खोइ सरकार,कहाँ छ सरकार?'