पश्चिम बंगालमा कोरोना संक्रमण उच्च, काँकरभिट्टा नाका बन्द
झापा : नेपालको पूर्वी सीमा नाका काँकरभिट्टा नाका सोमबारदेखि १५ दिनका लागि पूर्णरुमा बन्द भएको छ। भारतको पश्चिम बंगालमा कोरोना संक्रमण दर तीव्र रुपमा फैलिदै गएपछि पश्चिम बंगाल सरकारलेनै नाका पूर्णरूपमा बन्द गर्ने जानकारी गराएको हो। आजदेखि उक्त नाकाबाट मानिस आवतजावत पूर्ण रुपमा निषेध गरिएको छ।
पश्चिम बंगाल सरकारले जेठ २ गतेदेखि १६ गते बिहान ६ बजेसम्मका लागि नाका बन्द रहने जानकारी पठाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरिक्षक राकेश थापाले जानकारी दिए। थापाका अनुसार पश्चिम बंगाल सरकारले उक्त समय अविध संक्रमणको दर हेरेर थप हुन सक्ने जनाएको छ।
योबीचको अवधिमा औषधि, खाद्यान्न, डिजेल, पेट्रोल, एलपी ग्याँस तथा अक्सिजन बुलेटबाहेक अन्य कुनै पनि सामान र सवारी आवतजावत हुने छैन।
भारतीय पक्षले नेपाली तथा भारतीय नागरिक तथा अन्य सबै प्रकारका सवारी साधनसमेतलाई आवतजावतमा पूर्ण रोक लगाइदिन भने पश्चात् सोमबार बिहानदेखि नाका पूर्णरुपमा बन्द छ।
पश्चिम बंगाल सरकारले नेपालका अन्य जिल्लाबाट समेत झापाको काँकरभिट्टा नाका हुँदै भारत जान स्वदेशी तथा विदेशी नागरिक र सवारीसाधन आउन सक्ने भएकाले सम्बन्धित ठाउँमा जानकारी गराउन समेत अनुरोध गरेको प्रवक्ता थापाले जानकारी दिए।