कोरोना उपचारमा प्लाज्मा थेरापी
कोरोना भाइरस संक्रमणबाट हुने दैनिक मृत्युदर २ सय हाराहारी छ। रोग प्रतिरोधात्मक क्षमता उच्च मानिने चलायमान उमेर समूहकै व्यक्तिको मृत्यु बढी देखिएको छ। यति मात्रै होइन, विज्ञहरू आगामी दुई सातासम्म संक्रमणसँगै ज्यान गुमाउनेको संख्या वृद्धि हुने आँकलन गर्छन्। कोरोना फैलिने दरमा भियतनामपछि नेपाल दोस्रो स्थानमा छ। काठमाडौं विश्वविद्यालयको एक अध्ययनले नेपालमा १० जना संक्रमितले १६ जनालाई रोग सार्ने गरेको देखाएको छ।
यस्तै, दैनिक संक्रमणबाट मृत्युको संख्या प्रति १० लाख जनसंख्यामा झन्डै ३.३ छ। संक्रमित हुने र ज्यान गुमाउनेमा २० देखि ३९ वर्ष उमेर समूहका धेरै छन्। कामकाज बढी गर्नुपर्ने ३० देखि ३९ वर्ष समूहका बढी प्रभावित छन्। त्यसपछि २० देखि २९ वर्ष उमेरका व्यक्तिले ज्यान गुमाइरहेको देखिएको छ। स्वास्थ्य मन्त्रालयका पछिल्लो तथ्यांक अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या ४ हजार ८ सय ५६ पुगेको छ। देशभर १ लाख ९ हजार ७ सय ४० सक्रिय संक्रमित छन्। दोस्रो लहरमा देखिएको यूके भेरियन्ट र डबल म्युटेन्ट भेरियन्टले बिरामीलाई छिट्टै जटिल अवस्थामा पुर्याउने गरेको छ। पहिलो लहरमा देखिएको कोरोनाको भेरियन्टभन्दा दोस्रो लहरको भेरियन्टले बिरामीलाई ४० देखि ६० प्रतिशत बढी सिकिस्त गराउने देखिएको छ।
एकातिर कामकाजी उमेरका युवावर्गहरू संक्रमित भएर अस्पतालका शैयाका लागि भौतारिनु पर्ने भएको छ भने अर्कातिर अस्पतालमा भर्ना भएपछि अक्सिजन र प्लाज्माका लागि उनका आफन्तहरू छट्पट्टिनु परेको छ। संक्रमित भई उपचारका लागि अस्पताल भर्ना गरिएको बिरामीका आफन्तले प्लाज्मा थेरापीका लागि रगत संकलन गरिदिन हारगुहार गरिरहेका छन्। सामाजिक सञ्जालमा चिकित्सककै सल्लाहबमोजिम प्लाज्माको खोजी गर्नेहरूको संख्या बढ्दै गएको र विभिन्न संघसंस्थाहरूले समेत प्लाज्मा खोज्ने टिम बनाइरहेको देखिएको छ। विश्व स्वास्थ्य संगठन र नेपाल सरकारको आधिकारिक निकायले समेत प्लाज्मा थेरापी कोभिड–१९ संक्रमितका लागि सिफारिस गरेको छैन भनेर नेपाल मेडिकल काउन्सिलले वैशाख २९ गते ‘कन्भल्सेन्ट प्लाज्मा थेरापी कोभिड–१९ संक्रमित भई अस्पताल भर्ना भएका बिरामीलाई सिफारिस गर्नुपदैन’ भनी अपिलसमेत जारी गरेको छ।
कन्भल्सेन्ट प्लाज्मा थेरापी नयाँ उपचार पद्धति पक्कै होइन। सन् १८९० मा ईमिल एडोल्फ बेहरिङ र किसाटोले रोग लागिसकेर निको भएका व्यक्तिहरूमा सो रोगविरुद्ध लड्न सक्ने एन्टिबडी बनेको हुन्छ। सो एन्टिबडी भएको प्लाज्मा अरूको उपचारका सहयोगी तथा रोगविरुद्ध लड्न प्यासिभ इम्युनिटी दिन्छ भनेर ‘सेरम थेरापी’ को प्रयोग गरेका थिए। ईमिलले डिप्थेरियाका लागि यस सफलताका कारण सन् १९०१ मा नोवेल पुरस्कारले सम्मानित भएका थिए। यसैका सिद्धान्तका आधारमा धेरै किसिमका ब्याक्टेरिया र भाइरसजन्य रोगहरूको खोपको विकास तथा उपचार अहिले पनि सम्भव भइरहेको देखिन्छ।
कोभिड १९ को उपचारमा अहिले पनि धेरै अध्ययन हुने क्रममा छ र अहिलेसम्म पनि यसको सफल तथा प्रभावकारी उपचार पद्धति स्थापित भइसकेको छैन। कोभिड १९ को उपचारमा पनि कन्भल्सेन्ट प्लाज्मा थेरापी चीनबाट नै सुरु गरेको देखिन्छ। प्रारम्भिक चरणमा केही सिकिस्त बिमारीको उपचारमा प्रयोग गरिएको प्लाज्मा थेरापीले सकारात्मक परिणाम दिएको देखिएको थियो। १० जुलाई २०२० सम्ममा गरिएको सातवटा अध्ययनहरूको कुल ५ हजार ४ सय ४४ जना कोभिड १९ संक्रमित बिमारीहरूको उपचारलाई डा. पुनित खन्ना र उनका साथीहरूले गरेका विश्लेषणले कन्भल्सेन्ट प्लाज्मा थेरापीले संक्रमितहरूको स्वास्थ्यमा सुधार गरेको, भाइरसको भार घटाएको र मृत्युदरमा कमी ल्याएको ‘जर्नल अफ मेडिकल भाइरोलोजी’ मा प्रकाशन गरेको छ। यद्यपि सो विश्लेषणमा संक्रमितको स्वास्थ्य सुधार र मृत्यु दरमा कमी कन्भल्सेन्ट प्लाज्मा थेरापीले मात्रै भएको हो या यससँगै प्रयोग गरिएका अन्य उपचारले पनि हो भन्न सकिएको छैन।
नेपालमा पनि कन्भल्सेन्ट प्लाज्मा थेरापीे प्रयोग राम्रै भएको हो। तर पछिल्ला अध्ययनहरूले यसको प्रयोग र सफलतामा प्रश्न खडा गर्न थालिएको छ।
नेपालमा पनि कन्भल्सेन्ट प्लाज्मा थेरापीे प्रयोग राम्रै भएको हो। तर पछिल्ला अध्ययनहरूले यसको प्रयोग र सफलतामा प्रश्न खडा गर्न थालिएको छ। स्वास्थ्य क्षेत्रमा प्रसिद्ध जर्नल ‘ल्यान्सेट’ को १४ मे २०२१ मा प्रकाशित ‘कन्भल्सेन्ट प्लाजमा इन प्यासेन्ट एडमिटेट विथ कोभिड १९ (रिकोभरी)’ का अध्ययनले यसबारे धेरै तथ्य स्पष्ट गरेको छ। २८ मे २०२० देखि १५ जनवरी २०२१ सम्मको लामो समय र बेलायतको १७७ अस्पतालमा उपचार गरिएको १६ हजार २ सय ८७ मध्ये ७१ प्रतिशत संक्रमितहरूलाई अध्ययनमा २ समूह अर्थात्् प्लाज्मा प्रयोग गरेको समूह र प्रयोग नगरिएको कन्ट्रोल समूह गरी सहभागी गराइएकाले धेरै प्रभावकारी र विश्वासिलो अध्ययनका रूपमा लिइएको छ। यस अध्ययनले प्लाज्मा थेरापी प्रयोग गरिएको ५ हजार ७ सय ९५ संक्रमित मध्ये १ हजार ३ सय ९९ अर्थात्् २४ र त्यस्तै प्लाज्मा थेरापी नगरिएको ५ हजार ७ सय ६३ संक्रमितमध्ये १ हजार ४ सय ८ अर्थात् २४ प्रतिशतको मृत्यु २८ दिनभित्र भएको देखाएको छ। यसले प्लाज्मा थेरापी दिनु र नदिनुले मृत्युदरमा खासै फरक नहुने स्पष्ट गरेको छ।
नेपालमा पनि कन्भल्सेन्ट प्लाज्मा थेरापीमा एक मत छैनन्। एकथरीका उपचारमा संलग्न चिकित्सकहरूले यसको आधिकारिता पुष्टि नगर्दै प्लाज्माको खोजीमा बिरामीका आफन्तलाई दबाब दिइरहेका छन् भने अर्काथरीका चिकित्सक यसको प्रभावकारिता छैन भन्ने पक्षमा छन्। कोशी अस्पतालका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन एवं कोरोना संक्रमितको उपचारमा संलग्न डा. दिपक सिग्देलले संक्रमितको मृत्युमा प्लाज्मा थेरापीले कुनै फरक नपारिरहेको तथा उनको यूनिटले यसलाई प्रेसक्राइभ नगर्ने गरेको बताउँछन्। विश्वले मान्यता नदिएको विषयलाई जबरजस्त स्थापित गर्ने शैलीमा विभिन्न संघसंस्थाले समेत प्लाज्मा खोज्ने टिम बनाइरहेकोप्रति चिन्ता व्यक्त गर्दै सिग्देलले ‘बिरामीको एन्टीबडी कस्तो छ भनेर हामीसँग मापन गर्ने कुनै विधि छैन, प्लाज्मा थेरापीले फर्काउँछ भन्ने कुरा पनि यकिन छैन’ भनेर बताए।
रोगको उपचार गर्ने हरेक चिकित्सकको आफ्नै शैली र आधारहरू हुन्छन्। सबै चिकित्सकले एउटै शैली र चिकित्सकीय प्रोटोकल अनुसार मात्रै उपचार गर्नुपर्छ भन्ने हुँदैन। तर हरेक उपचार पद्धतिको बलियो आधार र जवाफदेहिता हुनुपर्छ। विशेषगरी नयाँ स्वास्थ्य समस्याहरू अनि प्रभावकारी औषधिहरूको अभावमा विभिन्न तरिका अपनाउने र जसरी भए पनि सुधार गर्ने र मृत्यु रोक्ने प्रयासहरू गरिन्छ। यसै क्रममा कोभिड १९ संक्रमणमा रेम्डिसिभिर र प्लाज्मा थेरापी संसारभर आएको हो। तर पछिल्लो चरणमा यसमा कालाबजारी र अभावले एक किसिमको आतंक फैलिएको छ। महामारीको यस समयमा कोभिड १९ संक्रमण र यसका उपचारमा संलग्न चिकित्सकहरू, श्वासप्रश्वास रोगका विज्ञहरू, विशेषज्ञहरूको बिचमा कार्यगत एकता हुन आवश्यक छ।
अहिलेको लकडाउन तथा निषेधज्ञामा बिमारीका आफन्तहरूलाई धेरैतिर भौतारिनु पर्दा धेरै समस्या हुने वास्तविकतालाई सबैले बुझ्न जरुरी छ। त्यसैले चिकित्सकहरू ज्ञान, अनुभव र दक्षताको उच्चतम उपयोग गर्दै उपचारका लागि एउटै प्रोटोकलको विकास गर्ने र सो प्रोटोकलअनुसार उपचार गर्न आवश्यक औषधीजन्य सामग्रीहरूको सहज आपूर्ति र व्यवस्थापनमा जोड दिनुपर्छ। सरकार, स्वास्थ्य मन्त्रालय र विज्ञहरू यसबारे स्पष्ट हुनुपर्छ। प्लाज्मा थेरापी आवश्यक ठहरिए, यसको मापदण्ड स्पष्ट पारेर कोभिड १९ को संक्रमणबाट निको भइसकेका योग्य व्यक्तिहरूको सूची तयार गरेर प्लाज्मा दानका लागि आह्वान गर्नुपर्छ।