भेण्टिलेटर छ, जनशक्ति छैन्
राजविराज : सप्तरीको राजविराज–८ का ४६ वर्षीय शिक्षकलाई सामान्य ज्वरो आएपछि चिकित्सकको परामर्शमा औषधि खाए । दोस्रो दिन ज्वरो झनै बढ्यो । तेस्रो दिन अस्पताल भर्ना भए ।
गजेन्द्रनारायण सिंह राजविराजको आकस्मिक कक्षमा वेटिङ्ग बेडमा उपचाररत उनको अक्सिजनको मात्रा घटेर ८५ पुग्यो । रेखदेखमा रहेका साथी रामअशिष यादवका अनुसार शुक्रबार अपरान्ह साढे पाँच बजे चिकित्सकले रेफर गर्यो । घरमा वृद्ध सासूआमा र नाबालक छोरा–छोरीको स्याहारमा रहेकी श्रीमतीले आफन्त, साथीहरुको सहयोग मागिन् ।
माइतीमा सँगै पढेका साथी निरज झाको सहयोगमा अस्पताल पुगिन् । अक्सिमिटर लगाइ हेर्दा अक्सिजनको मात्रा ५५ पुगेको थियो । बिरामीको जटिल अवस्था थाहा पाएको छिन्नमस्ता अस्पतालले पनि भेण्टिलेटर नभएकाले तत्कालै विराटनगर लैजान सुझायो । राति साढे ११ बजे अक्सिजनको मात्रा ३९ पुग्यो । उतिबेला पनि उनी आत्मविश्वासका साथ ‘मलाई केही हुँदैन’ भनेर श्रीमतिलाई सान्तवना दिँदै थिए ।
संक्रमित छटपटाउन थाले । 'एम्बुलेन्स पाउन गाह्रो, एम्बुलेन्स पाए अक्सिजन पाउन गाह्रो, अर्कोतिर भेण्टिलेटर भएको अस्पताल खोज्न झनै समस्या,' निरजले भने, 'सबै गर्दागर्दै विहानपख ४ बजे बिराटनगर पुर्याइयो तर बिराट नर्सिङ्ग होमले ७ बजे मात्र खाली हुन्छ भनेपछि नोबेल शिक्षण अस्पताल लगियो ।'
उनको फोक्सोले श्वास लिने गति कम भयो । हाइफ्लो अक्सिजन दिंदा पनि अक्सिजनको मात्रा स्वात्तै घटेर १५ मा पुग्यो । बिहान सात बज्ला र भेण्टिलेटर खाली होला भनेर प्रतिक्षा गर्दागर्दै एक घण्टा अगाडि शिक्षकको मृत्यु भयो । सोही दिन बिराटनगरमा उपचाररत अग्नीसाइर कृष्णसवरण गाउँपालिका–१ का ४० वर्षीय युवकको पनि सोही अस्पतालमा मृत्यु भयो ।
अर्को दिन सप्तरीको कञ्चनरुप नगरपालिका–८ का ३२ वर्षीय, वडा नम्बर ९ का ६५ वर्षीय, सप्तकोशी नगरपालिका–५ का ६० वर्षीय तथा राजविराज–६ का ३१ वर्षीय पुरुष गरी चार जनाको मृत्यु भयो । सप्तकोशी–५ का पुरुषको स्वास्थ्यमा थप समस्या देखिएपछि थप उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको स्थानीय खगेन्द्र कार्कीले बताए ।
यसैगरी सोमबार बिष्णुपुर गाउँपालिका, कञ्चनरुप नगरपालिका र सुरुङ्गा नगरपालिका–२/२ जनाको मृत्यु भयो । मङ्गलबार बिहान सप्तकोशी नगरपालिका उपप्रमुख ३७ वर्षीया महिलाको मृत्यु भयो । चिकित्सकहरुका अनुसार ‘डबल म्युटेन्ट भेरिएन्ट’ले गर्दा दोस्रो लहरमा सङ्क्रमण सार्न सक्ने क्षमता शक्ति बढी देखिएको छ । पहिलेको तुलनामा सङ्क्रमण सार्न सक्ने क्षमता शक्ति बढी र धेरै संक्रमितहरुमा लक्षण देखिएकाले मृत्युको सङ्ख्या बढेको डा. रणजितकुमार झाले बताए ।
यता कोभिड–१९ लाई लक्षित गर्दै राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा जडान गरिएको सघन उपचार कक्ष र भेन्टिलेटर सेवा जनशक्ति अभावका कारण सञ्चालन हुन नपाइ कनै बन्द छ । भेण्टिलेटर जडान त भयो तर जनशक्ति छैन् । त्यसले गर्दा जटिल अवस्थाका बिरामीलाई जिल्ला बाहिर पठाउनुपर्ने बाध्यता रहेको अस्पतालका सूचना अधिकारी सुर्यकान्त झाले बताए ।
अस्पतालमा ४ वटा भेन्टिलेटरसहित २५ बेडको एचडीयू व्यवस्थापनसहितको आइसोलेसन गत वैशाख १९ गतेदेखि सञ्चालनमा छ । अहिले ती सबै बेडमा कोरोना संक्रमित उपचाररत छन् । राजविराजस्थित छिन्नमस्ता अस्पतालमा १५ जना उपचाररत छन् । सबै संक्रमितलाई अक्सिजन लगाइएको छ । चिकित्सकका अनुसार कुनै बेला पनि उनीहरुलाई भेण्टिलेटरको आवश्यक्ता पर्न सक्छ ।
जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या लगातार बढ्दै नौ सयको करिब पुगेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । भेण्टिलेटरका लागि एनेस्थेसियोलोजिष्ट विशेषज्ञसहित २ चिकित्सक, १ अहेव र १० नर्स संक्रमित हुँदा सञ्चालन गर्न नसकिएको र उपचारमा समस्या हुने गरेको झाले बताए ।भेन्टिलेटर भएपनि सञ्चालन नहुँदा गम्भीर प्रकृतिका बिरामीलाई विराटनगर र धरान पठाउनु पर्ने वाध्यता छ । बाहिरको अस्पताल र बेड खोज्दा ढिलाइ हुने गरेको छ । जिल्ला संकट व्यवस्थापन केन्द्रले थन्केर रहेको भेण्टिलेटर सञ्चालनका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानसँग दक्ष जनशक्ति माग गरिरहेको छ ।
भेन्टिलेटर र सघन उपचार कक्ष चलाउन एनेस्थेसियोलोजिस्ट र क्रिटिकल केयर फिजिसियन आवश्यक पर्छ । जुन देशभर कमै मात्रामा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । जनशक्ति व्यवस्थापन नहुँदा जडान गरिएका उपकरण पनि प्रयोग गर्न नपाएको स्थानीय नबिनकुमार झाको दुखेसो छ ।