भत्किन्छ कि भ्रष्टाचारको जग

भत्किन्छ कि भ्रष्टाचारको जग

जनताले घुस खुवाउने बानी छोड्ने हो भने नेता र कर्मचारीमा घुस खाने बानी हट्छ र भ्रष्टाचार घट्छ


कथाकार मनु ब्राजाकीले एउटा कथा लेखेका थिए, ‘मेरो छोरो घुस खाँदैन’। यस कथामा आफू पनि घुस नखाने र छोराले पनि घुस नखाएकोमा गर्व गर्ने एक असल बाबुको मनोदशाको वर्णन छ। के अहिलेका बाबुआमाहरू यस्तै असल छन् ? छैनन् भन्न हिच्किचाउनु पर्दैन। बरु छोराले घुस नखाएकोमा दिनरात छोरालाई धिक्कार्ने बाबुआमाहरूको बाहुल्य छ समाजमा। अनि उस्तै छ समाज पनि। जसले प्रत्यक्ष अथवा अप्रत्यक्ष रूपमा घुस खानेहरूलाई नै प्रोत्साहित गरिरहेछ। घुस खानेहरूलाई सम्मानित गरिरहेछ।

घुस नखाने छोराका बाबु खुसी हुन्नन्। आमा खुसी हुन्नन्। श्रीमती खुसी हुन्नन्। छोराछोरी खुसी हुन्नन्। घुस नखाने मान्छेलाई समाजले पनि हेप्छ। कमजोर ठान्छ। हुतिहारा ठान्छ। लाछी मान्छ। समाजको दृष्टिमा पुरुषार्थी त्यही हो, जसले घुस खान्छ र घुस खाएर वैभवशाली बन्छ। अनि सम्पन्नशाली जीवन जिउँछ। घुस खाने खराब व्यक्तिलाई पुरुषार्थी र घुस नखाने असल व्यक्तिलाई लाछी ठान्ने समाजमा छौं हामी। असललाई तिरस्कार गर्दै खराबलाई इज्जत र मानसम्मान दिने समाजमा बाँचिरहेछौं हामी। घुस सामाजिक अपराध हो र घुस खाने व्यक्ति परपीडक हो। तर पीडितलाई बेवास्ता गर्दै पीडकलाई पक्षपोषण गर्दैछ समाजले। भ्रष्टाचारीलाई फूलमालाले स्वागत गर्छ हाम्रो समाज। भ्रष्टाचारीकै जयजयकार गर्छ हाम्रो समाज। हामीले परिकल्पना गरेको समाज हुँदै होइन यो। यो सामाजिक प्रवृत्ति हाम्रा लागि घातक छ। त्यसैले यसमा परिवर्तन जरुरी छ।

भ्रष्टाचार नियन्त्रण भए समाजमा बढ्दो आर्थिक असमानता कम हुन्छ। अनि देशको अर्थतन्त्र पनि सुरक्षित र सुदृढ बन्छ। अब त भ्रष्टाचारको जग भत्किन्छ कि ! अलिकति आशा जागेको छ।

हरेक प्रकारका सञ्चारमाध्यममा मुलुकमा भ्रष्टाचार बढेको खबर पढ्छौं, सुन्छौं र हेर्छौं हामी। भ्रष्टाचारले दिएको पीडा र व्यथाको चर्चा पनि गर्छौं हामी। भ्रष्टाचारले भुईंमान्छेदेखि कुलिनवर्गसम्मलाई प्रभाव पारेको चर्चा पनि गर्छौं हामी। तर भ्रष्टाचार नियन्त्रणका लागि केही गर्दैनौं हामी। बरु भ्रष्टाचारलाई प्रश्रय दिने काममा उद्यत छौं हामी। मिहिनेत गर्ने बानी छैन। हामीमा धैर्य गर्ने बानी छैन। नियमलाई पालना गर्ने बानी छैन। नियम तोड्न र अनियमित काम गर्न–गराउन हामी घुसको सहारा लिन्छौं। राष्ट्रसेवक कर्मचारीदेखि नेता–कार्यकर्तामा घुस खाने बानी बसालिदिन्छौं हामी। घुस खुवाएर काम फत्ते गर्नसक्दा आफूलाई धन्य ठान्छौं हामी। घुस खानेप्रति नै कृतज्ञ बन्छौं हामी। घुस खुवाएर काम फत्ते गर्नुलाई ठूलो सफलता मान्छौं हामी। अनि अखबारमा भ्रष्टाचार बढेको खबर पढेर आक्रोशित हुन्छौं हामी। घुस खुवाउनु भनेको भ्रष्टाचारलाई प्रश्रय दिनु हो भनेर किन सोच्दैनौं हामी ?

घुस एउटा कमाउने माध्यम बनेको छ सबैका लागि। घुस दिनेको उद्देश्य कमाउने हो भने घुस खानेले घुस खाएरै कुस्त कमाउँछ। त्यसैले जसले जति धेरै घुस खान सक्यो, समाजमा उसको उति नै धेरै मान–सम्मान र इज्जत बढ्छ। किनभने घुस खाएर कमाउनेले ठूलो घर बनाउँछ। घरलाई भनेजस्तो गरी सजाउँछ। चिल्लो कार चढ्छ। विलासी जीवनशैली अपनाउँछ। छोराछोरीलाई देश–विदेशमा पढाउँछ। उसको त्यही शानशौकतलाई हेरेर समाजले उसलाई धेरै मान–सम्मान र इज्जत दिन्छ। अनि ऊ समाजको प्रतिष्ठित मान्छे बन्छ। घुस खुवाउनेले पनि थोरै घुस खुवाएर धेरै कमाउँछ। समाजलाई नै शोषण गर्छ। सबैभन्दा धेरै त भूईंमान्छेलाई शोषण गर्छ। कोही शोषण गरेर धनी बन्छ। कोही धनी शोषकको केही अंश घुसवापत लिएर धनी बन्छ। कोही घुस खाएरै धनी बन्छन्। कोही सानो कामका लागि पनि घुस खुवाउँदा–खुवाउँदा तन्नम बन्छन्। आफैं घुस खुवाउने अनि आफैं भ्रष्टाचार बढ्यो भनेर चिन्ता जाहेर गर्ने तपाईं–हाम्रै दोहोरो भूमिकाले गर्दा मुलुकमा भ्रष्टाचारले प्रश्रय पाएकोमा अब कुनै सन्देह छैन।

घुस खुवाए भोलिको काम आजै हुन्छ। आजको काम अहिल्यै हुन्छ। हुने काम त हुन्छ नै, नहुने काम पनि हुन्छ। नमिल्ने काम पनि मिलाएर हुन्छ। नियम मिचेर हुन्छ। कानुन मिचेर पनि हुन्छ। न नियम मिच्ने सजायको भागीदार बन्छ। न त कानुन मिच्ने नै। कानुन भनेको मिच्नकै लागि बनाएजस्तो। हरेक भ्रष्टाचारीले नियम मिचेका छन्, कानुन मिचेका छन्। खोई कति जना भ्रष्टाचारी सजायको भागीदार बने ? थोरैथोरै घुस खाँदाखाँदै धेरैधेरै लुँड्याउने बानी बस्दै जान्छ। सयबाट हजार, हजारबाट लाख, लाखबाट करोड र करोडबाट अझै त्योभन्दा धेरै खाने बानी बसेपछि भ्रष्टाचारी क्रमशः निडर बन्दै जान्छ। उसलाई कानुनको पनि डर लाग्न छोड्छ। केही गरी कानुनले समातिहाले कानुनलाई पनि प्रभावित पार्नसक्ने सामथ्र्य भएका शक्तिशाली नेताको सहारा खोज्छ। त्यस्तो सहारा र संरक्षण प्रदान गर्न नेताहरू पनि लालायित नै हुन्छन्। किनभने पार्टी चलाउन र चुनाव लड्न त्यस्तै भ्रष्टाचारीको सहयोग चाहिन्छ।

भ्रष्टाचारी र राजनीतिक पार्टीका नेताहरू ढुंगा र माटोजस्तै भएका छन्। ढुंगालाई माटोको भर अनि माटोलाई ढुंगाको भर। यही मान्यतामा अडेको छ भ्रष्टाचारको जग। यो मान्यतालाई तोड्न देशको कानुन र कानुन पालना गराउनेहरूमा निष्ठा र इमानदारीको खाँचो टड्कारो देखिएको छ। तर विडम्बना नै भन्नुपर्छ, हामीकहाँ कानुन बनाउने, कानुनको व्याख्या गर्ने र कानुनको पालना गराउनेहरू नै द्रव्यपिशाच भइदिनाले भ्रष्टाचारीको मनोबल घट्नुको साटो बढिरहेको छ। त्यसैले कोही भ्रष्टाचार गरी कमाएको धन जमिनमुनि लुकाउँछन्। कोही पानीको ट्यांकीमा लुकाउँछन्। कोही आफन्तका नाउँमा लुकाउँछन्।

भ्रष्टाचार गरेर धन कमाउनेहरू नै अहिले ठूला मान्छे भएका छन् र ठूला पदमा आसिन छन्। अनि समाजका केही वर्ग तिनै ठूलामान्छेलाई पूजा गर्न र तिनको भक्तिगान गाउन तँछाडमछाड गर्छन्। त्यही शक्तिको पूजा र भक्तिगानको परिणाम भोग्न र गरिबी, अभाव र तनाव झेलेर बाँच्न अभिशप्त छन् देशका ठूलो संख्याका भूईंमान्छेहरू। ती भूईंमान्छेले दुःख पाउनु, तिनले बाँच्नु र मर्नुसँग सरकारको चासो र चिन्ता अत्यन्तै कम छ। ती बाँचिरहे कुनै अमुक पार्टीको एउटा मतदाता र मरे मृतकको संख्यामा गनिन्छन्। भूईंमान्छे त राज्यका लागि पनि केवल संख्यामा गनिन्छन्। राज्यका लागि साख हुन सक्दैनन् भूईंमान्छे। केवल संख्या हुन्।

आफ्नो स्वार्थपूर्तिका लागि नेता र कर्मचारीको सहयोग खोज्ने र त्यसवापत घुस टक्र्याउने जनताको बानीले भ्रष्टाचारले प्रश्रय पाएको हो। नेता र कर्मचारी भनेका जनताका सेवक हुन्। तिनलाई शासक बनाउने पनि जनता नै हुन्। सेवकलाई शासक बनाएर आफू तिनबाट शासित हुने गल्ती हामी जनताले गरेकाले नै नेता र कर्मचारी ठूला भएका हुन् र हामी जनताचाहिँ सानो हुनुपरेको हो। नेता र कर्मचारीलाई आवश्यकभन्दा बढी सम्मान गर्दा जनताको अपमान भएको हो। नेता र कर्मचारीले आफूलाई शक्तिशाली ठान्ने र जनतालाई कमजोर मान्ने मनोवृत्ति पनि जनताकै नेताभक्ति र कर्मचारीभक्तिले बढेको हो। जनताले नेतालाई जनताको प्रतिनिधि र कर्मचारीलाई जनताको सेवकको ठाउँमा राखेर व्यवहार गर्ने हो भने नेता र कर्मचारीमा म शक्तिशाली हुँ भन्ने भ्रम टुट्छ र उसको दम्भ हट्छ। जनताले घुस खुवाउने बानी छोड्ने हो भने नेता र कर्मचारीमा घुस खाने बानी हट्छ र भ्रष्टाचार घट्छ।

जुनसुकै परिस्थितिमा पनि घुस खुवाउँदै नखुवाउने, भ्रष्टाचार सुन्नै नचाहने, भ्रष्टाचार सहँदै नसहने र भ्रष्टाचारीलाई सामाजिक बहिष्कार गर्ने बानीको विकास भएमात्रै भ्रष्टाचार नियन्त्रण सम्भव हुन्छ। भ्रष्टाचार नियन्त्रण भए समाजमा बढ्दो आर्थिक असमानता कम हुन्छ। अनि देशको अर्थतन्त्र पनि सुरक्षित र सुदृढ बन्छ। तेस्रो पटक प्रधानमन्त्रीको पद बहालीलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका छन्, ‘कुनै पनि नाममा हुने भ्रष्टाचार वा अनुचित लाभ लिने कार्य सह्य छैन। सरकारकारले कडाइका साथ कारवाही गर्नेछ।’ अब त भ्रष्टाचारको जग भत्किन्छ कि ! अलिकति आशा जागेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.