सरकारी जग्गा संरक्षण गर्न खोज्दा उदयपुरमा तोडफोड र झडप
उदयपुर : सरकारी जग्गा संरक्षण गर्न खोज्दा बुधबार उदयपुरको कटारी नगरपालिकाका मेयरसहित जनप्रतिनिधि, कर्मचारीको घर, सवारीसाधन र इलाका प्रशासन कार्यालय तोडफोड भएको छ।
वडानम्बर ४ जहडीमा रहेको सरकारी जग्गा अतिक्रमण गरी स्थानीयले बनाएको घर भत्काउनेक्रममा उत्तेजित भीडले मेयर ज्ञानेन्द्र श्रेष्ठ, उपमेयर भीमकुमारी राउत, वडाध्यक्ष कृष्णराज दनुवार, इन्जिनियर ओम मिश्रको घर, इलाका प्रशासन कार्यालय र मदन भण्डारी राजमार्गको साइड अफिसले प्रयोग गरेको घरमा तोडफोड गरेका हुन्।
नेपाल सरकारको नाममा रहेको कटारी ४ को कित्ता नम्बर १०८ र ७८ को २ बिघा १४ कठ्ठा जग्गा स्थानीय सन्तबहादुर सुनवार, बालकृष्ण थापा, सुवास दनुवारको नेतृत्वमा रहेको भूमाफियाको समूहले रातारात धमाधम घर बनाउन थालेपछि संरक्षण गर्न खोज्दा घरमा तोडफोड भएको मेयर श्रेष्ठले बताए।
‘सरकारी जग्गामा सुनुवारले एउटा मात्र पक्की घर बनाउँदै गर्दा हामीले पटक-पटक छलफल गरी रोक्न आदेश दियौं’, उनले भने, ‘मौखिक र लिखितरुपमा धेरै पटक भन्दा पनि सुनवाइ नभएपछि डोजर लगउन बाध्य भयौँ।’
जग्गा संरक्षणका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, जिल्ला प्रशासन कार्यालयबाटसमेत पत्रचार भएपछि नगर कार्यपालिकाको बैठकमा छलफल पश्चात संरक्षण गर्ने निर्णय भएको उनले बताए।सरकारी जग्गा अतिक्रमण गरेर सुनवारले दुई तले एउटा पक्की घर र ५ वटा टहरा बनाएको मेयर श्रेष्ठले बताए।
भित्रभित्रै जग्गा विक्री हुने गरेको र धमाधम घर बनाउन थालेको सूचना पाएपछि नगरपालिकाले पटक-पटक पत्राचार गरेको जनप्रतिनिधिको भनाइ छ। घर भत्काएसँगै झण्डै एक सय जनाको संख्यामा निस्किएको उत्तेजित भीडले मेयर, उपमेयर, वडाध्यक्ष, नगरपालिका र प्रशासन कार्यालयको घरको झ्यालमा ढुंगामुढा गरी तोडफोड गरेका हुन्।
तोडफोडबाट मेयरले चढ्दै आएको नयाँ टोइटा गाडी, छोराले प्रयोग गर्ने मोटरसाइकल, डोजर, दमकल, इलाका प्रशासन कार्यालयको स्कार्पियो गाडी, उपमेयरका श्रीमानले चढ्दै आएको स्कुटर, मोटरसाइकल, घरका सिसाहरु फुटेको नगरपालिकाका सूचना अधिकारी ओम मिश्रले जानकारी दिए।
उपमेयर भिमकुमारी राउतले सरकारी जग्गा संरक्षण गर्दा आफ्ना निजी सम्पती र सरकारी सम्पत्तिमाथि तोडफोड भएको बताइन्। उनले जग्गा संरक्षणका लागि नगरपालिकाले सबै प्रक्रिया पुरा गरेको बताइन्।
जनप्रतिनिधिविरुद्ध नारावाजीसहित निस्किएको भीड नियन्त्रणका लागि स्थानीय प्रहरीलाई हम्मेहम्मे परेको थियो। प्रहरीलेस्थिति नियन्त्रणका लागि अश्रु ग्यास प्रहार गरेको छ। जिल्ला प्रहरी कार्यालयका एसपी भीमबहादुर दाहालले अश्रुग्यास छोडेपछि स्थिति नियन्त्रणमा आएको बताए।
प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाईले इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीबाट मात्र स्थिति नियन्त्रणमा नआएपछि जिल्लाबाट थप सुरक्षाफौज पठाइएको बताए। उनले सरकारी जग्गा संरक्षण दायित्व राज्यको भएकाले कुनै सम्झौता नहुने बताए। उनले थप सुरक्षाकर्मी परिचालन गरेर भए पनि स्थिति नियन्त्रणमा लिने बताए।
उता स्थानीयले भने निषेधाज्ञाको समयमा मेयरको आदेशमा डोजर लगाएर घर भत्काएकाले प्रतिकार गरेको बताएका छन्।
कटारी नगरपालिका ४ मा रहेको सरकारी जग्गा अतिक्रमण गरी सन्तबहादुर सुनवारले बनाएको दुई तले पक्की घर। तस्बिर : अन्नपूर्ण