सेता सिपाहीहरू
राजविराज : सबै जना घरबाट बाहिर निक्लन डराउँछन्। सुष्मा यादवलाई भने घर फर्कन डर लाग्छ। घाम अस्ताएपछि घरबाट निस्केकी उनी कोही नब्यँुझिँदै घर पुग्ने तर्खरमा छिन्। पसिनाले निथ्रुक्क भिजेकी छिन्। राति सुत्न पाइनन्। १२ घण्टाको कार्यबोझले शिथिल बनेको शरीरमा जाँगर मरेको छ। घर फर्किंदा उनको शरीर पूरै गलेको छ।
यादवले घरमा श्रीमान् र उनीसँगै सुताएर हिंँडेकी नाबालक छोरा सम्झिइन्। राति लगाएको सेता गह्रुंंगो कपडा फुकालिन्। साबुनपानीले मिचेर धोइपखाली गरिन्। घरबाट आउँदा लगाएको सारी फेरिन्। अनुहार छोपिने गरी ‘मास्क’ पहिरिन्। सहकर्मीलाई ‘हेन्डओभर’ दिँदै ‘गुडबाई’ भनिन्। तर उनलाई हिजोआज घर आउन निकै संकोच र डर लाग्ने गरेको छ।
यादवका सहकर्मीहरू कामना मिश्र, आँचल गुप्ता, पुनम यादव, सोनी शर्मा, शिल्पा बाँस्कोटा, सुस्मिता देव, चन्द्रकला साह, प्रतिभा चौधरी, काजल देव, आरती साह सबैको हालत उस्तै छ। एउटा अज्ञात, अदृश्य र अप्रत्याशित घटनासँग साक्षात्कार हुने भयले सबैलाई सताएको छ। पुण्यको पेसा भनी रोजेको पेसामा घरपरिवार रमाउन सकेका छैनन्। छिमेकीहरू पनि टाढा भएका छन्।
खुला सिमाना रहेको छिमेकी मुलुक भारतमा यूके, ब्राजिलियन, अफ्रिकन, ‘त्रिपल म्युटेन्ट भेरियन्ट’ देखिएको छ। हालै सबै उमेरसमूहका लागि घातक र तीव्र गतिमा संक्रमण फैलिन सक्ने कोरोनाको नयाँ भेरियन्ट नेपालमा पनि पुष्टि भएको छ। नयाँ भेरियन्टसहितको कोभिड– १९ को दोस्रो लहरको संक्रमण भयावह रूपमा मडारिएको छ। यो भेरियन्टले संक्रमण बढी सार्न सक्ने र शरीरको प्रतिरक्षा प्रणालीलाई छल्न सक्ने भनेर डाक्टरबाट उनीहरूले सुनेका छन्।
‘पीसीआर’ र ‘एन्टिजेन’ परीक्षणको दायरा बढ्दै जाँदा सक्रिय संक्रमितको संख्या ह्वात्तै बढेर १२ सय नाघिसकेको छ। पहिलो लहरमा ४१ जनाको मृत्यु भएको सप्तरीमा दोस्रो लहरको एक महिनामै त्यत्तिकै संख्यामा मृत्यु भएको छ। संक्रमण भुसको आगोझैँ फैलिएको छ। गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा रहेको २५ बेडको एचडीयू आइसोलेसन भरिएका छन्।
त्यसमाथि अक्सिजनलगायत आधारभूत स्वास्थ्य सामग्रीको अभाव हुँदा संक्रमितहरू ‘सिलिन्डर’ खोसाखोस गर्ने अवस्थामा पुगेका छन्। ‘एनेस्थेसियोलोजिस्ट डाक्टर’ स्वयम् संक्रमित भएकाले जडान भएका चारवटा ‘भेन्टिलेटर’ उपयोगविहीन छन्। कतिपयको समयमा उपचार नपाएर अकालमै ज्यान गइरहेको छ। घरकै मानिस पनि शव उठाउन मानिरहेका छैनन्। सेनाले एउटा शव व्यवस्थापन गर्न नपाउँदै अर्को मृत्यु हुने क्रमले लामो समयसम्म अस्पतालमै शव रहन थालेको छ।
आइसोलेसन कक्षमा छटपटिएर आँखै अगाडि दैनिक मृत्युवरण देख्नु पर्दा मर्माहत हुन्छन्। मृत्युपछि ‘बेड’ खाली हुन्छ। आकस्मिक कक्षमा ‘वेटिङ बेड’मा रहेका कोरोनाका गम्भीर लक्षण देखिएका बिरामीलाई खाली भएको ‘बेड’मा लगिन्छ। सबै बिरामी अक्सिजनको सहयोगमा जीवनसँग संघर्ष गरिरहेका छन्। यो साता ‘वार्ड’ले धान्नै नसक्ने बिरामी देखेको छ। पीडादायी क्षणहरूको साक्षी उनीहरू स्वयम् छन्।
जीवनमा उनीहरूले यस्तो भयावह अवस्था देखेका थिएनन्। नेपालमा पहिलोपटक २०७६ माघ ९ गते कोरोना संक्रमण पुष्टि हुँदा सामान्य लागेको थियो। कोभिड–१९ को पहिलो लहरमा वैशाख २९ गतेदेखि संक्रमित पुष्टि भएका धेरैलाई ठीक पारेर घर पठाएकाले खासै डर लागेको थिएन। तर यसपटक संक्रमण र मृत्युको दरले सबैलाई अत्याएको छ। तथापि उनीहरू सबैभन्दा अगाडि पंक्तिमा छन्। बिरामीको रेखदेखदेखि औषधि उपचारको जिम्मेवारी बहन गरिरहेका छन्।
कामना कालको मुखबाट जीवन खोस्ने हरसम्भव प्रयास गर्छिन्। उतिबेलै आँचल ‘अक्सिजन सिलिन्डर’ घरी यता, घरी उता गुडाउँछिन्। सोनी सुक्दै गरेका फोक्सोहरूमा श्वास भर्छिन्। आरती बेडमा तन्ना फेर्छिन्। कोही भिटामिनका औषधि खुवाउँछन् त कोही सुई लगाउँछन्। मुटुको चाल ‘मोनिटर’मा नाप्छन्। ‘अक्सिमिटर’ले औंला च्यापेर घण्टाघण्टाको अंक टिप्छन्। सेवा नै परम धर्म हो ‘वाक्यांश’लाई १८ पुराणको सार मानेका उनीहरू ईश्वरसँग प्राथना गर्दै काम सुरु गर्छन्।
जनशक्ति पर्याप्त छैन। आइसोलेसन युनिटमा दौडादौड गर्नुपर्छ। त्यसमाथि ‘पीपीर्ई’ लगाएर काम गर्न कम्ता सकस छैन। कोही त कुरा सुन्छन् र बुझ्छन्। तर प्रायः बिरामीका आफन्त कराउँछन्, झगडा गर्छन्। नानाभाँती गाली गर्न र तथानाम आरोप लगाउँछन्।
‘जसरी नि एउटा बेड त मिलाइदिनु न, तपार्इं भएको के काम’, बिरामीका आफन्तको हपार सुन्छन्। अपेक्षा लिएर आएका चिनेजानेकालाई त सम्झाउन झन् मुस्किल छ। ‘सहरको मुख्य अस्पताल भनेर आएका होलान् तर बेड छैन त मैंले के गरूँ’, शिल्पा भन्छिन्, ‘अरूलाई हटाएर राख्न पनि मिलेन।’
कामना भन्छिन्, ‘कहिलेकाहीँ त रुखो बोल्नुपर्छ। परिस्थिति नै यस्तै हुन्छ कि खरो बोल्यो भने मात्र शान्त हुन्छन्।’ फेरि संक्रमितको निरीह आँखा र आफन्तहरूको अपेक्षाले मन पग्लिन्छ। रिसलाई काबुमा राख्दै सबैको गलफत्ती सुन्दै उनी दोहो¥याउँछिन्, ‘बेड भरिएको छ, नआत्तिनुस्, हाम्रो सेवामा विश्वास गर्नुस्। हामीलाई सबैको चिन्ता छ। हामीले सकेको प्रयास गर्छौं।’
आँचल भन्छिन्, ‘समन्वय नै नगरीे रिफर भनेर पठाइन्छ। ‘होम आइसोलेसन’ र ‘क्वारेन्टिन’मा समेत थेग्न नसकेर समन्वय नगरी पठाउन स्वास्थ्य केन्द्र पनि बाध्य भएका होलान्।’ मनमा कुरा खेल्छन् उनका, ‘सबैलाई आफ्नै बिरामीको चिन्ता हुनु स्वाभाविक हो।’ यसैबेला भेन्टिलेटर सञ्चालन गर्न नमानेर तथा सुविधा नपाएको भनेर निजी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मीहरूले राजीनामा दिन सुरु गरेका छन्। यसले पनि सरकारी अस्पतालको चाप बढेको छ। बिरामीको ओइरो लगातार बढिरहेको छ।
प्रत्येक दिन परीक्षण गराएकामध्ये ७५ प्रतिशतको ‘रिपोर्ट’ ‘पोजिटिभ’ आएको सुनेर ढक्क श्वास फुल्छ। झस्किएर सोनी हत्तपत्त झोलाबाट ‘सेनेटाइजर’ निकाल्छिन् र दल्छिन्। उपचारका लागि आएकाहरू कसैको सास छिटो चलिरहेछ। कोही शिथिल छन्। कसैको धड्कन त कसैको होस् गुमेको छ। कसैलाई कम्पन छुटेको छ। कोही छटपटाइरहेका छन्। उनको भनाइमा कमजोर मुटु भएकाले यो सब हेर्नै सक्दैनन्।
‘एचडीयू युनिट’मा हरेक दिन कम्तीमा पनि एकजना बिरामीको मृत्यु हुन्छ। अस्पतालका दुई चिकित्सक, एक अहेब र १० जना नर्स संक्रमित भइसकेका छन्। गत वर्ष अस्पतालमा कार्यरत चालक र फार्मेसीमा कार्यरत कर्मचारीको संक्रमणबाट मृत्यु भयो। सुस्मिता भन्छिन्, ‘मृत्युसँग डर त छ तर त्योभन्दा ठूलो जिम्मेवारी छ। निको पारेर पठाउँदा आत्मसन्तुष्टि प्राप्त हुन्छ।’ अस्पतालबाट घर आउँदा आफूमा भाइरस सरेको त छैन भन्ने शंकाले छिमेकीहरू डर मान्छन्। आफू संक्रमित भए पनि अरूलाई केही नहोस् भन्ने कामना गर्छन्। घरपरिवारको पनि नजिक पर्दैनन्। आवश्यकभन्दा बढी त्रसित भएका कारण ‘फ्रन्टलाइन’मा काम गर्ने ‘वारियर्स’हरूको मनोविज्ञानमा समेत असर परेको छ। पेसाभन्दा ठूलो जिम्मेवारी निभाइरहेका उनीहरूलार्ई आफ्नो कर्तव्य बहन गर्नुछ। नर्सहरूको लगनशीलता र कठिन परिश्रमले नै नर्सिङ पेसालाई थप विशिष्ट बनाएको भन्दै ‘लेडी विद् दी ल्याम्प’ फ्लोरेन्स नाइटिंगेललाई सम्झिन्छन्। मास्कमाथि अर्को एन ९५ को मास्क लगाउँछन्। हामीले नगरे कसले गर्छ भन्दै मन दह्रो बनाउँछन्। पेसाप्रति गर्व गर्दै सचेत हुने हो, डराउने होइन भनेर आफैंलाई सान्त्वना दिन्छन्। ‘सामान्य अवस्थामा त जसले पनि काम गर्छ, तर स्वास्थकर्मीमा त अरूले भन्दा जोखिम मोल्न सक्ने क्षमता हुनुपर्छ,’ उनीहरू एकै स्वरमा भन्छन् ‘जति बढी चुनौती हुन्छ, सफलताको आनन्द पनि त्यति बढी पाइन्छ।’
कुनै दिन निर्धक्कताका साथ बिरामी छोएर हेर्ने दिन चाँडै आउनेछ भन्ने उनीहरूमा आशा छ। ‘युद्धका बेला सिपाही लड्छन्, अहिलेको यो महामारीको युद्ध लड्ने भनेको हामीले हो।’ यहीं आस र त्रास, अनि अर्कोतिर दायित्व बोक्दै उनीहरू प्रत्येक दिन एउटा भीषण युद्धको मैदानमा निस्कन्छन्। आँखाले देख्न नसकिने खतरनाक जीवाणुसँग लड्न शरीरमा पीपीई, मुखमा डबल मास्क, हातमा पञ्जा, खुट्टामा बुट, टाउकोमा फेस सिल्ड लगाएर तयार हुन्छन् सेता सिपाहीहरू।