पोखरीमा डुबेर बालकको मृत्यु
राजविराजः नुहाउन गएका १० वर्षीय बालकको शुक्रबार दिउँसो पोखरीमा डुबेर मृत्यु भएको छ ।
शम्भुनाथ नगरपालिका–१२ का मुनिलाल साहको छोरा रुपेशको मृत्यु भएको स्थानीयवासीले जानकारी दिएका छन् । पोखरीमा नुहाउने क्रममा पानीमा डुबेर मृत्यु भएको मृतकका परिवारका सदस्यले समेत बताएका छन् ।
परिवारका अनुसार बिहान पानी पर्न रोकिएपछि घर नजिकै रहेको सार्वजानिक पोखरीमा रुपेश नुहाउन गएका थिए । घरदेखि दक्षिण अवस्थित सार्वजानिक पोखरीमा दिउँसो नुहाउन गएका उनी डुबेर घाइते भएपछि निकालेर राजविराज ल्याएको मृतकका बुवा मुनीलालले बताए ।
उपचारका लागि राजविराजस्थित छिन्नमस्ता अस्पताल ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको हुनसक्ने अस्पतालले जनाएको छ । अस्पतालका डा. महेश साहका अनुसार उपचारका लागि अस्पतालमा ल्याउँदा बालकको मृत्यु भइसकेको थियो ।