टिभी खोल्दा करेन्ट लागेर मृत्यु
राजविराजः सप्तरीको रुपनी गाउँपालिकामा टेलिभिजन हेर्न खोज्दा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।
रुपनी गाउँपालिका–३ हर्दिया बस्ने सन्तोष यादवकी २४ वर्षीया श्रीमति अमृतादेवी यादवको शुक्रबार राति करेन्ट लागेर मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।
घरमा जडान रहेको टेलिभिजनको ‘स्वीच’ खोल्ने क्रममा करेन्ट लागी उनी घाइते भएको परिवारका सदस्यले बताएका छन् ।
घाइतेलाई तत्काल उपचारको लागि रुपनीस्थित युनिक अस्पताल ल्याउने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधवप्रसाद काफ्लेले बताए ।