उदयपुरमा कोरोना संक्रमण र मृत्यु दर बढ्दै , मृतकको संख्या २३ पुग्यो
उदयपुर : उदयपुरमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ । एक सातायता दैनिक तीनजनाको मृत्यु भइरहेकोमा शनिबार एकै दिन बढेर पाँचजना पुगेको हो । जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार १७ जना पुरुष र ६ जना महिलाको मृत्यु भएको छ । त्यसमध्ये सबैभन्दा बढी त्रियुगा नगरपालिकाका १० जना पुरुष र ४ जना महिला गरी १४ जना रहेका छन् ।
बाँकी कटारी नगरपालिका २ जना पुरुष १ महिला गरी ३ जना, चौदण्डिगढी नपा ३ जना पुरुष, उदयपुरगढी गाउँपालिका महिला पुरुष १/१ गरी २ जना र बेलका नगरपालिका १ जना पुरुष रहेको सूचना अधिकारी उमेश लुईटेलले जानकारी दिए ।
यसैविच जिल्लामा कोरोना भाइरसको संक्रमितको संख्या हालसम्म ५ सय ४२ पुगेको छ । त्यसमध्ये २ सय ९३ जना पुरुष र २ सय ४९ जना महिला रहेका छन् । आईतबार मात्रै २३ जना संक्रमितको संख्या थपिएको सूचना अधिकारी लुईटेलले जानकारी दिए ।
उनकाअनुसार हालसम्म ७३ जना पुरुष र ४० जना महिलाले कोरोना भाईरस जितेर घर फर्किएका छन् । संक्रमित मध्ये सबैभन्दा बढि त्रियुगा नगरपालिकामा १ सय ५४ जना पुरुष र १ सय १६ जना महिला रहेका छन् ।चौदण्डिगढी नपामा ३९ जना पुरुष र ३७ जना महिला गरी ७६ जना रहेका छन् ।
त्यसैगरी बेलका नपामा ४२ महिला, २८ पुरुष गरी ७० जना, कटारीमा २९ पुरुष १४ महिला गरी ४३ जना, लिम्चुङ्गबुङ्ग गाउँपालिकामा २२ महिला, १५ पुरुष गरी ३७ जना, उदयपुरगढी गापामा १३ पुरुष ११ महिला गरी २४ जना, रौतामाई गापामा १५ पुरुष ६ महिला गरी २१ जना र ताप्लि गापामा १ जना महिलामा संक्रमण देखिएको छ ।