कसले बुझ्ने कोभिड वार्डका नर्सको पीडा?
झापा : झापाको मेची प्रादेशिक अस्पताल अन्तर्गतको कोभिड अस्पतालमा कार्यरत चिकित्सक र नर्सले आफ्नो मर्म प्रशासनले नबुझेको गुनासो गरेका छन्।
‘कोभिडका बिरामीको मात्र समस्या देखिन्छ। हाम्रो पीडा कस्ले बुझ्ने ?’, कोभिड वार्डको आइसोलेसनका बिरामीलाई हेरेर भर्खरै बाहिर निस्कदै गरेकी नर्स कमला महत (नाम परिवर्तन) ले स्टाफ वार्ड छिर्ने ढोकामा थचक्कै बस्दै भनिन्।
झापाको गर्मी र त्यसैमाथि पीपीई सेटमा भएकी उनको टाउकोदेखि खुट्टासम्म सबै पसिना बगेको थियो।
स्टाफ कक्षमा आउने बित्तिकै उनले साथीलाई भनिन्, ‘एकदमै कमजोरी महशुस भएको छ। पानी देउ।’, बिहान ८ बजे दूध र पाउरोटी खाएर बिरामीलाई मेडिटेसन गराउन र सबैको स्वास्थ्य अवस्था हेर्न छिरेकी कमला र उनकी साथी बिहिर निस्कदा लखतरान भएका थिए।
‘बिरामीलाई केही बेर खाना ढिला आउँदा पुरै हल्ला हुन्छ। समस्या देखिन्छ’, उनले भनिन्, ‘हामी यसरी थरथर कामेर भोकै दिउँसोसम्म काम गरेको कसैले देख्दैनन्। उल्टै अपजस मात्र सुन्नुपर्छ।’
बिरामीले बोलाइसक्दा १ मिनेट ढिला नगरी आइसोलेसनमा पुग्नुपर्छ। यदि ढिला भइहाल्यो भने आक्रामक शैलीमा बिरामी नै आइलाग्ने गरेको उनको भनाइ छ। ‘भित्र ६०, ६५ जना हुनुहुन्छ। हामी एकजना त भित्र छिर्न पनि सक्दैनौँ। आइसोलेसनमा आएका कतिपय बिरामीको बोल्ने तरिका पनि हुँदैन’, उनको बोली रोकिएको थिएन, ‘खाना ढिलाभयो भने पनि हामीसँग एकदम रिसाउनु हुन्छ।’
बिरामीका लागि अस्पतालले खानाको राम्रो व्यवस्था नगर्दा त्यसको मारमा आफूहरु परेको उनको बुझाइ छ।
‘प्रशासनबाट एकदम चिसो व्यवहार छ। मुख्य त खाने कुरामै लापरवाही छ’, विद्यालय नर्सिङबाट आएकी रोशनी मैनाली (नाम परिवर्तन) ले भनिन्, ‘बिहान, बेलुका दुई टाइम मात्र दाल भात तरकारी एकै ठाउँमा हालेर ढाडिएको खाना आउँछ। त्यो खानै सकिँदैन। त्यो आक्रोश बिरामीले हामीमाथि पोख्छन्।’
खानाकै कारण बिरामी रिसाउने गरेको उनीहरुको बुझाइ छ। ‘बिरामी रिसाउने प्रमुख कारण पनि खानाकै समस्या हो। औषधि खानुपर्छ। एउटै हलमा दिन बिताउनुपर्छ’, उनले थपिन, ‘अनि खाना आउँछ उस्तै ! बिरामी रिसाउनु पनि स्वभाविक नै हो। उहाँहरु हामीमाथि रिस पोख्नुहुन्छ।’
कोभिड अस्पतालकै नर्स मीना चौधरी (नाम परिवर्तन) एकातिर प्रशासनले कुरा नबुझ्ने र अर्कातिर बिरामी रिसाउने गरेको बताउँछिन्।
‘बिरामीलाई गाह्रो भएको बेला मानवीयताको नाताले हामीले हाम्रो जीवननै त्याग्दा पनि जस भने पाइँदैन’, उनी गुनासो गर्छिन्, ‘अर्कोतिर प्रशासनले हाम्रो समस्या बुझ्दैन।’
कोभिडका बिरामीलाई बिहान मारवाडी समाज र मेची अस्पतालले खाना खुवाउने गरेका छन्। खाना कहिले समयमै आउँछ। कहिले ढिला हुन्छ। त्यसले समेत संक्रमित आक्रोशित हुन्छन्।
प्रशासनले खानाको व्यवस्थापन पनि गर्न नसकेको उनको भनाइ छ । ‘एक समय पौष्टिक आहार दिएदेखि बिरामी सन्तुष्ट हुन्थे’, उनी भन्छिन्, ‘हामीलाई पनि घण्टौँ उभिएर बाफिएर खट्नको लागि शक्तिकै साहारा चाहिन्छ।’
अस्पतालमा कार्यरत चित्सिकले खानामा पौष्टिक आहारको व्यवस्थापन गर्न माग गरेका छन्। अस्पताल प्रशासन यो विषयमा बेखबर हुँदा उपचारका लागि अस्पताल पुगेका बिरामी समयमा खान नपाउँदा छटपटाइरहेको उनीहरुले स्वीकार गरेका छन्।
शव बेडमै अलपत्र !
कोभिड अस्पतालका कर्मचारीका अनुसार पाँचथरबाट उपचारका लागि जेठ ५ गते कोरोना उपचारका लागि ल्याइएका ६० वर्षका संक्रमित पुरुषको शुक्रबार राति निधन भयो।
उनको मृत शरीर उपचारका लागि राखिएको बेडमै वेवारिसे अवस्थामा रह्रयो। त्यही कोभिड उपचाररत रहेका अर्का बिरामीले मृतकको शव अस्पतालका कर्मचारीले नउठाएको कुरा सामाजिक सञ्जाबाट सर्वजनिक गरे। कर्मचारीका अनुसार आफन्त आइपुग्न समय लाग्दा शव उठाउन ढिला भएको थियो। १२ घण्टासम्म शव नउठेको भन्दै अन्य बिरामीले अस्पताल प्रशासनप्रति आक्रोश पोखेका हुन्।
नर्सलाई छैन आवास
कोभिड वार्डमा कार्यरत नर्सलाई अस्पताल प्रशासनले आवासको व्यवस्थापन गर्न नसक्दा थप समस्या भएको छ। खाने र बस्ने राम्रो व्यवस्थापन हुन नसक्दा कोभिड वार्डमा कार्यरत नर्स समस्यामा गरेका छन्।
‘प्रशासनले काम गरे गर नगरे नगर जस्तो व्यवहार गरेको छ’, मीनाले भनिन्, , ‘राम्रो बस्ने व्यवस्था अस्पतालले उपलब्ध गराएको छैन। अस्पतालले हामीलाई बस्न दिएको कोठा र शौचालय नै हेरिनसक्नु छ।’
प्रशासनलाई पटकपटक भनेर बस्ने ठाउँ मिलाएको भए पनि त्यहाँ सबै बस्न सक्ने अवस्था छैन। नजिक घर हुनेहरु आफ्नै घरमा जाने गरेका छन्। यसले आफूलाई संक्रमण भइहाले घरमा भएका वृद्धवृद्धा र केटाकेटीलाई सर्ने खतरा बढेको उनीहरुको भनाइ छ। ‘बल्लबल्ल लडेर एउटा तला उपलब्ध गराएको छ। टाढा घर हुनेहरु त्यही बस्नुहुन्छ। अरु बस्ने उपाय छैन’, मीनाले भनिन, ‘नजिक घर हुनेहरु ड्युटी गरेर पनि बेलुका घरै पुग्नुपर्छ। घरमा केटाकेटी बुढाबुढी हुन्छन्। डरै डरमा स्वास्थ्य सर्तकता अपनाएर घरमा बस्नुपर्छ।’
एक वर्षदेखि संक्रमितको उपचारमा खट्दासमेत प्रशासनले पूरै वेवास्था गरेको भन्दै उनीहरुले आक्रोश व्यक्त गरेका छन्। परिवारले संकटमा काम छोडेर घरमै बस्न पटकपटक आग्रह गर्दा पनि पेशा छोड्न नसकेको उनीहरुको भनाइ छ। अब पनि कामको मूल्यांकन नभए आन्दोलन गर्ने चेतावनी उनीहरुले दिएका छन्।
के भन्छ प्रशासन ?
यता अस्पताल प्रशासनले सरकारले उपलब्ध गराएको स्रोत साधनले भ्याएसम्म कर्मचारीलाई उपलब्ध गराएको बताएको छ। मेची अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पिताम्बर ठाकुर स्रोत साधनले भ्याएसम्म काम गरेको दाबी गर्छन्। उनले बिरामीको खानको विषयमा पुर्नविचार गर्ने बताए।
‘बिरामीका लागि उपलब्ध गराएको खानाको विषयमा हामी पुर्नविचार गर्छौँ’, ठाकुर भन्छन्, ‘संघीय सरकार र प्रदेश सरकारले पठाएको स्रोत र साधनले जे जती पुग्छ हामीले कर्मचारीलाई उपलब्ध गराएका छौँ।’
डा. ठाकुरले व्यवस्थापनमा केही कमिकमजोरी भएको स्वीकार गरेका छन्। ‘हामीबाट व्यवस्थापनमा केही कमजोरी हुनसक्छ। गतसाल जस्तो यसपटक सरकारले सुविधा उपलब्ध गराएको छैन’, उनले भने, ‘यद्यपि हामीले सक्ने जति गरेका छौँ।’
ठाकुरले एक वर्षदेखि फ्रन्टलाइनमा काम गर्ने कर्मचारीको तलब नरोक्न प्रदेश सरकारलाई अनुरोध गरेको बताएका छन्। पारिश्रमिक आए उनीहरुलाई काम गर्न हौसला मिल्ने उनको भनाइ छ।
‘फन्टलाइनमा काम गर्ने कमैचरीको तलब नरोक्न प्रदेश सरकारलाई अनुरोध गरेका छौँ’, ठाकुर भन्छन्, ‘संकटमा श्रमको मूल्य नपाउँदा आक्रोश स्वभाविक हुन्छ। पारिश्रमिक आएदेखि थप हौसला मिल्ने थियो। त्यसका लागि हामीले पहल गर्दैछौँ।’ मेची अस्पतालको कोभिड वार्डमा कार्यरत नर्सले कोभिड बिरामीको उपचारमा खटेको भत्ता अहिलेसम्म नपाएको गुनासो गरेका छन् । (नोट : अस्पतालमा कार्यरत नर्सको व्यवसायिक जीवनमा अप्ठेरो नपरोस् भनेर उनीहरुको भनाइ जस्ताको तस्तै राखेर नाम भने परिवर्तन गरिएको छ ।)