निषेधाज्ञाका कारण मल वितरण नुहँदा परासीका किसान चिन्तित

निषेधाज्ञाका कारण मल वितरण नुहँदा परासीका किसान चिन्तित

परासीः निषेधाज्ञाका कारण रासायनिक मल वितरण हुन नसक्दा पश्चिम नवलपरासीका किसानहरु चिन्तित बनेका छन् ।

विगतका वर्षहरुमा किसानहरुले मलको अभाव झैल्दै आएका थिए । तर अहिले जिल्लामा मल उपलब्ध भए पनि निषेधाज्ञाका कारण वितरण हुन सकेको छैन । मल वितरण हुन नसक्दा धानको बिउ राखेका किसानहरु मर्कामा परेका छन् । अहिले जिल्लाका सबैजसो किसानहरुले धानको बिउ राखि सकेका छन् ।

समयमा मल नपाउँदा उत्पादनमा समेत कमी आउने भन्दै किसानहरु चिन्तित छन् । ‘पटक पटक मलका लागि पालिका र सहकारी संस्थामा गयौँ । मल नै आएको छैन भनेर फर्काउने गरेका छन्’सुस्ता गाउँपालिका–५ का किसान वसन्त कुर्मीले भने ।

विगतमा मल अभाव हुँदा किसानहरुले भारतबाट ल्याएर खेतीमा राख्ने गरेका थिए । अहिले सीमा नाका बन्द भएकाले विकल्प पनि नरहेको प्रतापपुर गाउँपालिकाका किसान नारायण भरले बताए । ५/७ दिनभित्र मल नपाए बिउ हुर्किन नपाउने रामग्राम नगरपालिकाका किसान रामजी गुप्ताले बताए ।

जिल्लाको २९ हजार ९ सय ७५ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । जसमध्ये ८० देखि ९० प्रतिशत किसानले धानको बिउ राखिसकेको कृषि ज्ञान केन्द्रकी कृषि प्रसारक अधिकृत एंव सूचना अधिकारी मनिषा पौडेलले जानकारी दिईन् । समयमा मल नपाएर स्वतः उत्पादनमा कमी आउने उनको भनाइ छ । किसानहरुलाई अहिले डिएपी मलको आवश्यक छ ।

प्रयाप्त नभए पनि तत्कालका लागि किसानहरुलाई आवश्यक पर्ने मल रहेको र निषेधाज्ञाले वितरण गर्न नसकिएको कृषि सामाग्री कम्पनी लि. परासी शाखाका प्रमुख खडानन्द बञ्जाडेले बताए । जिल्ला प्रशासनले जेठ १५ गतेसम्मका लागि निषेधाज्ञा लगाएको छ ।

निषेधाज्ञामा सम्पूर्ण पसल, व्यवसाय र बैंक तथा वित्तिय संस्थाहरु पूर्ण रुपमा बन्द गरिएको छ । कम्पनीसँग अहिले ६ सय टन डिएपी र साढे ५ सय टन युरिया मल छ । कम्पनीले जिल्लाका ५५ वटा सहकारी मार्फत मल वितरण गर्दै आएको छ ।

‘बैंकहरु बन्द छन् । सहकारीहरुले रकम जम्मा गर्न पनि समस्या छ । अर्को तर्फ मल वितरण गर्दा किसानहरुको भीड बढ्ने र कोरोना संक्रमण फैलिन सक्ने भएकाले पनि समस्या आएको छ । प्रशासनले पनि अनुमति दिएको छैन’ बञ्जाडेले भने ।

निषेधाज्ञा अवधिभर मल वितरण गर्ने अवस्था नरहेको र त्यसपछि प्रशासनको अनुमतिमा मल वितरणको व्यवस्था गर्न सकिने बञ्जाडेको भनाइ छ । किसानहरुलाई बिउ र मल लैजान रोक तोक नगरिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले बताए । सुरक्षित तरिकाले मल वितरणका लागि छलफल गरी किसानहरुको समस्या समाधानतर्फ लाग्ने प्रजिअ मिश्रको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.