कोरोना परीक्षण गर्नु र ?

कोरोना परीक्षण गर्नु र ?

मोरङ बेलबारीका २८ वर्षीय युवकको सोमबार राति विराटनगर नोबेल अस्पतालअगाडि अस्पताल खोज्दा खोज्दै मृत्यु भयो। केही दिनअघिदेखि कोभिडको जस्तो लक्षण देखिए पनि उनको परीक्षण भने गरिएको थिएन। राति एक्कासि गार्‍हो भएपछि एम्बुलेन्स अनि अस्पताल खोज्दै समय घर्कियो। अन्ततः अस्पताल नपुग्दै निधन भयो। मंगलबार साँझ इनरुवा २ का ३० वर्षका युवालाई श्वासप्रश्वासमा समस्या देखियो। उनलाई एक हप्तादेखि कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि घरैमा औषधि सेवन गरेर बसिरहेका थिए तर कोरोना परीक्षण गरिएको थिएन। एम्बुलेन्समा राखेर विराटनगर लैजाँदै गर्दा उनको पनि बाटोमै मृत्यु भयो।

दोस्रो लहरको संक्रमणले बिरामी बढी सिकिस्त गराउने भएकाले चाँडै जटिल अवस्थामा पुर्‍याउने गरेको देखिन्छ। तर कुन बेला शरीरमा अक्सिजनको मात्रा घट्छ र सिकिस्त हुन्छ भन्न सकिँदैन।

ती टोलबस्तीमा प्रायः घरैपिच्छे कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएका बिमारीको कोरोना परीक्षण नगरी घरमा औषधि सेवन गरेर बसिरहेका छन् भन्ने खबर इनरुवाका पत्रकार राजेन्द्र पोख्रेलले सामाजिक सञ्जालमा राखेका छन्। नेपालमा दैनिक कोरोना संक्रमणदर ८ हजारभन्दा माथि छ र मृत्यु हुने पनि दैनिक करिब दुई सयको हाराहारीमै छ। परीक्षण नगरेर मृत्यु भएकाहरूको संख्या पनि कम छैन। दोस्रो लहरमा संक्रमित हुने र ज्यान गुमाउनेमा २० देखि ३९ वर्ष उमेर समूहका धेरै छन्। सबैभन्दा बढी पार्टीमा जाने र भीड गर्ने युवा नै हुन्। धेरै हिँडडुल गर्ने र त्यसैले संक्रमण बढी हुने पनि युवामै देखिएको छ। कोरोनाको पहिलो लहरमा भने बेला वृद्धवृद्धा र दीर्घ रोगी बढी प्रभावित भए। अहिले बालबालिका र वृद्धवृद्धा घरमै बस्ने गरेकाले उनीहरूमा संक्रमण कम देखिएको छ।

दोस्रो लहरमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि भएको छ। देशका विभिन्न भागबाट संकलिन संक्रमितका ३५ वटा नमुनालाई विश्व स्वास्थ्य संगठनको समन्वयमा जिन क्विन्सिङ गरेको थियो। जसमा ९७ प्रतिशतमा (३४) वटा नयाँ भेरियन्ट बी डट १ डट ६१७ डट २ र तीन प्रतिशतमा बी डट १ डट ६१७ डट १ रहेको जनाएको छ। अहिले यसको संक्रमणका कारण नेपालमा दैनिक करिब दुई सय जनाले ज्यान गुमाउनु परेको छ। पहिलो लहरले हात धुने, मास्क लगाउने, सेनिटाइजको प्रयोग गर्नेजस्ता जनस्वास्थ्यका उपाय अपनाउन सफल रहेकाले यसमा अधिकांश मानिस सजग भएको देखिन्छ। तर एकातिर सजग हुँदै गर्दा अर्कातिर हेल्चेक्र्याइँ गर्न थालिसकेका छौं। गतवर्ष कोरोना संक्रमणको भयले धेरैजना परीक्षण गराउन खोज्ने थिए र कन्ट्रयाक्ट ट्रेसिङ केही राम्रो थियो तर यसको हेल्चेक्र्याइँले स्वास्थ्य क्षेत्रमा समस्या थपेको छ।

कोभिडजस्तो लक्षण देखिए ‘होम आइसोलेसनमा बस्ने तर परीक्षण नगराउने’ चलन बढेको छ। विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा कोराना संक्रमणसम्बन्धी व्यापक सूचना तथा स्वास्थ्य शिक्षा दिएका कारणले केही ज्ञान धेरैले प्राप्त गरेका छन्। लक्षण के हुन् र देखिए के गर्ने भन्नेबारे अधिकांश सचेत छन्। सामान्य लक्षण देखिए ‘होम आइसोलेसन’ बस्नेमा दुई मत छैन। तर परीक्षण नगराउनेको संख्या बढ्दो छ। ‘परीक्षण गराए पनि आखिर समान्य अवस्था र गम्भीर नभएसम्म अपनाउने सावधानी यिनै हुन्। भिटामिन सी, डी र ई खाने गरेकै छु। ज्वरो आए सिटामोल खान्छु, कफ सिरप, एन्टिबायोटिक पनि खाँदै छु। आखिर कोरोनाको परीक्षण गरेर पोजिटिभ आए पनि गर्ने यही त हो।’ भनेर शंकास्पद कोराना संक्रमितले थप सजगताका लागि मलाई सम्पर्क गरे। उनीजस्तै धेरैले परीक्षण नगराई बसेका छन्। एक किसिमले ठिकै होजस्तो लाग्छ, आखिर परीक्षणपछि पनि सबै संक्रमितलाई अस्पतालमा भर्ना गर्नुपर्ने होइन।

यस अर्थमा बिमारी तथा बिमारीका आफन्तलाई आतंकित गर्न मात्रै किन परीक्षण गराउनु ? भन्ने कुरा ठिक छ। तर जनस्वास्थ्यका दृष्टिकोणबाट परीक्षण नगराउनु अपराध हुनसक्छ। यस अवस्थामा परीक्षण गराउनु र संक्रमण भए सम्पर्कमा आउने व्यक्तिहरूको पहिचान गर्नु र उनीहरूको पनि परीक्षण गर्नु तथा क्वारेन्टाइन गर्नु अति आवश्यक हुन्छ। अहिलेको अवस्थामा पनि परीक्षण र कन्ट्रयाक्ट ट्रेसिङको जरुरी छ। अहिले परीक्षण नगर्नुका पछाडि अरू पनि महŒवपूर्ण कारणहरू छन्। एकातिर परीक्षणको सहज, सर्वसुलभ र सबैको पहुँचमा नहुनु अनि पालिकाहरूमा एन्टीजन किटको अभाव छ भने अर्कोतिर पीसीआर ल्याबमा टेस्ट रिएजेन्टको अभावले पूर्ण क्षमताअनुसार चलिरहेका छैनन्। पीसीआर ल्याबबाट रिपोर्ट आउन हप्ता दिन लाग्ने भएपछि नागरिकमा कोरोना परीक्षणमा उदासिनता आउनु पनि स्वाभाविक हो। स्थानीय तहसमेत भन्ने बेलामा आफूलाई सरकार भन्ने तर एन्टीजेन–किट प्रदेश र केन्द्रले दिएन भनेर नागरिकप्रतिको दायित्वबाट विमुख हुने गरेको छ।

जनस्वास्थ्यका दृष्टिकोणले मात्र नभएर आफ्नो उपचारका लागि पनि परीक्षण गर्नैपर्ने देखिन्छ। दोस्रोे लहरको संक्रमणले बिरामी बढी सिकिस्त गराउने भएकाले चाँडै जटिल अवस्थामा पुर्‍याउने गरेको देखिन्छ। शरीरमा अक्सिजनको मात्रा नघटेको अवस्थासम्म घरमै आइसोलेसन भएर बस्दा रामै्र हुन्छ तर कुन बेला अक्सिजनको मात्रा घट्छ र सिकिस्त हुन्छ भन्न सकिँदैन। यस्ता बिमारीलाई गाह्रो भएको अवस्थामा अस्पताल भर्नाको समस्या देखिएको छ। यस्ता लक्षण भएका तर परीक्षण नगरेका बिमारीलाई श्वास फेर्न गाह्रो वा अन्य सिकिस्त भएर अस्पताल लैजानु परे अन्योलको अवस्था देखिन्छ। यस्ता बिमारीलाई कुन अस्पताल लैजाने ? कोरोना संक्रमितलाई उपचार गरिने र अहिले कोभिड अस्पतालको स्वरूपको अस्पतालमा जाऊ गेटमै पीसीआर रिपोर्ट माग्छ र रिपोर्ट नआई भर्ना गर्दैन। रिपोर्ट नआएसम्म छुट्टै राखिन्छ। त्यसमा पनि धेरै शैया उपलब्ध नहुने भएकाले उपचारमा ढिलाइ हुने हुन्छ। यस्ता गम्भीर अवस्थाका यस्ता बिमारीलाई अस्पताल भौतारिँदै मृत्युु भएका घटनाले झन् हतोत्साही पनि बनाएका छन्।

नयाँ भाइरस सबै उमेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण रहेको अध्ययनहरूबाट पाइएको छ।  दोस्रो लहर सुरु भएयता भारतमा २४४ डाक्टरले ज्यान गुमाए भने नेपालका स्वास्थ्यकर्मी तथा चिकित्सकले पनि ज्यान गुमाउन थालेका छन्। अहिले उपचारको आवश्यकता बढेको छ। उपचारका लागि अक्सिजन, अस्पतालको क्षमता र शैया, उपचारात्मक सेवा दिने नर्स, स्वास्थ्यकर्मी तथा चिकित्सक, औषधि र अन्य स्वास्थ्य सामग्री बढाउनु परेको छ। सँगै रोग नियन्त्रण गर्न पनि उत्ति नै महत्वपूर्ण छ। अक्सिजन, रेम्डिसिभिर, स्टेरोइड, प्लाज्मा थेरापी, आईसीयु र भेन्टिलेटर अर्थात् उपचार गर्नु भनेको त केवल भुइँ पुछेको मात्रै हो। धारा बन्द नगरी भुइँ मात्र पुछेर समस्या समाधान हुन्न।

कोरोना नियन्त्रण गर्न सबै सचेत र जिम्मेवार बन्दै जनस्वास्थ्यका मापदण्डहरूको पालना गर्न र गराउन अति आवश्यक छ। यसका लागि परीक्षण र कन्ट्रयाक्ट ट्रेसिङ, क्वारेन्टाइन, आइसोलेसन र लकडाउन अपरिहार्य छ। अहिले लकडाउन गरिए पनि तीव्र रूपमा परीक्षण र कन्ट्रयाक्ट ट्रेसिङतर्फ उदासिनता देखाएकाले पनि संक्रमण तीव्र गतिमा फैलिएको हो भन्दा फरक नपर्ला। परीक्षणले उपचार सहज बनाउन र आफन्त तथा समुदायलाई बचाउनसमेत मद्दत गर्ने हुन्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.