अस्पताल छ, विज्ञ छैनन्
उदयपुर : सास रहुन्जेल आस हुन्छ। त्यहीँ आसमा बिरामीका आफन्तले बचाउनका लागि अधिकतम प्रयास गर्छन्। केही दिनअघि उदयपुरको त्रियुगा नगरपालिका— १ जोगीदहका ३७ वर्षीय अर्जुनकुमार चौधरीको परिवारमा पनि यस्तै पर्यो।
वैशाख २८ गते जिल्ला अस्पतालमा उपचारका लागि पुगेका चौधरीलाई एन्टिजेन टेस्टबाट कोरोना पोजेटिभ देखियो। सामान्य औषधि उपचार गर्दै घरमा बस्दै आएका चौधरीको अघिल्लो आइतबार दिउँसोदेखि स्वास्थ्यमा थप समस्या देखा पर्यो। अक्सिजनको मात्रामा कमी देखिएपछि उनलाई तत्काल चौदण्डीगढी नपा—७ सातधारेस्थित उदयपुर कोभिड अस्पताल पुर्याइयो।
अस्पताल पुर्याउनासाथ चिकित्सकले उनको अक्सिजनको मात्र नाप्दा ३४ मात्र देखेपछि भ्यान्टिलेटरमा राखेर उपचार गर्न सुझाव दिए। चिकित्सको सल्लाहअनुसार उनलाई जिल्ला अस्पतालको इमरजेन्सीमा राखेर सामान्य उपचार नै गर्न नपाई उनको ज्यान गयो।
उनी मात्र होइन, जिल्ला अस्पतालमा करोड मूल्यको भ्यान्टिलेटर भएर सञ्चालन गर्ने दक्ष जनशक्ति नहुँदा उदयपुरको त्रियुगा नगरपालिका—३ मोतीगडाका विष्णुदेव चौधरीको बिर्तामोडमा ज्यान गयो। १५ दिनअघि चौदण्डीगढी नगरपालिकाको हडियामा आफ्नै मामाससुराको विवाहको भिडियो खिच्न पुगेका चौधरी घर आएको भोलिपल्ट ज्वरो आएर थलिए। ज्वरो निकै बढेपछि जिल्ला अस्पतालमा उपचार गर्न पुगे चिकित्सकले कोरोनाको लक्षणको संकेत गर्दै परीक्षण गरे। अन्ततः उनको रिपोर्ट पोजेटिभ आयो। र उनलाई सामान्य औषधि दिएर घर फकाईयो।
घरमै आइसोलेसनमा बस्न तयार भएर फर्किएका चौधरीलाई ज्वरोले मात्र च्यापेन श्वासप्रश्वासमा निकै समस्या देखियो। परिवारले फेरि जिल्ला अस्पताल लैजाने निर्णय गरे। अस्पताल पुर्याउनासाथ चिकित्सकले यहाँ भेन्टिलेटर चलाउने जनशक्ति छैनन् बाहिर लैजानुस् भन्ने सुझाव दिए।
चिकित्सकको सुझावअनुसार विभिन्न अस्पतालमा फोन गरे। कहीँ नपाएपछि सीधै झापाको बिर्तामोडमा रहेको बीएन्डसी अस्पतालमा पुर्याइयो र भेन्टिलेटरमा राखेर उपचार थालियो। सुरुमै दुई लाख डिपोजिट राखेपछि मात्र उपचार थालिएको काकी फुलकुमारी चौधरीले बताइन्। भतिजलाई बचाउने आसमा दैनिक ८० देखि ९० हजारको अस्पतालको बिल भुक्तानी गर्ने सर्तमा उनको उपचार थालियो।
‘अन्ततः पाँचौं दिनमा भतिजले हामी सबैलाई छोडेर गए’, अन्नपूर्णसँगको टेलिफोन संवादमा उनले रुँदै भनिन्, ‘आफैं एम्बुलेन्स चढेर गएको मान्छे, मृत्युको बाटोमा पुग्छ भन्ने कल्पनै गरेनौँ।’
करिव एक महिना अघि कोरोना पोजेटिभ देखिएकी त्रियुगा नगरपालिका— ५ की ३५ वर्षीया महिलाको उपचारका लागि विराटनगरका आधा दर्जन अस्पताल धाउँदाधाउँदै ज्यान गयो। श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई एम्बुलेन्समा अक्सिजन दिएर विराटनगर पुर्याए पनि त्यहाँका अस्पतालले उपचार नगर्दा ज्यानै गुमाए।
यी प्रतिनिधि पात्र मात्र हुन्। जिल्लामा हालसम्म कोरोनाबाट २७ जनाले ज्यान गुमाए छन्। त्यसमध्ये अधिकांश बिरामीको जिल्लामा उपचार हुन नसकेपछि उपचारका क्रममा अन्यत्र ज्यान गुमाउनु परेको छ।
दरबन्दी छ, चिकित्सक छैनन्
प्रशासनिक हिसाबले उदयपुर जिल्ला ‘क’ श्रेणीमा पर्छ। तर सेवासुविधाका हिसाबले ‘ख’ श्रेणी जतिको पनि छैन। ५० शय्याको जिल्ला अस्पतालमा ११ औं तह (सहसचिव) स्तरका प्रमुख कन्सल्टेन्ट १, विशेषज्ञ ९, मेडिकल अफिसर ४ जना र अन्य प्राविधिक र कर्मचारी गरी ५९ जनाको दरबन्दी छ।
यसबाहेक कटारी नगरपालिकास्थित कटारी अस्पतालमा विशेषज्ञ र चौदण्डीगढी नपास्थित प्राथमिक स्वास्थ्य केन्द्र बेल्टारमा एमबीबीएस डाक्टरको दरबन्दी छ। बेलका नगरपालिकामा पनि एमबीबीएस डाक्टर नै कार्यरत छन्। दरबन्दी भए पनि चिकित्सक नआउँदा उपचारमा सधैं संकट देखिने गरेको छ। विज्ञको सेवा नहुँदा सामान्य बिरामीसमेत जिल्ला बाहिर उपचार गर्न जान बाध्य छन्।
अघिल्लो वर्ष त्रियुगा नगरपालिका ३ भुल्केबस्ती कोरोनाको इपिसेन्टर बन्न पुग्यो। एकै पटक १२ जनामा कोरोना देखिएपछि राष्ट्रको ध्यान केन्द्रित रह्यो। त्यहीँअनुसार कोरोना नियन्त्रणका लागि विभिन्न विधिहरू अवलम्बन गरियो र अन्ततः नियन्त्रणमा आयो।
कोरोनाको भयावह अवस्था सिर्जना भएसँगै जिल्ला अस्पताललाई कोभिड अस्पतालमा परिणत गरियो। बिरामीको उपचारलाई प्रभावकारी बनाउन केन्द्र र प्रदेश सरकारले करोड लगानीमा आइसोलेसन वार्ड, भेन्टिलेटर दुई वटा जडान गरे। उता चौदण्डीगढी नपा—७ सातधारेमा अलग्गै कोभिड अस्पताल स्थापना गरियो।
संक्रमण फैलँदै जाँदा केन्द्र र प्रदेश सरकारले स्थापना गरेको कोसी अञ्चल अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा जिल्लाका बिरामी रेफर गरिए पनि ठाउँ अभाव, उपचारमा कठिनाइलगायतका समस्या देखिएपछि स्थानीय तहको समन्वयमा कोभिड अस्पताल स्थापना गरियो।
संक्रमणले महामारीको रूप लिएपछि ३ करोड १६ लाखको लगानीमा कोभिड अस्पताल निर्माण गरियो। स्विस सरकारको १ करोड ५० लाख, ८ वटै स्थानीय तहबाट १ करोड, उदयपुर निर्वाचन क्षेत्र १ का सांसद डा. नारायण खड्काको निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट २५ लाख र अन्य निकायबाट सहयोग जुटेको संरक्षणको जिम्मा पाएको चौदण्डीगढी नपाका मेयर खगेन्द्र राईले बताए।
तीन करोडभन्दा बढी मूल्य खर्च गरेर भवन बने पनि कोभिड अस्पतालको अवस्था जिल्ला अस्पतालकै हविगत भएको छ। ६६ बडको कोभिड अस्पताल एक जना विशेषज्ञबाट सञ्चालित छ। अर्थोपेडिक डाक्टर राजेश कर्णको नेतृत्वमा २ जना हेल्थ असिस्टेन्ट र २ जना स्टाफनर्स कार्यरत रहेका नगरपालिकाका स्वास्थ्य शाखा सहसंयोजक तेजबहादुर पोखरेलले बताए।
अस्पताल सञ्चालनका लागि कतैबाट स्रोत नजुट्दा नगरपालिकाले मात्र आर्थिक भार थेग्नु परेको मेयर राईले बताए।
केन्द्र र प्रदेश सरकारलाई पटकपटक अस्पताल सञ्चालन गर्न आर्थिक र दक्ष जनशक्तिको माग गरे पनि आश्वसन मात्र पाएको उनको भनाइ छ। जिल्ला अस्पतालको भेन्टिलेटर सञ्चालन र कोभिड अस्पताललाई सहज रूपले सञ्चालन गर्न पटक–पटक निर्णय गरी सम्बन्धित ठाउँमा पठाए पनि जनशक्ति अभाव रहेको मात्र जवाफ आउने गरेको प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईले बताए।