अमेरिकाले डब्लूएचओलाई भन्यो, 'वुहान ल्याबबाट कोरोना फैलिएको हो कि होइन, फेरि अनुसन्धान गर'

अमेरिकाले डब्लूएचओलाई भन्यो, 'वुहान ल्याबबाट कोरोना फैलिएको हो कि होइन, फेरि अनुसन्धान गर'

वासिङटन : विश्वभरि महामारी निम्त्याएको कोरोनाभाइरसको उत्पत्तिबारे विश्व स्वास्थ्य सङ्गठनलाई पारदर्शी छानबिन गर्न अमेरिकाले आह्वान गरेको छ।

अमेरिकी स्वास्थ्यमन्त्रीले कोभिड(१९ बारे अर्को चरणको छानबिन पारदर्शी भएको सुनिश्चित गर्न डब्लूएचओलाई आग्रह गरेका हुन्।

अमेरिकी सञ्चारमाध्यमहरूमा भाइरस चीनको वुहानस्थित प्रयोगशालाबाट निस्किएका सम्बन्धमा प्रमाणहरू बढ्दो देखिएका विवरणहरू आएका छन्। कोभिड(१९ सबैभन्दा पहिला सन् २०१९ मा चीनको केन्द्रीय हुबेई प्रान्तको वुहानमा देखा परेको थियो।

त्यसयता उक्त भाइरसबाट विश्वभरि १६ करोड ७० लाख मानिस प्रभावित भइसकेका छन् भने ३४ लाखको ज्यान गइसकेको छ।

यसै वर्षको मार्चमा डब्लूएचओले चिनियाँ वैज्ञानिकहरूसँग मिलेर जारी गरिएको संयुक्त विवरणमा उक्त भाइरसको उत्पत्ति कुनै प्रयोगशालामा भएको सम्भावना अत्यन्तै थोरै भएको जनाएको थियो। उसले त्यसबारे थप अध्ययन जरुरी भएको पनि बताएको थियो। तर कैयौँ प्रश्न अझै अनुत्तरित रहेको बताइन्छ।

अमेरिकी जासुसी सूत्रहरूको हवाला दिइएका विवरणहरूमा सन् २०१९ को नोभेम्बर महिनामा वुहान इन्स्टिच्युट अफ भाइरोलोजीका तीन सदस्यहरू बिरामी भएर अस्पताल भर्ना भएको उल्लेख छ।

त्यो घटना चीनले नयाँ रोग समुदायमा देखा परेको स्वीकार्नुभन्दा कैयौँ साता पहिले भएको विवरणमा बताइएको छ।

कस्तो अनुसन्धान आवश्यक?
यसै सन्दर्भमा डब्लूएचओको मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्दै अमेरिकी स्वास्थ्यमन्त्री जेवियर बेसेराले कोरोनाभाइरसको स्रोत मूल्याङ्कन गर्न अन्तर्राष्ट्रिय विज्ञहरूलाई अनुमति दिइनुपर्ने बताएका छन्।

बेइजिङले भने ती विवरणहरूलाई क्रुद्धतापूर्ण रूपमा खारेज गरिदिएको छ। उसले भाइरस बरू अमेरिकी प्रयोगशालाबाट आएको हुनसक्ने बताएको छ।

मङ्गलवार डब्लूएचओको बैठकमा बोल्दै बेसेराले चीनको नाम नलिकनै अमेरिकाले अर्को चरणको छानबिन थप सघन हुने आशा गरेको बताए।

मङ्गलवार ह्वाइट हाउसले पनि उसले डब्लूएचओबाट विज्ञहरूद्वारा सञ्चालित अनि राजनीतिकरणबाट मुक्त ढङ्गले महामारीको उत्पत्ति छानबिन गर्ने आशा गरेको जनाएको छ।

ट्रम्पले गरेका थिए पहिले दाबी
प्रयोगशालाबाट भाइरस फैलिएको भन्ने भनाइलाई गत वर्ष षड्यन्त्रको सिद्धान्त मानिएर खारेज गरिएको थियो।

त्यति बेला अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोभिड-१९ वुहान इन्स्टिच्युट अफ भाइरोलोजीबाट फैलिएको भन्ने भनाइ राखेका थिए।

कैयौँ अमेरिकी सञ्चारमाध्यमले उनको दाबीलाई झुटो भनेका थिए। पछिल्ला विवरणहरूप्रति ट्रम्पले प्रतिक्रिया जनाएका छन्।

उनले मङ्गलवार न्यूयोर्क पोस्टलाई एक इमेल लेख्दै आफूलाई ‘उक्त विषय शुरूमै थाहा भएको तर सदाझैँ निकै आलोचित हुनुपरेको’ भनेका छन्।

“अहिले आएर सबैजना उनी सही थिए भन्दैछन्।”

(बीबीसीबाट)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.