अस्ताए पनि चम्किरहने राधाप्रसाद
अढाई वर्षको अवधिमा नौवटा मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारी सम्हालेका सामाजिक र बौद्धिक व्यक्तित्व राधाप्रसाद घिमिरे अब हामी माझ रहेनन्। विराटनगर महानगरपालिका २ घर भएका ९१ वर्षीय घिमिरेको उपचारका लागि नोबेल शिक्षण अस्पताल विराटनगर लैजाने क्रममा गत शनिबार (जेठ ८ गते) राति करिब ९ बजे निधन भयो। सूचना तथा सञ्चार, सामान्य प्रशासन, उद्योगसमेतका नौवटा मन्त्रालयको अनुभव बटुलेका घिमिरेले कोरोना संक्रमणको अनुभव पनि बटुले तर जित्न भने सकेनन्। तर, उनले गरेका योगदान र भोगेका अनुभवको अनुशरण गर्नेका लागि उनको योगदान सधैं जीवित रहने छ।
राधाप्रसाद घिमिरेले १० वर्षे सशस्त्र विद्रोह र मधेस आन्दोलनमा पनि समाजमा निरन्तर व्यवसाय गर्ने हौसला दिने गरेका थिए। अहिले पनि विराटनगरका नागरिक उनको उदाहरण आफ्ना नयाँ पुस्तालाई दिन्छन्।
पाँचथरको मिक्लाजुङ गाउँपालिका (साविक लिम्बा) मा १९८८ सालमा जन्मिएका घिमिरेले सात वर्षे बाल्यकाल मात्रै त्यहाँ बिताए। त्यसपछिको उनको जीवन मोरङको विराटनगरमा बित्यो। विराटनगरकै पुरानो जुद्ध हाईस्कुल (अहिलेको आदर्श मावि) मा शिक्षा लिएका घिमिरेले भारतको पटना बोर्डले लिने गरेको बोर्ड परीक्षा दिएका हुन्। सो समयमा नेपालमा परीक्षा बोर्ड नभएका कारण भारतको पटना बोर्डले लिने परीक्षा वीरगञ्ज पुगेर परीक्षा दिनुपथ्र्यो। विराटनगरबाट भारतको बाटो हुँदै दुई दिनमा वीरगञ्ज पुगेर उनले परीक्षा दिएका थिए। विराटनगरबाट जोगवनी–कटिहार–समस्तीपुर–रक्सौल हुँदै भारतको बाटो भएर वीरगन्ज जानुपर्ने बाध्यता थियो सो समय।
अध्ययनमा औधी रुचि राख्ने घिमिरेले सानै उमेरमा राणाहरूको शासन र उनीहरूले गरेका क्रियाकलापको समेत अनुभव लिएका थिए। सो समय ‘जनरल पब्लिक अफ इन्स्पेक्सन’ मृगेन्द्र शमशेर राणा विराटनगर दौडाहामा आएका बेला आदर्श स्कुलमा पुगेर विद्यार्थीलाई उपदेश दिएको सम्झना उनले डायरीमा लेखेका छन्। २०३२ सालमा तत्कालीन राजा वीरेन्द्र शाहले उनलाई पहिलोपटक शिक्षा, सञ्चार तथा प्रशासन राज्यमन्त्री बनाएका थिए। उनले दुई वर्ष उक्त पद समालेका थिए। विराटनगरमा हुर्कदा कोइराला परिवारलाई नजिकबाट नियालेका घिमिरेले मन्त्री हुनुपूर्व विराटनगरमै सामाजिक काममा धेरै समय गुजारेका थिए। विराटनगरमा कोइराला परिवारलाई सज्जन परिवार मानिन्थ्यो। स्वर्गीय कृष्णप्रसाद कोइरालाको शिक्षा र समाजसेवामा रुचि थियो। उनले परालको छाप्रोमा स्कुल खोलेका थिए। उनको प्रेरणाबाटै घिमिरेले आफूलाई तिखारेको मानिन्छ।
घिमिरेले २०१४ सालमा भारतको कोलकातामा कम्युनिस्टहरूले ‘स्वाधीनता’ पत्रिका प्रकाशन गर्न स्वाधीनता प्रेसबाट उपकरणसहित हाते प्रिन्टिङ प्रेस किनेर विराटनगरमा चलाए। मन्त्री बन्नुअघि र पछि ३७ वर्षसम्म उनले तिनै उपकरणबाट प्रेस चलाए। स्नातक तह उत्तीर्ण उनी पञ्चायती व्यवस्थामा मन्त्री बन्नुअघि विराटनगरका छापाखाना व्यवसायी थिए। सन् १८८३ मा बेलायतमा निर्मित यो प्रेसलाई उनले औधी माया गरेर चलाउने गरेको घिमिरेलाई नजिकबाट बुझ्ने विराटनगरका नागरिक अगुवा रामबाबु दाहाल बताउँछन्। जीवनको अन्तिम समयसम्म पनि घिमिरेले १ सय ३९ वर्ष पुरानो सो छापाखाना सुरक्षित राखेका थिए। अहिले पनि विराटनगर २ शिक्षामार्गस्थित घरको एउटा कोठामा उनले दैनिक पुछेर राख्ने गरेको उक्त मेसिन सुरक्षित छ।
व्यावसायिक प्रयोजनका लागि भारतबाट किनेर ल्याएको यही प्रेसबाट कोषराज रेग्मी, जगतमोहन अधिकारी एवं कृष्णप्रसाद श्रेष्ठ ‘बीए’ सम्पादक रहेका ‘जनवार्ता’ को सुरुआती प्रकाशन भएको उनका परिवार बताउँछन्। विपिन ढुंगेलको ‘कोसेली’ सोही प्रेसमा छापिएको थियो। त्यो बेला घिमिरेले दुई हजार रुपैयाँमा प्रेस किनेर ल्याए पनि अहिलेसम्म सुरक्षित रहेको उक्त प्रेसको मुल्य तुलना गर्न सकिँदैन। २०५१ सम्मै निर्वाध चलेको प्रेस यसपछि दुई कट्ठा जग्गा र प्रेसका सबै सामग्री बेचेर ऐतिहासिक मेसिन आफैंसँग घिमिरेले राखेका थिए। सन् १९९१ मा आठ लाख येनमा जापानको कोमोरी कर्पोरेसनले प्रेस किन्न खोजेको थियो। तर, उनले स्वदेशमै रहोस् भन्ने इच्छाले बेच्न मानेनन्। प्रेसको मूल्य ६० लाख रुपैयाँ तय गरी सरकार वा संघसंस्थालाई बिक्री गर्ने इच्छा उनको पूरा हुन नपाउँदै कोरोनाले घिमिरेलाई चुडेर लग्यो।
२०२९ सालमा राष्ट्रिय पञ्चायत सदस्य र पछि राज्यमन्त्री भएपछि छापाखाना व्यवसाय आफ्ना व्यवसायी सहकर्मीलाई छाडेर राजनीतिको सक्रिय जीवनमा लागेका थिए घिमिरे। जानकारहरूका अनुसार घिमिरे २०१७ सालसम्म कम्युनिष्ट पार्टीमा आवद्ध थिए। कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य रहेका घिमिरेले नै मोहनविक्रम सिंहलाई पार्टी सदस्यता प्रदान गरेको बताइन्छ। पञ्चायती व्यवस्था सुरु भएपछि कम्युनिष्ट पार्टी परित्याग गर्दै घिमिरे पञ्चायतमा प्रवेश गरेका हुन्। पछिल्लो समय बुढ्यौली उमेरसँगै राजनीतिक जीवनबाट उनी निष्कृय थिए। जीवनको अन्तिम समय नजिकिँदासम्म घिमिरे कुनै राजनीतिक दलको सदस्य थिएनन्। तर सामाजिक र बौद्धिक क्षेत्रमा उनको सक्रियता कायमै थियो।
घिमिरेलाई नजिकबाट चिन्नेहरू एक समय विराटनगरलाई मृत सहर हुनबाट जोगाउन उनको पनि प्रमुख भूमिका रहेको मान्छन्। पुराना उद्योगी र धनाढ्य काठमाडौं सरेपछि केही समय विराटनगर शून्य बनेको थियो। काठमाडौं गएकाहरूले विराटनगरलाई माया नगर्दा यहाँको विकासमा सुस्तता थियो। सो समय उनको निरन्तर सामाजिक अभियान, नागरिक टिकाउन विभिन्न योजना बुन्ने र अभियान चलाउनाले विराटनगर शून्य नबनेको मानिन्छ। राजा महेन्द्रले पञ्चायती व्यवस्था लागू गरेपछि कोइराला र अधिकारीहरूसँग बदला लिन विराटनगरलाई उपेक्षामा राखेको विश्लेषण अझै पनि गर्ने गरिन्छ। १० वर्षे सशस्त्र विद्रोह र मधेस आन्दोलनमा पनि समाजमा निरन्तर व्यवसाय गर्ने हौसला घिमिरेले दिने गरेका थिए। अहिले पनि विराटनगरका नागरिक उनको उदाहरण आफ्ना नयाँ पुस्तालाई दिन्छन्।
निजी, सामाजिक र राजनीतिक जीवन सबैलाई उत्तिकै महत्त्वमा राखेर व्यवहार गर्न सक्ने घिमिरेले नेपाली समाजलाई धेरै किसिमका शिक्षा दिएर गए। सधैं आफूलाई सक्रिय राख्न खोज्ने घिमिरेले छाडेर गए पनि उनले उमारेका र छरेर गएका ज्ञानलाई अनुशरण गर्न सके कसैको पनि जीवन अन्धकारमा फस्दैन। घिमिरेप्रति हार्दिक श्रद्धाञ्जली।